भीमेश्वर महादेव २ / ६४ स्वयंभूव लिङ्ग

यो लेखको निष्कर्ष हाम्रो पाठ्य-अनुसन्धानमा आधारित छ। यही निष्कर्ष नै अन्तिम हो भनेको हैन। थप अनुसन्धान भएर भिन्न मत आएमा हामीलाई स्वीकार हुनेछ।

परिचय

नेपालमा अवस्थित ६४ दिव्य स्वयम्भूवलिङ्गहरू मध्य दोस्रो हो भीमेश्वर महादेव जुन आदिलिङ्ग-कुशेश्वर देखि ३ योजन उत्तर तिर दोलखा जिल्लामा पर्दछ। भीमेश्वर महादेव सङ्गै जोडिएर आउँछ देवतिर्थ जसलाई केही पाठहरूमा सुनकोशी र तामाकोशीसङ्ग जोडिएको छ। यहाँ एउटा दुविधा उत्पन्न हुन्छ - भीमेश्वर महादेव दोलखा जिल्लामा छन् भने सुनकोशी र तामाकोशीको सङ्गम सिन्धुली जिल्लाको खुर्कोट बजार निर बेनिघाटमा छ। त्यसैले वास्तवमा भीमेश्वर महादेव (२ / ६४) स्वयंभूव लिङ्ग कहाँ छ भन्ने दुविधापूर्ण प्रश्न उठ्छ। यो लेखमा यही दुविधालाई पाठ्य-अनुसन्धानद्वारा सम्भव भएसम्मको समाधान गर्ने प्रयास गरिएको छ। यसको अनुसन्धान / निर्क्योलको लागि निम्नलिखित २ वटा पाठहरूलाई आधार मान्नुपर्छ :-
१. हिमवत्खण्ड मूल पाठ
२. १७ औं शताब्दीमा रचना गरिएको संस्कृत-देवानगरी-रञ्जना पाण्डुलिपि "६४ लिङ्ग यात्रा माहात्म्य"

आदिलिङ्ग कुशेश्वर / दुर्गातिर्थ

भीमेश्वर महादेव, २ / ६४ स्वयंभूव लिङ्ग कहाँ छ ? यसको लागि हामीले पहिलो लिङ्ग १ / ६४ कहाँ छ भनि यकिन गर्नु पर्छ।
त्रिकूटानाञ्च मध्ये स प्राप्तवान्‌ कुलपीठकम्‌। उवाह यत्र गम्भीर लीलावती च कौशिकी
तत्राऽऽस्ते चाऽऽदिलिङ्ग वै सर्वलोकैः प्रपूजितम्‌ । लोकवाज्छाप्रदं नित्यं पूजकानाञ्च भक्तितः
तत्रैव गाधिपुत्रस्य विश्वामित्रस्य चाऽऽश्रमः । ततस्तटञ्च कौशिक्या अगमद्रोगपीडितः
(हिमवत्खण्ड ९०-१६,१७,१८)

लिलावती र कोशी नदी जहाँ बगेका छन् र जहाँ नदीको तीरमा ऋषि विश्वमित्रको आश्रम पनि छ , त्यहाँ आदिलिङ्ग कुशेश्वर महादेव छन्।
यसबाट "आदिलिङ्ग कुशेश्वर महादेव" सिन्धुलीको दुम्जा स्थित् सुनकोशी र लीलावती (हाल रोशी खोला नाम छ)को सङ्गममा रहेको जानकारी हुन्छ जहाँ नदी पारी ऋषि विश्वमित्रको आश्रम / तपस्थलि पनि छ।
१७ औं शताब्दीमा रचना गरिएको संस्कृत-देवानगरी-रञ्जना पाण्डुलिपि "६४ लिङ्ग यात्रा माहात्म्य"ले पनि आदिलिङ्ग १ / ६४ दुम्जा मै छ भन्छ।

भीमेश्वर महादेव २ / ६४ स्वयंभूव लिङ्ग

अब हेरौं भीमेश्वर महादेव, २ / ६४ स्वयंभूव लिङ्गको बारेमा हिमवत्खण्ड मूल पाठले के भन्छ ?
तस्माद्धि दिशि कौवेर्यां त्रियोजने घटोद्भव । ताम्रचूडाचलस्याधः नद्योः सुसङ्गमो बभौ ॥३॥ (हिमवत्खण्ड ९१.३)
तस्मात् → त्यस स्थानबाट (आदिलिङ्ग भएको स्थानबाट); हि → निश्चय नै ;
दिशि कौवेर्यां → कुबेरको दिशा तर्फ (उत्तर);
त्रियोजने → तीन योजन दूरीमा (१ योजन = १२ कि.मि.)
घटोद्भव → हे अगस्त्य ऋषि ;
ताम्रचूड-अचलस्य अधः → ताम्रचूड पर्वतको तल ;
नद्योः सुसङ्गमः बभौ → दुई नदीहरूको सुन्दर सङ्गम अवस्थित थियो

