चतुर्थोऽध्यायः (अध्याय ४)

श्रीगणेशाय नमः ।। श्रीसद्गुरुभगवतः चरणकमलेभ्यो नमः ।। श्रीस्वस्थानीदेव्यै नमः ।। श्रीशिवाय नमः ।। श्रीअधिष्ठातृधार्यिनाधिसयनीदेव्यै नमः ।।

अथ चतुर्थोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! सृष्टिको आरम्भमा सृष्टिकर्ता श्री ब्रह्माजीले लोकविस्तार, प्रजापालन र प्राणी सभ्यताको विकाश एवं उचित हेरचाहको लागि आफ्नो संकल्पबाट केही मानस पुत्रहरूको उत्पत्ति गर्नुभयो जसलाई प्रजापति भनिन्छ। प्रजापतिहरूमा प्रमुख थिए दक्ष प्रजापति। ब्रह्माजीले दक्षलाई प्रजाको रक्षा, वैवाहिक-कर्म, कुलपरम्परा र सामाजिक मर्यादाको स्थापना गर्ने दायित्व प्रदान गर्नुभयो।

हे अगस्त्य मुनि! प्रजापति भन्नाले कुनै एक देहधारी व्यक्ति मात्र बुझ्नु हुँदैन। प्रजापति भनेको सृष्टिको एक शाश्वत पद हो जो प्रत्येक कल्प र मन्वन्तरमा आवश्यकता अनुसार प्रकट हुन सक्छन्। त्यसैले दक्ष प्रजापति पनि विभिन्न कल्पहरूमा विभिन्न रूपमा अवतरित भएको उल्लेख पुराणहरूमा पाइन्छ। कतै उहाँ ब्रह्माका मानसपुत्रका रूपमा वर्णित हुनुहुन्छ, कतै मरिचि ऋषिको वंशमा प्रकट हुनुहुन्छ, र कतै स्वयम्भूव रूपमा देखिनुहुन्छ। यी सबै वर्णनहरू परस्पर विरोधी होइनन्। केवल समयचक्र अनुसार हुन जाने भेद मात्र हुन्।

स्कन्दकुमारको यस्तो वचन सुनेपछि अगस्त्य मुनि प्रश्न गर्नुहुन्छ, हे कुमार! दक्षप्रजापतिकी छोरी सतीदेवीको भगवान् महादेव सङ्ग विवाह कसरी भयो र कस्तो कारणले उहाँको मृत्यु भयो, यो कथा सुन्ने इच्छा छ। कृपा गरेर यी सबै विस्तारले आज्ञा हवस् भन्दा मुनिको यस्तो इच्छा जानी प्रसन्न भएका कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! दक्षप्रजापति ki विरिणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। विरणी गर्भिणी भईन् र दश मास पूर्ण भएपछि पुत्री जन्मिइन्। कस्ती कन्या भने—हजार सूर्यको जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्ता नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सूँड जस्ता हात भएकी, कदलीस्तम्भ जस्ता तिघ्रा भएकी, चन्द्रमाको जस्तो उज्ज्वल र शान्त मुख भएकी—यस्ती परम सुन्दरी कन्या जन्मेको देखी दक्षप्रजापतिले आनन्द मानी आफ्ना गुरु, पुरोहित, वसिष्ठ आदि ज्योतिषिहरूलाई डाकी विधिपूर्वक न्वारान गराए।

सबै ऋषि ज्योतिषिहरूले गणना गरेर भने, हे दक्षप्रजापति! यस बालिकाको नाम सतीदेवी भयो। यी बालिका यही नामले तीनै भुवनमा प्रसिद्ध हुनेछिन्। दक्षप्रजापतिले सबै ऋषिहरूलाई भोजन गराई दक्षिणा दिइ विदा गरे। सबै जना आफ्ना–आफ्ना आश्रममा गए।

हे मुनि! सतीदेवी पछि विरणीका गर्भबाट तेत्तिस कोटी कन्याहरूको जन्म भयो। सबैलाई दक्षप्रजापतिले यथायोग्य रूपमा पालन गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार! ती कन्याहरूको विवाह तेत्तिस कोटी देवताहरूसङ्ग कसरी भयो? त्यो पनि सुन्न इच्छा छ।
यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दश दिक्पाल जम्मा भई सभा गरे र भने, हाम्रा स्त्री छैनन्। दक्षप्रजापतिका तेत्तिस कोटी कन्याहरू छन्। ती कन्याहरू सङ्ग हाम्रो विवाह जुराउनको लागि कन्या माँग्न कसलाई पठाउने भनि विचार गर्दा, सबै कुरा मिलाएर बुझाएर भन्न सक्ने नारदजी नै हुन् भनि नारदजीलाई डाकि पठाए।

