काठमाडौँ–हेटौंडा परिप्रेक्ष्यमा वारणावत क्षेत्र र हिडीम्बास्थल : ग्रन्थीय सङ्केत र भौगोलिक प्रमाण
Introduction (प्रस्तावना)
जयकाव्य (महाभारत) नेपाल लगायत दक्षिण एशियाली पौराणिक एवं सांस्कृतिक मानचित्रको एक केन्द्रीय ग्रन्थ हो। यस ग्रन्थका रचनाकार महान् ऋषि पराशरका पुत्र महर्षि वेदव्यास हुन् जसलाई कृष्णद्वैपायन नामले पनि चिनिन्छ। उनले यस महाकाव्यलाई केवल युद्धकथा वा राजवंशीय इतिहासका रूपमा मात्र नभई धर्म, राजनीति, समाज, नैतिकता तथा मानव जीवनका विविध आयामहरू समेट्ने व्यापक ग्रन्थका रूपमा प्रस्तुत गरेका छन्।
यस महाकाव्यमा वर्णित घटना, पात्र, तथा स्थानहरू नेपाल लगायत दक्षिण एशियाको व्यापक भूभागसङ्ग सम्बन्धित छन्। परिणामस्वरूप महाभारतका अनेक कथास्थलहरू आजको नेपाल तथा इंडियाका विभिन्न स्थानहरूसङ्ग परम्परागत रूपमा जोडिएका पाइन्छन् जसले यस ग्रन्थलाई केवल साहित्यिक कृति मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक स्मृतिको महत्वपूर्ण स्रोतका रूपमा पनि स्थापित गरेको छ। यस काव्यमा समाविष्ट विवरणहरूले पुरातन क्षेत्रीय भूचित्रावालीका लागि महत्वपुर्ण सूचकको कार्य गर्दछन्।
महर्षि वेदव्याश प्रणीत यस ग्रन्थमा कुल अठार पर्वहरू छन् जसमा आदिपर्व नामक प्रथम पर्वले कथा आरम्भ गर्नुका साथै आगामी घटना र युद्धको जगको समेत थापना गर्दछ। आदिपर्वले कुरु-वंशावली, राजकीय घटना, तथा पौराणिक प्रसङ्गहरू प्रस्तुत गरी कथावस्तुलाई अगाडि बढाउँछ। लाहागृह दहन, पाण्डवहरूको पलायन, तथा त्यसपछि उत्पन्न भएका घटनाहरू आदिपर्वकै महत्त्वपूर्ण अंश हुन् जुन यस अध्ययनको केन्द्रबिन्दु पनि हो।
जयकाव्यका अनेक कथा-स्थलहरूले वर्तमान नेपाल तथा इंडियाको भूभागसङ्ग सांस्कृतिक र पारम्परिक रूपमा गहिरो सम्बन्ध राख्दछन्। जनश्रुतिका आधारमा महाभारतकालीन स्थलहरू मध्ये कतिपय स्थानहरू दुई देशले आ–आफ्नो परम्परासङ्ग सम्बद्ध गरेको देखिन्छ जसकारण ग्रन्थीय निर्देश र प्रचलित स्थलबीच बहसको सम्भावना उत्पन्न गर्छ।
यस अध्ययनमा विशेषगरी आदिपर्वको लाहागृह प्रसङ्ग र त्यसपछिको पाण्डवहरूको पलायन तथा हिडिम्ब-उपाख्यानलाई केन्द्रमा राखेर ग्रन्थीय सूचकहरू र भौगोलिक तथ्यहरूको तुलनात्मक विश्लेषण गरिएको छ। लाहागृह दहन पश्चात् पाण्डवहरूको यात्राको पाठ्यवर्णनले यात्राको दिशा, स्थानीय वनस्पति-वर्णन, नदी तथा जलस्रोतको स्थिति, यात्रा अवधि जस्ता अनेक सूचकहरू प्रस्तुत गर्दछन्। वर्तमान समयमा यी घटनासङ्ग सम्बन्धित स्थानहरू सामान्यतः इंडियाको उत्तरप्रदेश स्थित बर्नवा र हिमाचल प्रदेश स्थित मनाली सङ्ग जोडिन्छन् तथापि ग्रन्थीय सङ्केत तथा भौगोलिक यथार्थको तुलना गर्दा वैकल्पिक व्युत्पत्तिहरू प्रशस्त हुन्छन्।
एकातिर ग्रन्थीय पाठले वारणावतलाई "पशुपतिको नगर" भनेर सूचित गरेको छ र शिवसङ्ग सम्बन्धीत उत्सवको सङ्केत दिएको छ भने अर्को तिर आदिपर्वमा वर्णित यात्राको दिशा (दक्षिणगमन), सालवृक्षयुक्त बाक्लो वन, सारस जस्ता जलचर पक्षीहरूको उपस्थिति, र अनेक नदीहरू पार गर्नुपर्ने अवस्था जस्ता सूचकहरूले काठमाडौँ–हेटौंडा परिदृश्यसङ्ग तुलनात्मक मेल खान्छन्। यसै सन्दर्भमा स्थानीय नाम र परम्पराहरू, जस्तै हिडीम्बा र हेटौंडा बिचको सम्भावित भाषिक सम्बन्ध, र भीमसङ्ग सम्बन्धित हुनाले भीमफेदी नामक स्थान, आदिले अध्ययनलाई थप आधार प्रदान गर्छ।
वारणावत गमन र लाहागृहको संक्षिप्त कथा
जयकाव्य अर्थात् महाभारतको आदिपर्वमा दुर्योधनले पाण्डवहरूलाई लाहागृहमा जलाएर मार्ने षड्यन्त्र गरेको प्रसङ्ग छ। संक्षेपमा कथा यसप्रकार छ। हस्तिनापुरमा पाण्डवहरू दिनप्रतिदिन लोकप्रिय र शक्तिशाली हुँदै गए। विशेषतः युधिष्ठिरलाई युवराज बनाइएपछि प्रजा र दरबारमा उनको प्रतिष्ठा झन् बढ्यो। यो देखेर दुर्योधन, शकुनि र कर्ण अत्यन्त ईर्ष्यालु भए र पाण्डवहरूलाई नष्ट गर्ने योजना बनाउन थाले। त्यसपछि उनीहरूले धृतराष्ट्रलाई प्रभावित गरेर पाण्डवहरूलाई वारणावत नामको रमणीय नगरमा हुने उत्सव हेर्न जान प्रेरित गरे। मन्त्रीहरूले बारम्बार वारणावतको सुन्दरता र उत्सवको प्रशंसा गरेपछि पाण्डवहरूको मन त्यहाँ जान उत्सुक भयो। तब धृतराष्ट्रले पनि उनीहरूलाई त्यहाँ केही समय विहार गर्न जाने अनुमति दिए।