माघकृष्णस्य पूर्णायाम् देवतीर्थे यथाविधि । सस्नौ कौशिकयोर्विप्र सङ्गमे देवसेविते ॥ (हिमवत्खण्ड ९१.४)
माघकृष्णस्य पूर्णायाम् → माघ महिनाको कृष्ण पक्षको पूर्णिमा तिथिमा ;
देवतीर्थे यथाविधि → देवतीर्थमा विधिपूर्वक ;
सस्नौ → स्नान गरे ; कौशिकयोः सङ्गमे → कौशिकी नदीहरूको सङ्गममा ;
विप्र → हे ब्राह्मण (सम्बोधन) ; देवसेविते → देवताहरूले सेवित
त्यसपछि ती विरूपाक्षले त्यस स्थान (वरपर) विधिपूर्वक (भीमेश्वर) लिङ्गको सभक्ति पूजा गरे र त्यस तीर्थको माहात्म्य ऋषिसङ्ग सोधे भनी अगाडी भनिएको छ।

हिमवत्खण्डको मूल पाठबाट निर्क्योल
आदिलिङ्ग भएको स्थानबाट ३ योजन अर्थात् ३६ कि.मि. उत्तर तर्फ दुई साना नदीहरूको सङ्गम छ। यी दुई नदीहरू थोरै अगाडी गएर तामाकोशीमा मिल्दछन्। पौराणिक साहित्यहरूमा कतिपय स्थानहरूमा साना सहायक नदीहरूलाई पनि ठुलो नदी कै नामद्वारा उल्लेख गरिने चलन छ। (उदाहरणको लागि सात गण्डकी प्रमुख भए पनि अन्य सहायक नदीहरूलाई पनि कतिपय साहित्य र जनबोलिमा गण्डकी भनेर सम्बोधन हुन्छ)। तसर्थ मूलपाठले "सस्नौ कौशिकयो सङ्गमे" भनेर त्यही दुई नदीलाई सङ्केत गरेको हो। मूलपाठमा उक्त सङ्गमलाई सुनकोशी-तामाकोशी सङ्गम भनेको छैन, केवल दुई कौशिकी भनेको छ।
अब त्यही दुई कौशिकीको सङ्गमबाट १५०० मिटर जति दक्षिणमा भिमेश्वर स्वयम्भूव लिङ्ग छ। अर्थात् भिमेश्वर स्वयम्भूव लिङ्ग पहिलो कुशेश्वर स्वयम्भूव लिङ्ग भन्दा करिब ३ योजन (३६ कि.मि.) कै दुरीमा छ। तसर्थ दोलखास्थित् भीमेश्वर महादेव नै भिमेश्वर स्वयम्भूव लिङ्ग हो भन्ने बुझिन्छ।

१७ औं शताब्दीमा रचना गरिएको संस्कृत-देवानगरी पाण्डुलिपि "६४ लिङ्ग यात्रा माहात्म्य"बाट निर्क्योल

यस पाण्डुलिपिमा "दुर्गातिर्थात् ईशानेद्वादशकोसे तदुपासनात् ...." भन्ने श्लोक छ। दुर्गातिर्थ अर्थात् "आदिलिङ्ग कुशेश्वर महादेव" भएको स्थानबाट १२ कोश ईशान (उत्तर-पुर्व) तर्फ "भिमेश्वर स्वयम्भूव लिङ्ग" छ। (१ योजन = ४ कोश = १२ कि.मि. ; तसर्थ ३६ कि.मि. ईशान तर्फ)।
यसबाट दोलखास्थित् भिमेश्वर महादेव नै भिमेश्वर स्वयम्भूव लिङ्ग हो भन्ने फेरि पुष्टि हुन्छ।