नारादजी आउनुभयो र देवताहरूका सबै कुरा बुझि दक्षप्रजापतिकहाँ कन्या माग्न भनि जानुभयो। दक्षप्रजापतिले उचित सत्कार गरि, के कामले पाल्नुभयो, भनि सोधे।
नारदजीले देवताहरूले पठाएको कुरा सुनाउँदै भने, हे दक्ष! तिम्रा तेतीस कोटि कन्या तेतीस कोटि देवतालाई देऊ। नारदजीको यस्तो कुरा सुनि दक्षप्रजापतिले प्रसन्न भइ भने— हे नारद! तिमीले उत्तम कुरा भन्यौ। म धन्य भएँ। मेरा तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवतालाई विधिपूर्वक दिनेछु। तर सतीदेवी भने दिनेछैन। किनकि मेरा पुत्र छैनन्, सम्पत्तिको रक्षा कसले गर्ला? अरू सबै कन्या तिमी जस–जसलाई दिन भन्छौ उसै–उसैलाई दिनेछु। अब यहाँबाट गइ विवाहको दिन ठहराइ पठाउ।

नारदजी दक्षप्रजापतिसङ्ग बिदा मागी देवसभामा जानुभयो र सम्पूर्ण वृतान्त सुनाउनुभयो। देवताहरूले “धन्य नारद मुनि" भनी प्रशंसा गर्दै विवाहको दिन ठहराइ पठाए। त्यसपछि विवाहको सामग्री तयार गरि देवताहरू कन्यादान लिन भनि दक्षको घर पुगे। दक्ष प्रजापतिले देवताहरू आएको देखि आनन्द मानि मङ्गलयात्रा गर्दै तेत्तिसकोटी कन्या, नारदजीको आज्ञा अनुसार, तेत्तिसकोटी देवतालाई विधिपूर्वक विवाह गरि दिए। देवताहरू कन्यादान पाइ हर्षपूर्वक आ-आफ्नो स्त्री लिएर आ-आफ्नो आश्रममा गए।

यो वृत्तान्त कैलास पर्वतमा रहेका शिवजीले थाहा पाएर-देवताहरूले मलाई एक वचन पनि नसोधि आफू-आफूले कन्यादान लिएछन् , कैलासको स्वामी भएर पनि मेरा स्त्री छैनन् , अब मलाई कसले कन्यादेला-भनि ध्यानदृस्टीले हेर्दा दक्षका तेत्तिसकोटी कन्या मध्य जेठी सतीदेवी बाँकी रहेको थाहा पाइ, देवताहरूले मेरो मर्यादा राखेका रहेछन् भनि सोंचे।

तब भगवान् महादेव सतीदेवीको हात माग्न भनि स्वयम् दक्षप्रजापतिको भवनतर्फ जानुभयो। दक्षप्रजापतिले आफ्नो भवनको कौसीबाट तलतिर दृष्टि गर्दा महादेवलाई आउँदै गरेको देखि कठोर वाणीमा भन्नुभयो— हे महादेव! यहाँ किन आयौ? तिमीलाई यहाँ कसले बोलायो?”
महादेवले भन्नुभयो, हे दक्ष! तिम्रो कृपाले तेत्तिस कोटी देवताले तेत्तिस कोटी कन्या प्राप्त गरे। म पनि अविवाहित नै छु। आज म तिम्री पुत्री सतीदेवीको हात माग्न आएको छु। कृपा गरेर तिम्री छोरी सतीदेवी मलाई देउ।

महादेवको यस्तो वचन सुनि दक्षप्रजापति अत्यन्त क्रुद्ध भए। अहंकारले आवृत भएर उनले महादेवलाई अनेक प्रकारले निन्दा गर्दै भने, हे पापिष्ठ महादेव! मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? तँ कस्तो भने मशानको खरानी घस्ने, सर्पको गहना लगाउने, बाघको छाला ओढेर डमरु-त्रिशूल लिइ, बूढो साँढेमा चढेर हिंड्ने, विष-भाङ-धतुरो खाइ भूत-प्रेत नचाइ मशानमा बस्ने, दिगम्बर, देख्दैमा पनि घिन लाग्ने, यस्तो तैंले मेरै मुख्याञ्जी आइ यस्तो अयोग्य कुरा गरिस्। मेरो घरमा नबस् भनि पाखुरामा समाती धपाए। दक्षका ती क्षुद्र वचनले महादेव अत्यन्त दुःखी हुनुभयो। नदिने भए दिन्न भने भैगो, किन यसरी वचन लगाउनु पर्थ्यो, भनि अब कहाँ जाऊँ? के गरूँ? ती कन्या कसले मलाई पारिदेला ? भन्ने तर्क-वितर्क गर्दै वैकुण्ठधाममा पुगेर सम्पूर्ण वृत्तान्त भगवान् विष्णु समक्ष निवेदन गर्नुभयो।

