षष्ठोऽध्यायः (अध्याय ६)

श्रीगणेशाय नमः ।। श्रीसद्गुरुभगवतः चरणकमलेभ्यो नमः ।। श्रीस्वस्थानीदेव्यै नमः ।। श्रीशिवाय नमः ।। श्रीअधिष्ठातृधार्यिनाधिसयनीदेव्यै नमः ।।

अथ षष्ठोऽध्यायः

कुमार स्कन्दबाट त्रिपुर दाहको कथा सुनिसकेपछि अब के सुन्ने इच्छा छ भन्दा अगस्त्य मुनि विन्ती गर्नुहुन्छ हे कुमार! दक्षप्रजापतिले महादेवलाई मन नपराउने किन भए? फेरि सतीदेवीले किन यज्ञकुण्डमा प्रवेश गर्नुभयो? यस विषयमा सुन्ने इच्छा छ। मुनिको यस्तो आग्रह सुनि कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! दक्ष ब्रह्माजीका मानसपुत्र तथा प्रजापति थिए। प्राणी सभ्यताको उचित हेरचाह, यज्ञ–विधान र वैदिक कर्मकाण्डको सञ्चालन उनको अधिकारक्षेत्र थियो। उहाँलाई आफ्नो पदको अभिमान भएको थियो र उहाँको दृष्टिमा महादेव यज्ञीय मर्यादामा नबस्ने, सामाजिक शिष्टाचार नमान्ने र वैदिक कर्मकाण्डप्रति उदासीन देवता भएकाले त्यसै पनि मन पराउँदैन थिए। दक्ष प्रवृत्ति मार्ग अर्थात् यज्ञ-कर्मकाण्डका प्रवर्तक हुन् भने महादेव निवृत्ति मार्ग अर्थात् वैराग्य, लय, तत्त्वबोधका अधिष्ठाता हुन्। यसै कारण पनि वैचारिक रूपमा उनिहरू भिन्न छन्।

अघि धेरै पहिले देवताहरूले नेपाल खण्डमा ठूलो यज्ञ गरे। यस यज्ञमा ब्रम्हा, विष्णु र महादेव लगायत सप्त ऋषिहरू, सम्पूर्ण देवता, यक्ष, किन्नर र गन्धर्वहरू उपस्थित थिए। यसै यज्ञमा दक्ष प्रजापति पनि आइपुगे। दक्ष प्रजापति आएको देखि ब्रम्हा, विष्णु लगायत सम्पूर्ण ऋषिहरू, देवता, यक्ष, किन्नर र गन्धर्वहरू स्वागत र सम्मानको लागि उठे। त्यसै बेला महादेव भने ध्यानावस्थामा लिन भएकाले दक्षको स्वागतको लागि उठेनन्। यस घटनालाई दक्षले जानी-जानी मेरो अपमान गरेको भन्ने ठानेर महादेवलाई तिरस्कार गर्न थाले।

हे अगस्त्य मुनि! सबै छोरी हरूको कन्यादान गरिसके पछि एकदिन दक्षप्रजापतिले एक महान् यज्ञ गर्ने इच्छा गरेर आफ्नी पत्नी विरणीसङ्ग परामर्श गरि यज्ञक लागि सम्पूर्ण सामग्री, विधि र व्यवस्थाको जोरजाम गरि आफ्ना सबै छोरी–ज्वाइँ, देवता, यक्ष, किन्नर, गन्धर्व, ब्रम्हा, विष्णु, नारद आदिलाई निमन्त्रणा पठाए। तर महादेव र सतीदेवीलाई भने यज्ञमा बोलाएनन्।

यज्ञ आरम्भ भयो र नारदजीले यज्ञमा को आए-को आएनन् भनि हेर्दा सबैलाई देखे तर महादेव र सतीलाई नदेखेपछि, बिना महादेव दक्षको यज्ञ कसरी पूर्ण होला? निम्तो भन्न पो बिर्सेका हुन् कि भनि विचार गरि त्यहाँबाट अन्तर्ध्यान भइ कैलासमा गए।