तर एउटा दुविधा यही पाठमा उत्पन्न हुन्छ। "सुवर्णकौसिकि ताम्रकौसिकी सङ्गमतिथ स्नानं देवतिर्थ स्नानं श्री भीमेस्वर दर्सनं पुजनं जागरणं च" भन्ने श्लोक छ।
यसको सिधा अर्थ यसप्रकार हुन्छ -- "“सुवर्णकौशिकी र ताम्रकौशिकीको सङ्गममा स्नान, देवतीर्थमा स्नान, श्री भीमेश्वरको दर्शन, पूजा तथा जागरण।”
यसबाट सुनकोशी र ताम्रकोशीको सङ्गममा स्नान गरेर अनि देवतिर्थमा स्नान गरेर अनि भिमेश्वरको दर्शन गर्ने भनेको हो ; अथवा सुनकोशी र ताम्रकोशीको सङ्गम नै देवतीर्थ हो भनेको हो, भन्ने कुरा स्पष्ट हुन्न। तसर्थ १७ औं शताब्दीको संस्कृत-देवानगरी-रञ्जना पाण्डुलिपि "६४ लिङ्ग यात्रा माहात्म्य"ले एकातिर दोलखास्थित् भिमेश्वर महादेव नै भिमेश्वर स्वयम्भूव लिङ्ग हो भन्ने पुष्टि गर्छ भने अर्कोतिर केही दुविधाहरू पनि उत्पन्न गराउँछ।

निष्कर्ष

उपलब्ध पाठहरूको सम्यक् अध्ययन गर्दा भीमेश्वर महादेव (२/६४ स्वयंभूव लिङ्ग) को पहिचान मूलतः हिमवत्खण्डको आधारमा नै निर्धारण गर्नु उपयुक्त देखिन्छ। हिमवत्खण्डले दिएको दिशा (कौवेर्यां = उत्तर), दूरी (त्रियोजन = करिब ३६ कि.मि.), तथा “ताम्रचूडाचलस्य अधः नद्योः सुसङ्गमः” भन्ने भौगोलिक संकेतहरूलाई आदिलिङ्ग कुशेश्वर (दुम्जा) सङ्ग दाँजेर हेर्दा, ती संकेतहरू दोलखा क्षेत्रसङ्ग राम्रोसङ्ग मेल खान्छन्। विशेषतः साना सहायक नदीहरूको सङ्गमलाई “कौशिकी” नामले सम्बोधन गरिएको परम्परा स्वीकार गर्दा, सुनकोशी–तामाकोशीको प्रत्यक्ष सङ्गम (खुर्कोट) होइन, बरु दोलखाभित्रका सहायक नदीहरूको सङ्गम क्षेत्र नै देवतीर्थको रूपमा संकेत गरिएको बुझिन्छ। यस आधारमा, उक्त सङ्गमबाट नजिकै अवस्थित दोलखास्थित् भीमेश्वर महादेव नै वास्तविक स्वयंभूव लिङ्ग ठहरिन्छ।

अर्कोतर्फ, १७ औं शताब्दीको “६४ लिङ्ग यात्रा माहात्म्य” पाण्डुलिपिले पनि दूरी (१२ कोश ≈ ३६ कि.मि.) र दिशा (ईशान) का आधारमा दोलखाकै भीमेश्वरलाई पुष्टि गरे तापनि, “सुवर्णकौशिकी–ताम्रकौशिकी सङ्गम” सम्बन्धी वाक्यले अनुष्ठानिक क्रम र भौगोलिक स्थानबीच केही अस्पष्टता उत्पन्न गर्दछ। यसबाट बुझिन्छ कि पछि बनेका ग्रन्थहरूमा स्थानीय परम्परा, तीर्थ–सम्बन्धी व्याख्या, वा नाम–प्रयोगको विस्तारका कारण दुविधा थपिएको हुन सक्छ।

यसरी, समग्र विश्लेषणले देखाउँछ कि मूल हिमवत्खण्डीय सन्दर्भ नै अधिक प्रामाणिक छ, र त्यसअनुसार दोलखास्थित् भीमेश्वर महादेव नै २/६४ स्वयंभूव लिङ्ग हो भन्ने निष्कर्ष बलियो रूपमा स्थापित हुन्छ। साथै, यस अध्ययनले एउटा महत्वपूर्ण सिद्धान्त पनि प्रस्तुत गर्दछ कि पुराणिक भूगोललाई बुझ्दा नाम, नदी, र दूरीका संकेतहरूलाई स्थानीय भू–आकृति र परम्परासङ्ग मिलाएर व्याख्या गर्नु अनिवार्य हुन्छ।


Litterateur

Page article "भीमेश्वर महादेव २ / ६४ स्वयंभूव लिङ्ग" - by Dr. Kalinkaar Dipendra

References


First published on: August 18, 2025
Last updated on: April 7, 2026

Do you want to add, change or edit parts of this article? Do you want to comment on this article?Click here to send your suggestions / corrections / comments


For editors

Comments