तर वास्तविक योजना गुप्त थियो। दुर्योधनले आफ्नो विश्वस्त व्यक्ति पुरोचनलाई वारणावत पठाएर त्यहाँ लाहा, घ्यू, तेल आदि अत्यन्त ज्वलनशील पदार्थद्वारा संयुक्त काठको एक सुन्दर महल निर्माण गर्न लगाए। राती पाण्डवहरू सुतेको बेलामा त्यो घरमा आगो लगाएर आमा कुन्ती सहित उनिहरूलाई मार्ने योजना थियो।
पाण्डवहरू कुन्तीसहित वारणावत पुगे। नगरवासीहरूले ठूलो सम्मानका साथ उनीहरूको स्वागत गरे। केही समयपछि पुरोचनले बनाएको महलमा उनीहरू बस्न थाले। तर युधिष्ठिरले घरको गन्ध र संरचना देखेर यो ज्वलनशील पदार्थले बनेको षड्यन्त्रपूर्ण भवन हो भन्ने बुझिहाले। वास्तवमा विदुरले पनि उनलाई गुप्त संकेतद्वारा यस खतराबारे सचेत गरिसकेका थिए।
विदुरको निर्देशनमा एक गुप्त सुरुङ (भूमिगत मार्ग) तयार गरिएको थियो। उपयुक्त समय पर्खेर पाण्डवहरूले योजना बनाए। एक रात कुन्तीले ब्राह्मणहरूलाई भोजन गराइन्। त्यसै रात एक निशाद स्त्री आफ्ना पाँच छोरासहित मद्यपान गरेर त्यही घरमा सुत्न आइपुगिन्। सबै जना निदाएपछि भीमसेनले लाक्षागृहमा आफैले आगो लगाए। पाण्डवहरू कुन्तीसहित गुप्त सुरुङमार्गबाट बाहिर निस्किए र अँध्यारोमा वनतिर भागे। आगोमा पुरोचन र ती निशाद स्त्री तथा उनका छोराहरू जले। वारणावतका मानिसहरूले त्यो घटना देखेर पाण्डवहरू जलेर मरे भन्ने ठाने। हस्तिनापुरमा पनि त्यही समाचार पुग्यो र धृतराष्ट्रले बाह्य रूपमा शोक प्रकट गरे। तर वास्तवमा विदुरलाई मात्र पाण्डवहरू जीवित छन् भन्ने थाहा थियो। पाण्डवहरू भने गुप्त रूपमा वनतर्फ लागे। अनेक खोला-नाला र नदी पार गर्दै उनिहरूले अज्ञात रूपमा यात्रा गरे। अनेक पहाडहरू चढ्दै र झर्दै, घना वनको मार्गमा वृक्ष-लताहरूलाई पन्छ्याउँदै बाटो छिचोल्दै दक्षिण दिशा मा अघि बढे। मध्यरातमा आगो लगाएर भागेका उनिहरू भोलिपल्ट साँझमा एउटा घना निर्जन वनमा पुगे र त्यो रात त्यहीं विश्राम गरे। हिडिम्ब नामक एक नरभक्षी राक्षस आफ्नी बहिनी हिडिम्बा सहित त्यही वनमा बस्थ्यो। राती यी सुतिरहेका मानीसहरूलाई खान्छु भनि आउँदा राक्षस हिडिम्ब र भीमसेन बीच भयानक युद्ध भयो जसमा हिडिम्ब मारिए। पछि राक्षसकी बहिनी हिडिम्बासङ्ग भीमसेनको विवाह भयो।
वारणावत क्षेत्रको वर्णन
महाभारतको आदिपर्वमा वारणावत क्षेत्रको प्रथम उल्लेख अध्याय १३० श्लोक १० मा भेटिन्छ।
स भवान् पाण्डवानाशु विवासयितुमर्हति
मृदुनैवाभ्युपायेन नगरम् वारणावतम्
अनुवाद : “हे महाराज, तपाईँले पाण्डवहरूलाई छिट्टै कुनै सौम्य उपाय अपनाई वारणावत नगरतर्फ पठाउनुपर्छ।”
दुर्योधनले धृतराष्ट्रलाई सिधै कठोर आदेश दिनुभन्दा पनि कुनै नम्र वा छलपूर्ण उपाय गरेर पाण्डवहरूलाई वारणावत पठाउन सुझाव दिइरहेको यो प्रसङ्ग हो।
अगाडि धृतराष्ट्रका मन्त्रीहरूले पाण्डवहरूलाई प्रेरित गर्न वारणावतको महिमा वर्णन गर्दछन्।
धृतराष्ट्रप्रयुक्तास्तु केचित्कुशलमन्त्रिणः। कथयाञ्चक्रिरे रम्यं नगरं वारणावतम्॥
अयं समाजः सुमहान्रमणीयतमो भुवि। उपस्थितः पशुपतेर्नगरे वारणावते॥
सर्वरत्नसमाकीर्णे पुंसां देशे मनोरमे। इत्येवं धृतराष्ट्रस्य वचनाच्चक्रिरे कथाः॥ (अध्याय १३१ श्लोक २, ३, ४)
श्लोकमा “रम्यं नगरं वारणावतम्” भनिएको छ। यसबाट वारणावत अत्यन्त सुन्दर, आकर्षक र मनोहर नगरका रूपमा चित्रित गरिएको छ।
“पशुपतेर्नगरे वारणावते” भन्ने वाक्यांशले वारणावतलाई भगवान् पशुपतिसङ्ग सम्बन्धित पवित्र नगरका रूपमा देखाउँछ।
“अयं समाजः सुमहान्” भन्ने शब्दले त्यहाँ अत्यन्त ठूलो उत्सव वा सभा हुने कुरा जनाउँछ, जहाँ धेरै मानिसहरू भेला हुनेछन्।
“रमणीयतमो भुवि” भन्ने पदले पृथ्वीमै सबैभन्दा रमणीय स्थानहरूमध्ये एक भन्ने बुझिन्छ।
“सर्वरत्नसमाकीर्णे” भन्ने पदले त्यो देश विभिन्न रत्न, धनसम्पत्ति र वैभवले भरिएको भनेर चित्रण गर्छ।
त्यसैगरी “पुंसां देशे मनोरमे” मानिसहरूका लागि अत्यन्त आनन्ददायक र रमाइलो बसोबासको देश भन्ने जनाउँछ। धृतराष्ट्रका मन्त्रीहरूले यस्ता प्रशंसात्मक वर्णनहरू गरेर पाण्डवहरूलाई वारणावत जानको लागि आकर्षित गर्न चाहन्छन्।
पाण्डवहरू वारणावत गएको समय र त्यहाँ हुनलागेको उत्सव