उता महादेव र सतीदेवी कैलास पर्वतमा पाशा खेल्दै रमाइरहेका थिए। महादेव दाउ हार्दै एक पछि अर्को आफ्नो सम्पत्ति थाप्दै गुमाउँदै गइरहेका थिए। त्यसै बेला नारद पुगि प्रणाम गरि उभिइरहे र महादेवले के काम परि आयौ भनि प्रश्न गरे। तब नारदले सम्पूर्ण वृतान्त सुनाइ हजुर बिना दक्षको यज्ञ कसरी पूर्ण होला भन्दा, यो कुरा सुनि सतीदेवीले अत्यन्त विस्मय गरेर आफ्ना बाबा-महतारीले सबैलाई डाक्दा मलाई मात्र किन डाकेनन् भनि आँसु बगाइन्। तब महादेवले तिमी मन नरुचाइएकी छोरी, म मन नपरेको ज्वाइँ, भैगो न बोलाइरहुन् , तिम्रो लागि म छु, पीर नगर भनि अनेक प्रकारले सम्झाउँदा पनि सतीदेवीले चित्त बुझाउन नसकि, मलाई यो यज्ञ हेर्ने मन छ, फेरि पितृगृह जानको लागि छोरीको सधैं अधिकार हुन्छ, भनि ढिपी गरेर महादेवसङ्ग आज्ञा मागि नारद सहित दक्षको यज्ञमा गइन्।

आफ्ना पिताको यज्ञस्थलमा पुगेर सतीदेवीले आफूहरूलाई किन बोलाउनु भएन भनि बाबा-महतारि समक्ष बिलौना गर्दै फेरि महादेव बिना हजुरको यज्ञ कसरी पूर्ण होला भन्दा दक्षप्रजापतिले हे छोरी! तँ आइस् ठिकै भयो, तेरो स्वामी महादेवलाई नबोलाएकै हो किन भने देहमा खरानी घसि बाघको छाला बेर्ने, सर्पको माला लगाइ मनपरी नाच्ने, मुण्डमाला पहिरी भुत-प्रेत अघि-पछि लगाइ हिड्ने, हेर्दै मतवाला, यस्तालाई यो अनेक साज सज्जा र शृङ्गारले परिपूर्ण देवी-देवता, ब्रम्हा, विष्णु आदिको सभामा बस्न कसरी सुहाउला र फेरि महादेव बिना हजुरको यज्ञ कसरी पूर्ण होला भनिस् , यज्ञको फल दिने भगवान् विष्णु हुन् , त्यो महादेव कहाँको देवता हो र! भनि यस्ता प्रकारले निन्दा गरे। आफ्ना पिताबाट स्वामीको यस्तो निन्दा सुनेर सहन नसकि मनै-मन स्वामीलाई सम्झि शिव-शिव भन्दै सतीदेविले यज्ञकुण्डमा प्रवेश गरि देह त्याग गरिन्। महादेवको भयले अग्निले सतीदेवीको शरीर डढाउन भने सकेनन्।

हे मुनि! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर त्यहाँ उपस्थित सम्पूर्ण हाहाकार गर्न लागे। अकस्मात् आँधी चलेर धुलो उडि सारा आकास ढाक्यो। कति रुन-कराउन लागे, कति दगुर्न लागे, कतिको दगुर्दा लडेर हात-खुट्टा भाँचियो। त्यसैबेला त्यहाँबाट अन्तर्ध्यान भइ कैलास पुगेर नारदले डराइ-डराइ महादेवलाई सम्पूर्ण वृतान्त सुनाए। महादेवले ध्यानदृस्टिले हेर्दा नारदले भनेको सत्य हो भन्ने थाहा पाएपछि क्रोधले आँखा राता पार्दै, तिनै नेत्रबाट अग्निका ज्वाला निकालि, दाह्रा किटि, तेत्तिसकोटी देवताले रक्षा गरिएको पापिष्ठ दक्षको विनाश नगरि छाड्दिन भनि शिखाबाट दुइवटा जटा तानि भूमिमा पछार्नु भयो। त्यसबाट चर्को स्वरमा गर्जन गर्दै, पृथ्वी कम्पायमान पार्दै भयङ्कर रूपका महाकाली र वीरभद्र प्रकट भए। महादेवले रिसले आँखा राता पार्दै, हे वीरभद्र! हे महाकाली! जाउ र गएर पापिष्ठ दक्ष र त्यसका हितैषीहरू समेतलाई संहार गरि आउ भनि पठाउनु भयो।

