पञ्चमोऽध्यायः (अध्याय ५)

श्रीगणेशाय नमः ।। श्रीसद्गुरुभगवतः चरणकमलेभ्यो नमः ।। श्रीस्वस्थानीदेव्यै नमः ।। श्रीशिवाय नमः ।। श्रीअधिष्ठातृधार्यिनाधिसयनीदेव्यै नमः ।।

अथ पञ्चमोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! पूर्वकालमा भगवान् विष्णुद्वारा हिरण्याक्षको वध पश्चात् लामो समयसम्म दानवहरू कमजोर र दुःखी भए। तब एकदिन दितिवंशमा उत्पन्न भएका मय दानवले, तारकाक्ष र विद्युत्प्रभ नाम गरेका दानवहरूलाई साथमा लिएर, देवता, ऋषि र त्रैलोक्यलाई अधीनमा पार्ने अभिलाषाले हिमालयमा गइ कठोर तपस्या गरे। तिनीहरूको तपस्याबाट त्रैलोक्य नै कम्पित हुन थाल्यो। अन्ततः सृष्टिकर्ता ब्रह्माजी प्रसन्न भई प्रकट हुनुभयो र वर माग्न आदेश दिनुभयो।

तब ती तीनै दानवले हात जोडेर भने, हे पितामह! हामीलाई अमरत्वको वर दिनुहोस् , देवता-दानव तथा मानव कसैले पनि हामीलाई मार्न नसकुन्।
दानवहरूका यस्ता वचन सुनेर श्री ब्रम्हाजीले, हे दानव विरहरू हो! अमरत्वको वरदान दिन म असमर्थ छु, मृत्युको अवकाश राखेर जे वर मागे पनि म दिनेछु, भन्नुहुँदा दानवहरू भन्छन् हे पितामह! हामी तिन वटा अत्यन्त सुन्दर एवं विशाल दिव्य पुरहरूको निर्माण गर्नेछौं जुन निरन्तर आकाशमा घुम्नेछन्। जब हजार वर्षमा एकपटक एक क्षणको लागि मात्र ती तीनै नगर एकै रेखामा आउनेछन्, त्यही क्षणमा जसले एकै वाणले त्रिपुरदाह गर्ला उसैबाट मात्र हाम्रो मृत्यु सम्भव होला। ब्रम्हाजीले तथास्तु भनि वर दिनुभयो।

ब्रह्माजीको वर प्राप्त गरेपछि ती तीनै दानव अत्यन्त गर्वित भए। मायावी शक्तिका महान ज्ञाता मय दानवले तीनवटा अद्भुत नगरको निर्माण गरे जसमध्य एउटा सुनै-सुनले बनेको स्वर्णपुर आफैले राखे, दोस्रो चाँदीले बनेको कान्तिपुर विद्युतप्रभलाई दिए, र तेस्रो फलामले बनेको लौहपुर ताराकाक्षलाई दिए। तिन पुरका अधिपति भएकाले नै ती तीन दानवहरूलाई त्रिपुरासुर भनियो। ती नगरहरू कस्ता भने - अग्ला अग्ला घरहरू भएका जसमा अनेक रत्नहरू जडिएका, ठाउँ-ठाउँमा सुनले मढिएका, काठका सुन्दर आँखीझ्यालहरू राखिएका, आँगनहरूमा राम्रा-राम्रा शिलाहरू छापिएका, फेरि ठाउँ-ठाउँमा हावाको वेगसङ्गै हल्लिरहने अग्ला-अग्ला पताकाहरूले शोभायमान भएका, यस्ता ती रत्नहरूकै थुप्रो जस्तो भान हुने पङ्क्तिबद्ध घरहरू; फराकिला र सिँगारिएका मार्गहरू भएका, सबै ऋतुहरूमा फूल्ने जात-जातका उत्तम फूलहरू र फलका वृक्षहरूले भरिइरहने अनेक उद्यानहरू भएका, हरेक प्रकारका सुख-सुविधाले परिपूर्ण, अत्यन्त रमणीय, उज्याला र आकाशमा चलायमान यस्ता ती पुरहरू थिए।

हे मुनि! त्रिपुरासुरहरूले आफ्ना सम्पूर्ण शत्रुहरू लाई परास्त गरेर आफ्ना हितैषी असुरहरू र भृत्यवर्गहरूलाई मात्र नगरमा राखि, आफ्ना-आफ्ना सुन्दरी स्त्रीहरूसङ्ग बसि अनेक प्रकारको सुख भोग गर्न थाले। उनिहरूले देवता, ऋषि र मानवहरूलाई अत्यन्त दुःख दिन थाले। पृथ्वीमा यज्ञहरू नष्ट गर्न थाले, तपोवन उजाड्न थाले। देवताहरूलाई पनि अमरावतीबाट निकालि, त्यहाँका सबै सुन्दर उद्यानहरू नष्ट गरे। यसप्रकारले सारा त्रिलोकमा भय फैलियो। पीडित देवताहरू ब्रह्माजी र विष्णुजी हुँदै अन्ततः महादेवको शरणमा पुगे।

देवताहरूको करुण विलाप सुनी महादेवले त्रिपुरासुर विनाश गर्ने प्रतिज्ञा गर्नुभयो। विश्वकर्माले दिव्य रथ निर्माण गरे। पृथ्वी रथ बनिन्, सूर्य र चन्द्रमा चक्र भए, चार वेदहरू चार अश्व बने, मेरु पर्वत धनुष भयो र भगवान् विष्णु स्वयं बाण स्वरूप हुनुभयो। सारथि स्वयं ब्रम्हाजी बने। नारद मुनिले गएर त्रिपुरासुरहरूलाई युद्धको सुचना दिनुभयो। सम्पूर्ण दानवहरू पनि युद्धको लागि सज्जिभुत भए। युद्ध आरम्भ भयो , दुवै पक्षबिच भयानक युद्ध भयो। ऊ भन्दा ऊ बलियो र ऊ भन्दा ऊ कुशल योद्धा , कहिले दानव पक्षले देवताहरूलाई र्‍याखर्‍याखी पारे भने, कहिले देवताहरूले दानवहरूलाई त्राही त्राही पारे। यस्ता प्रकारले धेरै वर्ष युद्ध हुँदा हजार वर्षको एक चक्र पूर्ण गरि त्रिपुर केवल एक निमेष मात्रको लागि एकै रेखामा आयो। त्यही बेला श्री महादेवले एक मात्र दिव्य बाण प्रहार गर्नुभयो। त्यस बाणको तेजले स्वर्ण, रजत र लौह तीनै नगर एकै क्षणमा भस्म भए। मय दानव शिवभक्त भएकाले महादेवको आज्ञाले अग्निले उनलाई हानि गरेनन्। मय दानव त्यहाँबाट पाताल लोक गए। बाँकी सबै त्रिपुर सङ्गै भष्म भए। देवताहरूले महादेवको जय-जयकार गरे।

॥ ॥ इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां ब्रतकथायां त्रिपुरदाहवर्णनं नाम पञ्चमोऽध्यायः ॥ ५ ॥

Comments