महाभारतको आदिपर्वमा पाण्डवहरू वारणावततर्फ प्रस्थान गरेको समयबारे स्पष्ट संकेत दिने एउटा महत्त्वपूर्ण श्लोक भेटिन्छ। उक्त श्लोक यस प्रकार छ:
अष्टमेऽहनि रोहिण्यां प्रयाताः फल्गुनस्य ते । वारणावतमासाद्य ददृशुर्नागरं जनम् ॥ (आदिपर्व १३३.३०)
यस श्लोकको अर्थ अनुसार पाण्डवहरू फाल्गुन महिनाको आठौँ दिन, अर्थात् अष्टमी तिथिमा, रोहिणी नक्षत्र परेको समयमा वारणावततर्फ प्रस्थान गरेका थिए। वारणावत पुग्दा उनिहरूले नगरका मानिसहरूलाई देखे र त्यहाँको जीवन्त वातावरण अनुभव गरे।
चन्द्रमासको गणनामा कृष्ण पक्ष पहिले र त्यसपछि शुक्ल पक्ष आउँछ। यस आधारमा श्लोकमा उल्लेख गरिएको “अष्टमेऽहनि” लाई फाल्गुन कृष्ण अष्टमीको रूपमा बुझ्न सकिन्छ। यसले पाण्डवहरूको यात्रा फाल्गुन कृष्ण अष्टमीमा आरम्भ भएको संकेत दिन्छ।
यसअघि माथिका श्लोकहरूमा धृतराष्ट्रका मन्त्रीहरूले वारणावत नगरको प्रशंसा गर्दै त्यहाँ हुने महान् उत्सवको चर्चा गरेका छन् (?reference)। विशेष रूपमा “पशुपतेर्नगरे वारणावते” भन्ने वाक्यांशले वारणावतलाई पशुपतिसङ्ग सम्बन्धित नगर भनेर चित्रण गर्छ। साथै “अयं समाजः सुमहान्” भन्ने अभिव्यक्तिले त्यहाँ विशाल जनसमागम हुने कुनै ठूलो धार्मिक वा सामाजिक उत्सव आयोजना हुने कुरा संकेत गर्छ।
हिन्दू परम्परामा महाशिवरात्रि फाल्गुन महिनाको कृष्ण पक्ष चतुर्दशी तिथिमा पर्ने महत्त्वपूर्ण उत्सव हो। यदि पाण्डवहरू फाल्गुन कृष्ण अष्टमीमा वारणावततर्फ प्रस्थान गरेका थिए भने, अष्टमी र चतुर्दशीबीच करिब छः दिनको अन्तर रहन्छ। यस आधारमा मन्त्रीहरूले चर्चा गरेको उत्सव शिवरात्रिको उत्सव हुनसक्ने सम्भावना प्रबल हुन्छ।
लाहागृहबाट निस्केपछिको घटनाक्रम
वारणावतको लाहागृह जलाएपछि पाण्डवहरू गुप्त सुरुङमार्गबाट बाहिर निस्केर नगरबाट टाढा भाग्छन्।
पाण्डवाश्चापि निर्गत्य नगराद्वारणावतात्। जवेन प्रययु राजन्दक्षिणां दिशमाश्रिताः॥ (आदिपर्व १३७.१७)
अर्थात् वारणावत नगरबाट निस्केपछि पाण्डवहरू तीव्र गतिले दक्षिण दिशातर्फ अघि बढे। यसले उनीहरूको यात्राको प्रारम्भिक दिशा स्पष्ट रूपमा दक्षिणतर्फ रहेको देखाउँछ।
नगरबाट बाहिरिएपछि उनीहरू तुरुन्तै गहिरो वन क्षेत्रमा प्रवेश गर्छन्।
इतः कष्टतरं किं नु यद्वयं गहने वने। दिशश्च न प्रजानीमो गन्तुं चैव न शक्नुमः॥ (आदिपर्व १३७.२० )
यसबाट थाहा हुन्छ कि उनीहरू अत्यन्त घना र दुर्गम वन भित्र पुगेका थिए, जहाँ बाटो पहिचान गर्न कठिन थियो। दिशा पनि प्रष्ट बुझ्न सकिने अवस्था थिएन, र थकानका कारण अघि बढ्नसमेत कठिन भइरहेको थियो।
यात्राको क्रममा उनीहरूले बारम्बार नदी पार गर्नुपरेको उल्लेख भेटिन्छ।
असकृच्चापि संतीर्य दूरपारं भुजप्लवैः। पथि प्रच्छन्नमासेदुर्धार्तराष्ट्रभयात्तदा ॥ (आदिपर्व १३८.४)
अर्थात् उनीहरूले आफ्नै भुजाहरूको सहाराले पौडेर नदी धेरैपटक पार गरे, र धृतराष्ट्रका पुत्रहरू (कौरव) को डरका कारण बाटोभरि लुकेर अघि बढे। यसले यात्रामा नदीको अवरोध र निरन्तर सावधानी दुवै रहेको देखाउँछ।
दीर्घ समयको कठिन यात्रापछि उनीहरू साँझपख एउटा वनक्षेत्रमा पुग्छन्।
आगमंस्ते वनोद्देशमल्पमूलफलोदकम्। क्रूरपक्षिमृगं घोरं सायाह्ने भरतर्षभाः॥ (आदिपर्व १३८.६ )
साँझको समयमा उनीहरू डरलाग्दो, हिंसक जनावर भएको वनमा पुगे जहाँ फलफूल र पानी सहजै पाउन सकिन्थेन।
घटनाक्रमलाई समयको दृष्टिले विचार गर्दा एउटा रोचक अनुमान गर्न सकिन्छ। पाण्डवहरूले लाहागृहमा आगो लगाएर सम्भवतः मध्यराततिर सुरुङमार्गबाट बाहिरिएका थिए। त्यसपछि उनिहरू निरन्तर यात्रा गर्दै अर्को दिन सन्ध्यामा उक्त वन क्षेत्रमा पुगे। संस्कृतमा “सन्ध्या” शब्दले सूर्य अस्ताइसकेको तर अझै प्रकाश बाँकी रहेको समय जनाउँछ। फाल्गुन–चैत्र महिनामा सूर्यास्त सामान्यतः करिब साँझ ६:३० बजे तिर हुन्छ। त्यसैले वारणावतबाट यस वनसम्मको यात्रा करिब १८–२० घण्टा जति लामो भएको अनुमान गर्न सकिन्छ।
उनिहरू पुगेको स्थानमा कतै नजिकै पानीको स्रोत पनि रहेको संकेत श्लोकबाट पाइन्छ। भिमसेनले सारस चराको स्वर सुनेर आसपासमा कतै जलस्रोत हुनुपर्छ भन्ने अनुमान गर्छन् र साँच्चीकै २ कोश जति पर जलस्रोत भेट्छन्।