महादेवको आज्ञा पाएर वीरभद्र र महाकाली, नन्दी-भृङ्गी, चौषट्ठी योगिनी, भुत-प्रेत समेतलाई अघि-पछि लगाइ, चर्को स्वरमा गर्जना गर्दै, दक्षको संहार गर्न भनि यज्ञस्थलमा पुगे। यज्ञस्थलमा पुगेर वीरभद्र र महाकालीले पापिष्ठ दक्षलाई नमारी छोड्नेछैनौं भनि विध्वंश गर्न लागेको देखि दक्षको रक्षार्थ देवता, यक्ष, गन्धर्व आदिले शस्त्र-अस्त्र लिई शिवगण माथि जाइलागे। वीरभद्र र महाकालीले हात्तीले कमलको फूल कुल्चे झैं सबैलाई कुल्चि, समातेर निमोठी, हात-खुट्टा भाँचिदिए। सबैजना रोइ-कराइ त्राहि त्राहि भन्दै विष्णुको शरणमा पुगे। तब भगवान् विष्णुले अनेक प्रकारले वीरभद्र र महाकाली सङ्ग युद्ध गर्नुभयो तथापि हार-जित हुन सकेन । वीरभद्र र महाकालीका शस्त्रहरूको प्रहारले रक्ताम्य र थकित भएका विष्णुले, क्रोधले आँखा राता-राता पार्दै, हे पापिष्ठ वीरभद्र आज तँलाई नमारी छाड्दिन भनि सुदर्शन चक्र प्रहार गरे। तब वीरभद्रले पनि हे पापिष्ठ विष्णु! लौ तेरो पराक्रमको स्वरूप सुदर्शन चक्रको शक्ति हेरुँ भनि मुख 'आँ' गरेर चक्र निल्न लागे। त्यो देखि चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र फिर्ता तानी अन्तर्ध्यान भई वैकुण्ठमा गए।

स्वयं विष्णु नै युद्ध छोडेर भाग्नुभए पछि उपस्थित सबैमा हाहाकार मच्चियो। वीरभद्रले दक्षप्रजापतिलाई समाति, तैंले अनेक प्रकारले महादेवको निन्दा गर्नाले सहन नसकी देवी सतीले यज्ञकुण्डको अग्निमा प्रवेश गरि प्राण त्याग गरिन् ; अब तेरो शिर पनि यसै कुण्डमा होम्न पाए हामीलाई सन्तोष हुनेछ भनि दक्षको शिर छेदन गरि अग्निकुण्डमा होमिदिए।

आफ्ना पतिको यस्तो अवस्था देखेर विरणीले विलाप गर्दै मुर्छा परिन् र फेरि चेष्टा आएपछि वीरभद्र र महाकालीसङ्ग बिन्ती गर्दै भनिन् - हे प्रभु! मेरा पति मूर्ख र अभिमानी भएर महादेवको निन्दा गर्नाले आज यो अवस्था भयो। त्यस्ता मूढको नाश गरी हजुरको के कीर्ति होला? त्यसैले म माथि कृपा गरेर मेरा पतिलाई जीवन दान दिनुहोस्। यसरी विरणीले विलाप गर्दै अनेक प्रकारले बिन्ती गरेको देखी वीरभद्रको मनमा करुणा उत्पन्न भयो र एउटा बोकाको शिर छेदन गरी ल्याएर पछिल्तिर मुख फर्काई जोडी दक्ष प्रजापतिलाई जीवित गराए।

यतीगरी वीरभद्र र महाकालीले कैलास पर्वत पुगी सम्पूर्ण वृतान्त महादेवलाई सुनाए। महादेवले धन्य वीरभद्र! धन्य महाकाली! भनि दुवैलाई आफूमा लिन गर्नुभयो। त्यसपछि सतीदेवीलाई सम्झी दक्षको यज्ञकुण्डमा पुगी हेर्दा सतीदेवीको शरीरलाई देखेर, हा सती! मलाई एक्लो छोडेर, कैलास शुन्य पारेर कहाँ गयौ? मैले यज्ञमा नजाउ भनि भन्दा पनि तिमी हठ गरेर आयौ, आज मेरो यो स्थिति भयो, अब म यो संसारमा बाँच्नु पनि व्यर्थ भयो भनि अनेक प्रकारले विलाप गर्दै, मृत सतीदेवीलाई कहिले काखमा लिँदै, कहिले अङ्कमाल गर्दै शोक गर्न लागे। फेरि एकछिन पछि सतीदेवीको मृत शरीर पिठिउँमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गर्दै हिंडे। महादेवले पिठिउँमा बोकेको हुनाले सतीदेवीको शरीर गल्न र दुर्गन्धित हुन सकेन।

॥ ॥ ॥ इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां व्रतकथायां सतीदेवीदेहत्यागदक्षयज्ञविध्वंशवर्णनं नाम षष्ठोऽध्यायः ॥ ६ ॥

Comments