पौराणिक नेपाल

स्कन्द पूराणमा नेपाल

स्कन्द पुराण सबै भन्दा पुरानो र ठुलो पुराण मानिन्छ।  यस पुराणको सबै भन्दा प्राचिन हस्तलिपि नेपाल मा नै भेटिएको हो।  स्कन्द पूराणको माहेश्वरखण्ड कुमारीका खण्डमा नेपालको उल्लेख भएको पाईन्छ। आफ्ना बहत्तर भाई भदाहरुलाई भारतवर्षलाई बहत्तर भागमा विभाजन गर्ने क्रममा नेपालको पनि उल्लेख गरीएको छ। विभाजनको बेला नेपालमा एक लाख गाउॅ छ भनि उल्लेख गरीएको छ। स्कन्द पुराणको भेटीएको सबैभन्दा पुरानो ग्रन्थ आठौ शताब्दीको हो भनि मिति ऑकलन गरीएको छ। यसप्रकारले हेर्ने हो भने नेपालको उत्पत्ति कम्तिमा पनि आठौं शताब्दी हुन सक्ने बुझिन्छ।


वेदव्यासको जन्म
स्थानीय विश्वास अनुसार महर्षी वेदव्यासको जन्म वर्तमान नेपालको तनहुँ जिल्ला अन्तर्गत पर्ने व्यास नगरापालिकामा भएको हो। महाकाव्य महाभारतका रचयीता महर्षी वेदव्यासको पूरा नाम  श्रीकृष्ण द्वैपायन व्यास हो। कालोवर्ण भएकोले कृष्ण भनिएको र दुई नदीको संगममा जन्मीएकोले द्वैपायन नाम रहेको पौराणिक प्रमाण भेटीन्छ। तनहुँको व्यास नगरपालिका स्थित दमौली बजारको छेउमा दुई नदी सेती र मादीको संगम स्थल नै महर्षीको जन्म भएको स्थान हो भन्ने विश्वास छ। नदीको किनारामा अवस्थित पहरामा व्यास गुफा नामले प्रख्यात एउटा गुफा छ र त्यहाॅ वेदव्यासको मन्दीर पनि छ। महर्षीले त्यही गुफामा बसेर महाभारतको रचना गरेको मान्यता छ र उनकै नामबाट नगरपालिकाको नाम व्यास नगरपालिका रहेको हो।

ऋषि बाल्मीकि
संस्कृत महाकाव्य रामायणका रचयिता हुन् ऋषि बाल्मीकि। ऋषी बाल्मीकिको आश्रम हालको नेपालमा नै पर्दथ्यो भन्ने थुप्रै प्रमाणहरु छन्। नेपालको तराई स्थित चितवन जिल्लामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने वनमा अहिले पनि ऋषि बाल्मीकिको आश्रम छ। यहाॅ रामायणका स्रष्टा ऋषि वाल्मीकिले साधना गरेको मान्यता छ । नेपाल र भारत दुवै देशका पुरातत्वविद्हरूको संयुक्त टोलीले प्राचीन वाल्मीकि आश्रम यहीं रहेको पत्ता लगाएका हुन्। सीताले जीवनको अन्तिम समय व्यतीत गरेको तथा लव र कुशले शिक्षा लिएको स्थान पनि यही मानिन्छ । वाल्मीकि आश्रमस्थलमा सीताले पाताल प्रवेश गरेको स्थान, लव–कुशले अश्वमेध यज्ञको घोडा समातेर बाॅधेको स्तम्भ, शिक्षा ग्रहण गरेको स्थान, उनीहरूले पानी पिउने पुरानो इनार र अन्य अनेक पूरातात्विक र धार्मिक वस्तुहरू अवशेषका रूपमा रहेका छन्। नेपाल–भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिरहरू पनि छन् । सन् १९६५ मा नेपाल र भारतको संयुक्त टोलीले यही स्थानलाई पौराणिक वाल्मीकिस्थान भएको निश्चित गरेको हो ।

श्रवण कुण्ड
त्रेतायुगमा श्रवण कुमारले आफ्ना अन्धा माता-पितालाई खर्पनमा बोकी तिर्थाटन गराउन हिडेको प्रसंग रामायणमा पढ्न पाईन्छ। तिर्खाएका माता-पिताको लागि पानी लिन सरोवरमा जाॅदा आखेटमा आएका अयोध्याका राजा दशरथले चलाएको वाणले झुक्किएर श्रवणलाई लाग्न गई उसको मृत्यु भएको थियो। उक्त सरोवर अहिले श्रवण कुण्डको नामले चिनिन्छ। श्रवण कुण्ड नेपालको स्याङ्जा जिल्लामा पर्दछ। प्रसिद्ध आॅधीखोलाको उद्गम स्थल पनि यहि श्रवण कुण्ड नै हो। छोराको मृत्युको शोकमा बगेका अश्रुधारा यसै कुण्डबाट खोलामा बगेको मानिन्छ। अन्धाअन्धी खोलाको अपभ्रंश भई हाल नदीको नाम आॅधीखोला भएको जनविश्वास रहेको छ।

Comments