एते रुवन्ति मधुरं सारसा जलचारिणः। ध्रुवमत्र जलस्थायो महानिति मतिर्मम॥ (आदिपर्व १३८.११)
अर्थात् यहाँ सारस नामका जलचर पक्षीहरू मधुर स्वरमा कराइरहेका छन्, त्यसैले नजिकै ठूलो पानीको स्रोत अवश्य हुनुपर्छ।
यस वनको वनस्पतिबारे पनि उल्लेख भेटिन्छ। आदिपर्व १३९.१ मा हिडिम्ब नामको राक्षस त्यही वनमा, साल वृक्षको नजिक बस्ने गरेको वर्णन छ।
तत्र तेषु शयानेषु हिडिम्बो नाम राक्षसः । अविदूरे वनात्तस्माच्छालवृक्षमुपाश्रितः
अन्यत्र पनि “महाशालवन” भन्ने शब्द प्रयोग भएको छ (आदिपर्व १४३.२४),
यसले त्यो क्षेत्र साल वृक्षले भरिएको वन भएको देखाउँछ।
यसरी महाभारतका यी श्लोकहरूलाई समग्र रूपमा हेर्दा पाण्डवहरूको वारणावतपछि भएको यात्राको चित्र स्पष्ट हुन्छा। उनिहरू दक्षिण दिशातर्फ गए , घना वन पार गरे, नदीहरू तरे , करिब एक दिनजति निरन्तर यात्रा गरे, र अन्ततः साँझपख पानीको स्रोत नजिक रहेको साल वृक्षले भरिएको वनमा पुगे। यही वन क्षेत्रमा अगाडि हिडिम्ब र हिडिम्बा सङ्ग सम्बन्धित प्रसिद्ध घटना घट्छ।
वर्तमान समयमा वारणावत क्षेत्र र हिडीम्बाको वासस्थान
वर्तमान समयमा प्रचलित धारणा अनुसार महाभारतमा उल्लेख गरिएको वारणावत क्षेत्रलाई इन्डियाको उत्तर प्रदेश राज्यको Barnawa सङ्ग सम्बन्धित मानिन्छ। त्यसैगरी हिडिम्बाको वासस्थान भनेर भारतको हिमाचल प्रदेशको Manali क्षेत्रमा रहेको Hidimba Devi Temple लाई देखाइन्छ। यी मान्यताहरू धेरै हदसम्म स्थानीय परम्परा, जनविश्वास र धार्मिक आस्थामा आधारित छन्। त्यसैले यस विषयमा आलोचना गर्नु शोधकर्ताको उद्देश्य होइन, किनकि यो आस्था र व्यक्तिगत विचारसङ्ग सम्बन्धित कुरा हो। तर ग्रन्थमा दिइएका विवरणहरूको आधारमा अनुसन्धान गर्दा यी स्थानहरू महाभारतमा वर्णित भूगोलसँग पूर्ण रूपमा मेल खाँदैनन्।
पहिलो कुरा, उत्तर प्रदेशको Barnawa क्षेत्र वरिपरि “पशुपति” नामसङ्ग सम्बन्धित कुनै प्रसिद्ध स्थान वा मन्दिरको स्पष्ट प्रमाण भेटिदैन, जबकि महाभारतका श्लोकहरूमा वारणावतलाई “पशुपतेर्नगरे वारणावते” भनेर वर्णन गरिएको छ। त्यसैगरी Barnawa क्षेत्रमा हजारौं वर्ष देखि प्रचलित कुनै फल्गुनी उत्सवको प्रमाण भेटिदैन।
दोस्रो कुरा, Barnawa बाट Manali तर्फको दिशा सिधा उत्तर पर्छ, तर महाभारतमा पाण्डवहरू वारणावतबाट निस्केपछि दक्षिण दिशातर्फ गएका भन्ने स्पष्ट उल्लेख छ। यसले वर्तमान भूगोलसङ्ग मिलान गर्दा दिशात्मक असमानता देखिन्छ। अर्को महत्त्वपूर्ण पक्ष दूरी र यात्राको समय हो। Barnawa देखि Manali सम्मको दूरी लगभग ४७०–४८० किलोमिटर जति हुन्छ। यस्तो दूरी पैदल यात्रा गर्दा सामान्यतया ४–५ दिन वा अझ बढी समय लाग्न सक्छ। तर महाभारतको कथन अनुसार पाण्डवहरूले लाहागृह जलाएपछि राति प्रस्थान गरेर भोलिपल्ट साँझसम्ममा हिडिम्ब बस्ने वनमा पुगेका थिए। यसले उनीहरूको यात्रा करिब १८–२० घण्टाको आसपास मात्र भएको संकेत दिन्छ। यस आधारमा पनि Barnawa र Manali बीचको दूरी र महाभारतमा वर्णित यात्राको अवधि एक-अर्कासङ्ग मेल नखाने देखिन्छ।
यात्राको क्रममा नदीहरू भेटिन सक्ने कुरा भने सम्भव देखिन्छ, किनकि North Indiaका धेरै भूभागहरू नदीप्रणालीले भरिएका छन्। तर हिमाचल प्रदेश, विशेषतः Manali क्षेत्र, अत्यन्त पर्वतीय भूभाग भएको कारण महाभारतमा उल्लेख गरिएको सारस (जलचर पक्षी) को प्राकृतिक वासस्थानसङ्ग पूर्ण रूपमा मेल खान्न। सारस प्रायः समथर भूभागका नदी, ताल वा दलदली क्षेत्र वरिपरि पाइने पक्षी हो।
यसका अतिरिक्त, Manali तथा Hidimba Devi मन्दिर वरिपरि पाइने वनस्पतिमा मुख्यतः देवदार (Deodar) जस्ता शंकुधारी वृक्षहरू प्रबल रूपमा पाइन्छन्। तर महाभारतको वर्णनमा हिडिम्ब बस्ने वनमा प्रशस्त सालको वृक्ष भएको अनुमान गर्न सकिन्छ। यस प्रकार वनस्पति संरचनामा पनि स्पष्ट भिन्नता देखिन्छ।
यसरी ग्रन्थमा वर्णित दिशा, वनस्पति, पक्षी तथा भौगोलिक विशेषताहरूलाई ध्यानमा राखेर हेर्दा वर्तमानमा प्रचलित Barnawa–Manali पहिचान महाभारतको मूल वर्णनसङ्ग पूर्ण रूपमा मेल खान्छ कि खाँदैन भन्ने विषयले थप अध्ययन र विचारको माग गर्छ।
वास्तविक वारणावत र हिडीम्बा क्षेत्रको खोजी