महादेवको वचन सुनी विष्णुले, हे ईश्वर! यो काम म पार लगाउँला, चिन्ता गर्नु पर्दैन भनि दक्षको घर जानुभयो। दक्षले विष्णु आएको देखि आदरपुर्वक बसालि, हे विष्णु! आज मेरो घर किन पवित्र पार्नुभयो? आज्ञा हवस् भनि सोधेपछि विष्णुले आज्ञा गर्नुभयो- हे दक्षप्रजापति! केही माँग्न आएको हुँ, दिने भए मात्र माँग्दछु। त्यति सुन्नासाथ दक्षले भने, हे विष्णु! तिमीले माँगेपछि जे वस्तु भए पनि दिनेछु। के चाहियो, आज्ञा गर। तब विष्णुले भन्नुभयो, हे दक्षप्रजापति! म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले तेत्तीस कोटी देवताले कन्यादान पाए। अब सतीदेवी छिन् , ती मलाई कृपा गर। विष्णुको यस्तो वचन सुनि दक्षले चिन्तित हुँदै भने- हे विष्णु! मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको, दिनु त उचित थिएन, तर वाचा गरेको हुनाले दिन कर लाग्यो, ती कन्या तिमीलाई दिनेछु, सुदिन ठहराइ आउ।

दक्षको यति वचन सुनेपछी भगवान् विष्णु हुन्छ भनि बैकुण्ठ जानुभयो। विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु! तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर! म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी माँगेर आएको छु। तपाईँ वृद्ध संन्यासीको रूप धारण गरि कन्यादान दिने ठाउँमा आइ भिक्षा माँग्नू र मलाई भिक्षा नदिइ कन्यादान दिए लिने-दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म "हे संन्यासी! मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु नसराप, बरु यहाँ आएर बस" भनि आफू बसेकै छेउमा बसालिराख्नेछु र दक्षले कन्यादान दिंदा उसका आँखा छलि सतीदेवीको हात तपाईँको हातमा पारिदिनेछु। तपाईँ दक्षप्रजापतिकहाँ यस दिन यस बेला आउनुहोला भनि दक्षसङ्ग भएका सम्पूर्ण कुरा एक-एक गर्दै सुनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएका महादेव गद्गद चित्तले कैलासमा जानुभयो।

कुमारजी आज्ञा गर्नुहुन्छ,हे अगस्त्य मुनि! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराइ अन्य विधान पुरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव भने योगसमाधिमा भएकोले दक्षको घर जान बिर्सनुभयो। भगवान् विष्णुलाई भने अझसम्म महादेव आउनु भएन कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापु भने महादेवलाई हुँदैन अब के गरु, भन्ने पीर पर्‍यो। उता महादेव योगसमाधिबाट उठ्नुभयो र झसंग भइ कन्यादान दिने आजै पो हो, विष्णु पुगिसके होलान् भनि तत्काल वृद्ध सन्यासीको रुप धारण गरी दक्षको घर पुगि भिक्षा माग्नु भयो - हे विष्णु! म धेरै परबाट आएको हुँ र मलाई भोक लागिरहेको छ। पहिले मलाई भिक्षा देउ। भिक्षा नदिकन कन्यादान लिएमा दिने-लिने दुवैलाई श्राप दिनेछु।

तब भगवान् विष्णुले हे भिक्षुक! यतिबेला मेरो लग्न बित्न लाग्यो, कन्यादान भएपछि भिक्षा दिउँला, अहिले मेरो समीप आएर बस भनि भिक्षुरूपी महादेवलाई आफू बसेकै छेउमा बसाल्नुभयो। विरणीले सुनको कमण्डलुले धारा दिइ दक्षप्रजापतिले सतीदेवीको हात समाति विष्णुको हातमा सुम्पन लागेको बेलामा विष्णुले आफ्नो मायाले ढाकेर दक्ष-दम्पतिको आँखा छलि सतीदेवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिनु भयो। त्यो देखेर दक्षले अत्यन्त दुःखी भइ विष्णुको मुखमा हेरि भने, हे विष्णु! तिमी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री एक सन्यासीको हातमा पर्न गइन्। तब भगवान् विष्णु सन्यासीरूपी महादेवलाई जान्छु भनि, अरु केही नबोली, अन्तर्ध्यान भएर वैकुण्ठमा जानुभयो।

त्यसपछि दक्षले आफ्नी छोरीलाई सम्झाउँदै भने, हे छोरी! पापिष्ठ विष्णुको छलमा परेर वृद्ध सन्यासी पति पायौ। चिन्ता नगर, तिम्रालागि हामी छौं। अहिले यिनै सङ्ग जाउ। पिताको यस्तो वचन सुनेर आफ्नी बहिनीहरूले देवता पति पाएको सम्झि मनमा विषाद गरि रुन लागिन्। फेरि - विधाताले मेरो भाग्यमा यस्तै लेखेको रहेछ, अब रोएर केही हुँदैन। जे-जस्तो भए पनि मेरा बाबा-महतारीले दिएको मेरा पति यिनै हुन् - भनि अनेक प्रकारले चित्त बुझाउँदै आफ्ना माता-पिता सङ्ग विदा मागेर सतीदेवी, सन्यासीरूपी महादेवसङ्ग गइन्।

