कोशी नदीको जन्म (Origin of Koshi River)

अघि कुनै समयमा देवी पार्वतीले हिमालय पर्वतमा पञ्चाग्निताप नामको कठोर तपस्या गर्नु भयो। तपस्याको तापले उहाँको शिरदेखि पाउसम्मका अङ्गमा पसिनाका बिन्दुहरू पैदा भए। हेमकुट नामको पर्वतमा देवीको गोडाबाट पसिना बग्यो। त्यस स्थानमा एक श्रेष्ठ नदीको जन्म भयो। त्यस नदिमा वृद्ध ऋषि कुशिकले स्नान गर्नुभयो। स्नान पश्चात् ऋषि तन्नेरी तथा रुपवान् भए। देवीको दायाँ गोडाबाट निस्किएकी नदीलाई ऋषिले भक्तिपूर्वक स्तुति गरे। ऋषिको स्तुतिद्वारा प्रसन्न पार्वती देवी, नदि भित्रबाट प्रकट हुनुभयो र तिम्रै नामले यो नदि प्रसिद्ध होवोस् भनि वरदान दिनुभयो।

त्यसपछि रत्नशिखरमा देवीको चिउँडोबाट पसिना बग्यो। त्यहाँ तामाको जस्तो वर्ण भएकी नदी पैदा भइन्।
स्वर्णशिखरमा फेरि ओंठको छेउबाट पसिना बग्यो। त्यहाँ पहेंलो वर्णको सुन जस्ती नदि पैदा भइन्।
फेरि देवी अत्यन्त उच्च पर्वतमा पुग्नुभयो। त्यहाँ उनको आँखाको कोशबाट पसिनाको थोपा खस्यो। त्यो निर्मल थोपा पानीको रूपमा परिणत भई नदी बनेर बग्यो।
त्यसपछि देवी चाँदिको शिखरमा पुग्नुभयो। त्यहाँ उनको गालाबाट रातो वर्ण युक्त पसिना खस्यो। त्यो निर्मल थोपा पानीको रूपमा परिणत भई नदी बनेर बग्यो।
त्यसपछि देवी धातुको शिखरमा पुग्नुभयो। त्यहाँ उनको केेशबाट पसिना खस्यो। त्यो निर्मल थोपा पानीको रूपमा परिणत भई नदी बनेर बग्यो।

त्यसपछि देवी कुशैकुशले भरिएको शिखरमा पुग्नुभयो। त्यहाँ उनको निधारबाट पसिना खस्यो। त्यो निर्मल थोपा पानीको रूपमा परिणत भई नदी बनेर बग्यो।

यी सातवटै धाराहरूमा ऋषि कुशिकले स्नान गर्नुभयो। प्रसन्न भएकी देवीले तिम्रो नाउँबाट मेरा सात धाराहरू बग्नेछन् भनि वरदान दिनुभयो। यसप्रकार यी सात धाराहरू कौशिकी नदीको रूपमा प्रसिद्ध भए।

Comments