इन्डियाको Barnawa र Manali स्थानहरूलाई प्रायः महाभारतमा उल्लेखित वारणावत र हिडीम्बा–वासस्थानसँग जोडेर हेर्ने परम्परा रहेको छ। तर महाभारतका श्लोकहरूमा दिइएका दिशा, भूगोल, वनस्पति तथा यात्राको समयसम्बन्धी विवरणहरूलाई तुलना गर्दा ती स्थानहरू मूल घटनास्थलसँग पूर्ण रूपमा मेल खाँदैनन्। केही अनुसन्धानकर्ता र विभिन्न स्थानीय मत अनुसार यी घटनाहरूको वास्तविक स्थल वर्तमान नेपालको भूभागमा रहेको मानिएको छ।
नेपालमा उपलब्ध विभिन्न प्रमाण र परम्परागत प्रचलनद्वारा हिडिम्ब र उनकी बहिनी हिडीम्बाको वासस्थान वर्तमान हेटौंडा क्षेत्र रहेको पुष्टी हुन्छ। स्थानीय विश्वास अनुसार यही क्षेत्रको वनप्रदेशमा भीमसेनले हिडीम्बासङ्ग भेटेका थिए। कतिपय जनश्रुति अनुसार “हेटौडा” नाम पनि हिडीम्बा शब्दबाट अपभ्रंस भएर विकसित भएको मानिन्छ। हेटौडा क्षेत्रमा हिडीम्बा देवीसँग सम्बन्धित पूजा–परम्परा पनि पाइन्छ, र यहाँ रहेको भुटनदेवीको मन्दिर हिडीम्बासङ्ग सम्बन्धित शक्तिस्थलका रूपमा हेरिन्छ। त्यस्तै हेटौडाको नजिकै रहेको भीमफेदी नामक स्थानलाई पनि भीमसेनसङ्ग सम्बन्धित परम्परागत स्मृतिसङ्ग जोडेर हेरिन्छ।
वारणावत क्षेत्रको पहिचानबारे पनि केही वैकल्पिक धारणा र प्रमाणहरू छन्। महाभारतमा उल्लेख भएको “पशुपतेर्नगरे वारणावते” भन्ने पदलाई वर्तमान नेपालको पशुपतिनाथ मन्दिर सङ्ग सम्बन्धित हुनसक्ने धारणा पाइन्छ। यसै प्रसङ्गमा मन्त्रिहरूले उल्लेख गरेको “पशुपति उत्सव” लाई पशुपतिनाथ क्षेत्रमा मनाइने शिवरात्री उत्सव सङ्ग सम्बन्धित हुन सक्ने सम्भावना पनि कतिपयले प्रस्तुत गर्दछन्।
काठमाडौँ उपत्यकालाई वारणावत क्षेत्रको रूपमा हेर्ने दृष्टिकोण
पशुपतिको नगर भनी स्पष्ट उल्लेखकेही परम्परागत मान्यता र जनश्रुतीहरूले वर्तमान नेपालको काठमाडौँ उपत्यकाको पूर्वी भागलाई महाभारतमा उल्लेख भएको वारणावत क्षेत्रसङ्ग सम्बन्धित हुनसक्ने सम्भावना प्रस्तुत गरेकोमा, आदिपर्वको अध्याय १३१ श्लोक ३ यस दृष्टिकोणका लागि महत्त्वपूर्ण सङ्केत हो।
अयं समाजः सुमहान्रमणीयतमो भुवि। उपस्थितः पशुपतेर्नगरे वारणावते॥
यहाँ स्पष्ट रुपमा वारणावतलाई पशुपतिको नगरको रूपमा उल्लेख गरिएको पाइन्छ। काठमाडौँ उपत्यकाको पूर्वी भागमा अवस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिर यस सन्दर्भमा विशेष ध्यानाकर्षण गर्ने स्थल हो।
- १. पौराणिक आधार र
- २ . ऐतिहासिक/पुरातात्त्विक आधार।
पौराणिक परम्पराअनुसार, विशेषतः स्कन्दपुराणमा पशुपतिनाथको महिमा अत्यन्त प्राचीन मानिएको छ। यहाँ वर्णन गरिएको प्रसिद्ध कथा अनुसार एक समय ब्रह्मा र विष्णुले अनन्त ज्योतिर्लिङ्गको आदि र अन्त खोज्ने प्रयास गर्दा असफल भएपछि अनन्त ज्योतिर्लिङ्ग स्वरुप सदाशिवले आफ्नो कुनै आदि र अन्त्य नभएको बताउँछन् र सिमित ज्योतिर्लिङ्गको रूपमा प्रकट भई हालको पशुपति मन्दिर भएको स्थानमा विराजमान हुन्छन्। यो कथा सृष्टिको प्रारम्भिक कालसङ्ग अथवा वर्तमान मन्वन्तरको आरम्भकाल सङ्ग सम्बन्धित छ। महाभारतकाललाई परम्परागत रूपमा लगभग पाँच हजार वर्ष अगाडिको मानिन्छ। तसर्थ पौराणिक दृष्टिले त्यस समयसम्म पशुपतिको ज्योतिर्लिङ्ग पहिले नै स्थापित भएको मान्न सकिन्छ।
अर्कोतर्फ, ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूले पशुपतिनाथ मन्दिरको लिखित इतिहासलाई कम्तीमा प्रारम्भिक मध्यकालसम्म लैजान्छन्। नेपालका प्राचीन वंशावलीहरूमध्ये एक "गोपाल राज वंशावली"मा पशुपतिनाथ देवालयलाई लिच्छवि राजाहरूद्वारा संरक्षण गरिएको प्रसङ्ग पाइन्छ। लिच्छवि राजा मानदेवको पाचौं शताब्दीको शिलालेखमा पशुपतिको उल्लेख पाइन्छ। यस आधारमा हाल देखिने मन्दिरको संरचनाको आरम्भिक रूप कम्तीमा पाचौं शताब्दी ईस्वी आसपास विकसित भएको अनुमान गरिन्छ।
मन्दिरको वर्तमान वास्तुकलाले लिच्छवि कालखण्डबाट स्वरूप लिन आरम्भ गरेको भएतापनि त्यस स्थानमा रहेको शिवलिङ्ग र प्रारम्भिक पूजा–परम्परा अझ पुरानो हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैन। धेरै प्राचीन तीर्थस्थलहरूमा, आरम्भमा केवल लिङ्ग वा सानो देवालय रहेको र पछि क्रमशः ठूलो मन्दिरसंरचना निर्माण भएको उदाहरणहरू अन्यत्र पनि प्रशस्त पाइन्छन्। यसका साथै हालसम्म उपलब्ध ऐतिहासिक अभिलेखहरूमा पाचौं शताब्दीभन्दा पुरानो पशुपति-नामको प्रसिद्ध शिवलिङ्ग वा मन्दिर अथवा कुनै नगरको स्पष्ट उल्लेख अन्यत्र कतै पनि भेटिदैन। यस कारण आदिपर्वमा उल्लेख गरिएको पशुपति नगर युक्त वारणावत वर्तमानको काठमाडौँ उपत्यका नै हुन सक्ने सम्भावना प्रबल हुन्छ।