बाटोमा उनिहरू अनेक कुरा गर्दै, विश्राम गर्दै गए। सन्यासी रूपी महादेवले हे प्रिया! तिमी घर बाट कहिल्यै बाहिर ननिस्किएकी, सुखमा पालिएकी, तिमीलाई परिश्रम होला, सुस्त सुस्त हिंड भनेर आज्ञा हुँदा सतीदेवी भन्छिन् हे पति! म त हिड्न सक्छु बरु हजुरको वृद्ध अवस्था छ, परिश्रम पर्ला सुस्तरी हिंड्नुहोस्। यस्तै कुरा गर्दै जाँदा कैलासको टाकुरामा पुगेपछि महादेवले आफ्नो शक्तिद्वारा एउटा खरको झुपडी उत्पन्न गर्नुभयो र हे प्रिया! यही हो हाम्रो घर, भित्र गएर जे-जसो छ खाउ, मलाई थकाइ लागेको छ यहीँ विश्राम गर्छु भनि पिँढीमा सुत्नुभयो।

सतीदेवीले खरको झुपडी भित्र पसेर हेर्दा सर्वत्र माकुराको जालो र फोहोर मात्र देखि मनमा विषाद गरि आँखाबाट आँसुका धारा बगाइन्। आफ्ना पिताको सम्पूर्ण सुख-सुविधाले भरिपुर्ण भवन सम्झँदै दुःखी भइन्। फेरी मेरो कर्मले यस्तै पारिल्यायो, मेरो भाग्यमा यही लेखेको रहेछ, अब रोएर के गर्नु भनि, चित्त बुझाइ पछ्यौराले आँसु पुछि कुचोले माकुराको जालो फालि राम्ररी बढारेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खान के दिने भनेर भण्डारमा हेर्दा त्यहाँ केही फेला नपरेपछि मनमा विषाद गरि महादेव सुतेको स्थानमा गइ खुट्टामनि बसिरहिन्। चार दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरी— हे पापिनी स्त्री! मलाई बाहिर एक्लै सुताइ आफू भित्र सुतिस् , केही खाइस् कि खाएकी छैनस्। यस्ता प्रकारले आफ्ना स्वामी रिसाउन लागेको देखी, हँसिलो मुख गरि स्वामीको सतीदेवी ले भनिन् हे स्वामी! हजुरलाई गहिरो निद्रा परेको देखी जागा गराउन सकिनँ र म सुतेकी पनि छैन। मैले त भण्डारमा जे भएको खाइसकें। अब हजुर के खानुहुन्छ?

सतीदेवीको यस्तो वचन सुनि महादेवलाई अत्यन्त करुणा जागेर आयो अनि त्यहाँ के थियो र के खाइहोलिन् भनि विचार गरि- हे प्रिय! हाम्रो घर यो होइन, यो खरको भित्ता च्यातेर हेर भन्दा सतीदेवी भन्दछिन्— हे स्वामी! भएको घर नाशी नभएको घर कहाँ हेर्न जानु। फेरि बनाउँ भने हजुर वृद्ध, म नारी जाति, कसले बनाइदेला?
सतीदेवीको यस्तो वचन सुनी महादेव जुरुक्क उठेर खरको भित्तामा लात्तीले हानि उज्ज्वल कैलासको दर्शन गराइदिनुभयो। अनेक मणि–माणिक्य जडेको, सुनै-सुनले बनेको त्यस्तो दिव्य महल देखेर सतीदेवीले, मेरा पिता दक्षप्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला, भनि विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा डाकेर लगेर, हे स्त्री! यहाँ माझमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेउ, भने। सतीदेवीले तत्काल आज्ञा पालन गरिन्। महादेवले त्यो लिपेको स्थानमा बसि निर्मल स्फटिकको जस्तो विश्वेश्वर रूपको दर्शन दिनुभयो। तब सतीदेवीले मनमा आनन्द मानि हर्षका आँसु बगाइ, म धन्य रहेछु, जगदीश्वर महादेव स्वामी पाएँ भनि महादेवलाई फूलको माला पहिराइ, तीनपल्ट प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवत गरिन्। त्यसपछि ती दुवै शिव–शक्ति स्वरूपले रहँदा भए।

॥ ॥ इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां ब्रतकथायां सतीदेवीविवाहवर्णनं नाम चतुर्थोऽध्यायः ॥ ४ ॥

Comments