महाभारतका श्लोकहरूमा वारणावत नगरको वर्णन अत्यन्त रमणीय र समृद्ध स्थानका रूपमा गरिएको छ। “रमणीयतमो भुवि”, “सर्वरत्नसमाकीर्णे”, तथा “पुंसां देशे मनोरमे” जस्ता पदहरूले त्यस स्थानको सुन्दरता, समृद्धि र आकर्षणलाई संकेत गर्छन्। काठमाडौँ उपत्यका प्राचीनकालदेखि नै प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा विशिष्ट स्थापत्यकलाका लागि प्रसिद्ध क्षेत्र मानिन्छ। यहाँका बहुस्तरीय मन्दिर, ताम्र वा सुवर्णमय गजुरयुक्त देवालय, तथा प्राचीन धार्मिक परम्पराले यस क्षेत्रलाई ऐतिहासिक रूपमा विशिष्ट बनाएका छन्। यस कारणले वारणावतको उक्त वर्णनलाई काठमाडौँ उपत्यकाको सांस्कृतिक र कलात्मक वैभवसङ्ग तुलना गर्न सकिन्छ।
यससङ्गै पशुपति क्षेत्रसङ्ग सम्बन्धित उत्सव परम्पराको इतिहास पनि ध्यान दिनुपर्ने विषय हो। पशुपतिनाथ क्षेत्रमा मनाइने प्रमुख उत्सवमध्ये महाशिवरात्रि विशेष प्रसिद्ध छ। पौराणिक ग्रन्थहरूमा, शिवरात्रि तथा पशुपति, दुवैको उल्लेख पाइन्छ। धृतराष्ट्रका मन्त्रिहरूले फाल्गुणमासमा वारणावतमा हुने उत्सवको चर्चा गरेका छन् जसलाई शिवरात्रि उत्सवसङ्ग जोडेर हेर्न सकिन्छ।
यी तथ्यहरूलाई समग्र रूपमा विचार गर्दा पूर्वी काठमाडौँ क्षेत्रलाई वारणावतसङ्ग तुलना गर्न सकिने धेरै तर्क र प्रमाणहरू स्पष्ट हुन्छन्।
हेटौंडालाई हिडीम्बाको क्षेत्रको रूपमा हेर्ने दृष्टिकोण
नेपालमा प्रचलित परम्परा तथा स्थानीय विश्वास अनुसार वर्तमान हेटौंडा क्षेत्रलाई महाभारतमा वर्णित हिडिम्ब र हिडीम्बाको वासस्थानसङ्ग सम्बन्धित मानिन्छ। विभिन्न जनश्रुति र मान्यता अनुसार “हिडीम्बा क्षेत्र” भन्ने प्राचीन उच्चारण समयक्रममा भाषिक व्युत्पत्ति भई “हेटौंडा” बनेको हो।
यस क्षेत्रसङ्ग सम्बन्धित धार्मिक तथा सांस्कृतिक स्थलहरू पनि महत्वपुर्ण सूत्र हरू हुन्। हेटौंडामा अवस्थित भुटनदेवी मन्दिरलाई स्थानीय रूपमा हिडीम्बा देवीसङ्ग सम्बन्धित शक्तिस्थल मानिन्छ। त्यस्तै हेटौंडाको उत्तर–पूर्वतर्फ पर्ने भीमफेदी नामक स्थानलाई भीमसेनसङ्ग सम्बन्धित परम्परासङ्ग जोडेर हेर्ने चलन पनि छ। यसै क्षेत्रमा मनाइने भीमसेन जात्रा जस्ता सांस्कृतिक परम्पराहरूले पनि भीमसेन सम्बन्धी स्मृतिलाई स्थानीय सांस्कृतिक जीवनसङ्ग जोडेर राखेको छ।
महाभारतका श्लोकहरूमा हिडिम्बको वासस्थान वनप्रदेशमा रहेको उल्लेख पाइन्छ। तत्र तेषु शयानेषु हिडिम्बो नाम राक्षसः।
अविदूरे वनात्तस्माच्छालवृक्षमुपाश्रितः॥
यस श्लोकले हिडिम्ब साल वृक्ष भएको वन क्षेत्रमा बसोबास गरेको संकेत दिन्छ। हेटौंडा र यसको वरपरको भूभाग आज पनि साल (शाल) वनका लागि परिचित छ। चुरे तथा मध्यतराई क्षेत्रमा फैलिएका साल वनहरू यस क्षेत्रको प्राकृतिक पारिस्थितिको महत्त्वपूर्ण अङ्ग हुन्। यस आधारमा महाभारतमा वर्णित वनप्रदेश र हेटौंडा क्षेत्रको वनस्पति स्थितिबीच तुलना गर्न सकिने तर्क प्रशस्त छन्।
त्यसैगरी अर्को श्लोकमा जलचर पक्षीको उल्लेख पाइन्छ। एते रुवन्ति मधुरं सारसा जलचारिणः, यो श्लोकांशले त्यस क्षेत्रमा पानीका स्रोत र जलचर पक्षीहरूको उपस्थितिको संकेत दिन्छ। हेटौंडा क्षेत्र र यसको आसपासका तराई–चुरे भूभागमा नदी, सिमसार तथा साना जलाशयहरू पाइन्छन्। यस्ता वातावरणमा सारस वा अन्य जलचर पक्षीहरू कहिलेकाहीँ देखिन सक्ने सम्भावना पनि हुन्छ। यद्यपि यो क्षेत्र सारसको मुख्य प्रजननस्थल भने होइन, तर सिमसार वातावरण भएका कारण त्यस्ता पक्षीहरूको उपस्थितिलाई पूर्ण रूपमा असम्भव पनि मानिदैन।
भौगोलिक दृष्टिले पनि हेटौंडा क्षेत्र घना वन, नदी–नाला तथा पहाडी–तराई सङ्क्रमण क्षेत्रको रूपमा परिचित छ। महाभारतमा पाण्डवहरू वारणावतबाट निस्केर घना वन हुँदै यात्रा गरेको, नदीहरू पार गरेको तथा अन्ततः वनप्रदेशमा पुगेको वर्णन पाइन्छ। स्थानीय नाम, परम्परा, धार्मिक स्थल, सांस्कृतिक उत्सव, वनस्पति तथा भौगोलिक विशेषता आदि आधारहरूलाई मध्यनजर गर्दै हेटौंडा क्षेत्रलाई हिडीम्बासङ्ग सम्बन्धित स्थलको रूपमा पुष्टि गर्ने तर्क र प्रमाणहरू प्रशस्त हुन्छन्।
ग्रन्थीय र भौगोलिक तुलनाद्वारा काठमाण्डौको वारणावत क्षेत्र र हेटौंडाको हिडीम्बाक्षेत्रसङ्गको सम्बन्ध प्रमाण
महाभारतको आदिपर्वमा पाण्डवहरूले लाहागृहबाट निस्किएपछि कता गएका थिए भन्नेबारे स्पष्ट संकेत पाइन्छ।
जवेन प्रययु राजन्दक्षिणां दिशमाश्रिताः॥ (आदिपर्व १३७.१७)
यस श्लोकमा पाण्डवहरू वारणावतबाट बाहिरिएपछि दक्षिण दिशातर्फ गएका भन्ने स्पष्ट उल्लेख छ। काठमाण्डौबाट दक्षिणतर्फ करिब ८५ किमिको दुरीमा हेटौंडा शहर अवस्थित छ। काठमाण्डौबाट दक्षिणतर्फ झर्दा चुरे–पर्वत पार गरेर तराईतर्फ पुग्ने मार्ग भौगोलिक रूपमा पनि ग्रन्थीय वर्णनसङ्ग तुलना गर्न सकिने देखिन्छ।
महाभारतका अन्य श्लोकहरूले पनि पाण्डवहरूको यात्रा कठिन वनप्रदेश हुँदै भएको संकेत गर्छन्।
इतः कष्टतरं किं नु यद्वयं गहने वने। दिशश्च न प्रजानीमो गन्तुं चैव न शक्नुमः॥ (आदिपर्व १३७.२०)
असकृच्चापि संतीर्य दूरपारं भुजप्लवैः। पथि प्रच्छन्नमासेदुर्धार्तराष्ट्रभयात्तदा॥ (आदिपर्व १३८.४).
यी श्लोकहरूले उनीहरूले घना वन, कठिन भूभाग तथा नदीहरू पार गर्दै यात्रा गरेको संकेत दिन्छन्। प्राचीन समयमा व्यवस्थित बाटो वा मार्गको अभाव भएको अवस्थामा यस्तो प्रकारको यात्रा अझ कठिन भएको अनुमान गर्न सकिन्छ। वर्तमान समयमा पनि काठमाडौँबाट हेटौंडा जाने भूभागमा ठूला पहाड, वनप्रदेश, खोला–नाला तथा नदीहरू भेटिन्छन्। बाग्मती नदीनै एक पटक भन्दा बढी तर्न पर्ने देखिन्छ। अन्य ठुला-साना नदी हरू पनि छन्। हेटौंडा क्षेत्रमा प्रवेशगर्ने बेलामा पूर्वी राप्तीनदी पनि तर्नु पर्ने देखिन्छ। यस प्रकार यी भौगोलिक आयामहरू ग्रन्थीय वर्णनसङ्ग तुलना गर्न सकिने देखिन्छन्।
अर्को श्लोकमा पाण्डवहरू साँझको समयमा एउटा वनप्रदेशमा पुगेको उल्लेख पाइन्छ।
आगमंस्ते वनोद्देशमल्पमूलफलोदकम्। क्रूरपक्षिमृगं घोरं सायाह्ने भरतर्षभाः॥ (आदिपर्व १३८.६)
यस वर्णनको आधारमा पाण्डवहरू लाहागृहबाट निस्किएको करिब एक दिन(१८-२० घण्टा) भित्रै हिडिम्ब बस्ने वनप्रदेशमा पुगेको अनुमान गर्न सकिन्छ। वर्तमान समयमा पनि शारीरिक रूपमा सक्षम व्यक्तिलाई पैदल यात्रामा काठमाण्डौबाट हेटौंडा क्षेत्रसम्म पुग्न करिब यती नै समयावधि लाग्छ। अहिलेका मानिस र भीमसेनलाई तुलना गर्न मिल्छ भन्ने प्रश्न पनि सुनिन्छ। यस सन्दर्भमा, एकातर्फ भीमसेनजस्ता बलशाली व्यक्तिहरूले छोटो समयमा नै लामो दूरी पार गर्न सक्छन् भन्ने तर्क छ भने, अर्कोतर्फ घना वन, अनेक नदी तथा अपरिचित भूभागका कारण यात्रा सुस्त हुनसक्ने तर्क पनि छ। फेरि आमा कुन्ती र अन्य भाइहरूको कमजोरीको कारण ठाउँ-ठाउँमा यात्रा सुस्त भएको र कतै भीमसेनले सबैलाई काँधमा र काखमा बोकेर तीव्र गतिमा यात्रा गरेको भनी ग्रन्थमा उल्लेख छ। यी दुई विपरीत तर्कले एक-अर्कालाई काट्ने हुँदा, वर्तमान समयको स्वस्थ र बलशाली व्यक्तिको यात्राको समयसङ्ग तुलना गर्न अनुचित देखिदैन।
त्यसैगरी अर्को अर्को श्लोकमा जलचर पक्षी र जलस्रोतको उल्लेख पाइन्छ।
एते रुवन्ति मधुरं सारसा जलचारिणः। ध्रुवमत्र जलस्थायो महानिति मतिर्मम॥ (आदिपर्व १३८.११)
यसले त्यस क्षेत्रमा ठूला जलस्रोत वा सिमसार क्षेत्र रहेको संकेत दिन्छ। हेटौंडा र यसको आसपासका क्षेत्रमा पनि विभिन्न नदी तथा खोला पाइन्छन्, जस्तै पूर्वी राप्ती नदी तथा सामरी खोला आदि। यस्ता जलस्रोतहरूले सिमसार वातावरण सिर्जना गर्ने भएकाले जलचर पक्षीहरूको उपस्थितिलाई सम्भावित बनाउँछन्।
महाभारतका श्लोकहरूले हिडिम्ब बस्ने वनमा साल (शाल) वृक्ष भएको पनि संकेत गर्छन् जुन माथि उल्लेख गरिसकिएको छ। हेटौंडा तथा यसको वरपरको चुरे–तराई क्षेत्र आज पनि साल वनका लागि परिचित मानिन्छ। यस प्रकार वनस्पति, जलस्रोत तथा भूगोलका विशेषताहरूले महाभारतको ग्रन्थीय वर्णनसङ्ग तुलना गर्न सकिने आधार प्रस्तुत गर्छन्। यी सबै पाठ्य तथा भौगोलिक संकेतहरूलाई एकसाथ विचार गर्दा काठमाण्डौबाट नै वारणावत क्षेत्र हो र हेटौंडा नै हिडीम्बाको वासस्थान भएको क्षेत्र हो भन्ने तथ्य धेरै हद सम्म पुष्टि हुन्छ।
निष्कर्ष
उपरोक्त सबै ग्रन्थीय, भौगोलिक तथा परम्परागत आधारहरूलाई एकसाथ विचार गर्दा केही महत्वपूर्ण निष्कर्षहरू निकाल्न सकिन्छ। महाभारतको आदिपर्वमा वारणावत क्षेत्रको वर्णन गर्दा “पशुपतेर्नगरे वारणावते” भन्ने स्पष्ट पद प्रयोग गरिएको छ, जसले वारणावतलाई पशुपति–सम्बन्धित नगरका रूपमा देखाउँछ। वर्तमान समयमा यस्तो प्रसिद्ध पशुपति–सम्बन्धित तीर्थका रूपमा Pashupatinath Temple विशेष रूपमा परिचित छ। साथै श्लोकहरूमा वारणावत नगरलाई “रमणीयतमो भुवि”, “सर्वरत्नसमाकीर्णे”, “पुंसां देशे मनोरमे” जस्ता विशेषणद्वारा वर्णन गरिएको छ, जुन प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्राचीन धार्मिक परम्पराका कारण प्रसिद्ध काठमाडौँ उपत्यकासँग तुलना गर्न सकिने देखिन्छ।
महाभारतमा पाण्डवहरूले लाहागृहबाट निस्किएपछि दक्षिण दिशातर्फ यात्रा गरेका भन्ने स्पष्ट उल्लेख छ। काठमाडौँको दक्षिणतर्फ अवस्थित Hetauda यस दिशात्मक संकेतसँग मेल खान्छ। काठमाडौँबाट हेटौंडासम्मको भूभाग चुरे–पर्वत, घना वन, नदी तथा खोला–नालाले भरिएको छ, जसले महाभारतमा वर्णित कठिन वनमार्ग, नदी पार गर्ने अवस्था तथा दुर्गम भूभागको विवरणसँग तुलना गर्न सकिने आधार दिन्छ। साथै महाभारतको कथन अनुसार पाण्डवहरू करिब एक दिनको यात्रापछि हिडिम्ब बस्ने वनप्रदेशमा पुगेका थिए। काठमाडौँबाट हेटौंडासम्मको पैदल यात्रा आज पनि करिब यही समयावधिमा सम्पन्न हुन सक्ने भएकाले यात्राको अवधि पनि तुलनात्मक रूपमा मेल खाने देखिन्छ।
हिडिम्बको वासस्थानबारे श्लोकहरूमा साल वृक्ष भएको वन, जलस्रोतको नजिक रहेको स्थान तथा जलचर पक्षीहरूको उपस्थितिको संकेत पाइन्छ। हेटौंडा क्षेत्र र यसको आसपासका चुरे–तराई भूभाग आज पनि साल वन, नदी तथा सिमसार वातावरणका लागि परिचित छन्। स्थानीय परम्परामा हेटौंडा, Bhimphedi जस्ता स्थानहरू भीमसेन र हिडीम्बासँग सम्बन्धित कथनहरूसँग जोडिएको पाइन्छ। यस्ता सांस्कृतिक तथा भौगोलिक संकेतहरूले यस क्षेत्रलाई महाभारतमा वर्णित घटनासँग तुलना गर्न सकिने आधार प्रस्तुत गर्छन्।
यसको विपरीत, वर्तमानमा प्रचलित पहिचानअनुसार वारणावतलाई Barnawa र हिडीम्बा–क्षेत्रलाई Manali सँग जोडिन्छ। तर यी स्थानहरूको तुलना गर्दा केही महत्वपूर्ण असमानताहरू देखिन्छन्। Barnawa क्षेत्र वरिपरि “पशुपति” नामसङ्ग सम्बन्धित कुनै प्रमुख तीर्थको प्रमाण स्पष्ट रूपमा भेटिँदैन। साथै Barnawa बाट Manali तर्फको दिशा उत्तर पर्छ, जबकि महाभारतमा पाण्डवहरू दक्षिणतर्फ गएका उल्लेख छ। दूरीको हिसाबले पनि Barnawa र Manali बीचको करिब ४७० किलोमिटर दूरी महाभारतमा वर्णित एक दिनको यात्रासँग मेल खान्न। त्यसैगरी Manali क्षेत्र मुख्यतः उच्च हिमाली र देवदार वनले भरिएको भूभाग हो, जुन महाभारतमा उल्लेख गरिएको साल वन तथा समथर भूभागमा पाइने जलचर पक्षीहरूको वातावरणसँग पूर्ण रूपमा अनुकूल देखिँदैन।
यस आधारमा, महाभारतका श्लोकहरूमा पाइने दिशात्मक संकेत, यात्राको अवधि, वनस्पति, जलस्रोत तथा स्थानीय परम्पराहरूलाई तुलना गर्दा काठमाडौँ क्षेत्रलाई वारणावत र हेटौंडा क्षेत्रलाई हिडीम्बाको वासस्थानसँग सम्बन्धित गर्ने सम्भावना अपेक्षाकृत बढी देखिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
तर यस विषयमा केही सीमितताहरू पनि स्वीकार गर्न आवश्यक छ। महाभारतको रचना अत्यन्त प्राचीन कालमा भएकोले त्यस समयको भूगोल, स्थाननाम र सांस्कृतिक सन्दर्भ समयक्रममा परिवर्तन भएको हुन सक्छ। उपलब्ध प्रमाणहरू मुख्यतः ग्रन्थीय वर्णन, स्थानीय परम्परा तथा तुलनात्मक भूगोलमा आधारित भएकाले यसलाई अन्तिम ऐतिहासिक प्रमाणका रूपमा लिन सकिँदैन। पुरातात्त्विक अनुसन्धान, प्राचीन अभिलेख तथा अन्य ग्रन्थीय स्रोतहरूको विस्तृत अध्ययनले मात्र यस विषयलाई अझ स्पष्ट बनाउन सक्छ।
यसरी हेर्दा, काठमाडौँ–हेटौंडा क्षेत्रलाई महाभारतको वारणावत–हिडीम्बा घटनासँग सम्बन्धित सम्भावित स्थलका रूपमा अध्ययन गर्न सकिने बलियो आधार अवश्य देखिन्छ, तर अन्तिम निष्कर्षका लागि अझ गहन अनुसन्धान आवश्यक रहन्छ।

Comments
Post a Comment