द्वितीयोऽध्यायः (अध्याय २)
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! ब्रह्माजीको आयु एक सय वर्षको मानिन्छ। यो आयु दुई भागमा विभक्त गरिएको हुन्छ - पहिलो परार्ध र दोस्रो परार्ध। यी दुई परार्धमध्य पहिलो परार्धको समय पूर्ण रूपमा समाप्त भइसकेको छ र अहिले ब्रह्माजीको जीवनको दोस्रो परार्ध चलिरहेको छ। यस प्रकार ब्रह्माण्डीय समयचक्र निरन्तर अगाडि बढिरहेको छ र सृष्टि, स्थिति तथा प्रलय क्रमशः सञ्चालन भइरहेका छन्।
ब्रह्माजीको जीवनको पहिलो परार्धको आरम्भमा ब्राह्मकल्प नामक एक कल्प भयो। यही कल्पमा सृष्टिकर्ता ब्रह्माजी स्वयं प्रकट हुनुभयो। ब्रह्माजीको प्राकट्यसङ्गै वेदहरूको पनि उत्पत्ति भयो। यस कारण वेदहरूलाई अपौरुषेय मानिन्छ, किनकि तिनीहरू कुनै मानवद्वारा रचिएका होइनन्। सृष्टिको आरम्भसङ्गै स्वयं प्रकट भएका दिव्य ज्ञानस्वरूप हुन्।
अघि पहिलो परार्धको अन्तिम कल्पमा भगवान् विष्णुको नाभिबाट दिव्य कमलको उत्पत्ति भयो र त्यसै कमलको फुलमाथि बसेर श्री ब्रम्हाजीले सृष्टि गर्नुभयो। तसर्थ त्यो कल्पलाई पाद्मकल्प भनिन्छ।
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! ब्रह्माजीको जीवनको दोस्रो परार्धको पहिलो कल्पलाई श्वेत-वराह कल्प भनिन्छ। अहिले चलिरहेको कल्प पनि यही हो। यसै कल्पमा भगवान् स्वयं वराह अवतारका रूपमा प्रकट भएर पृथ्वीको उद्धार गर्नुभयो।
कुमार स्कन्दको यस्तो वचन सुनेपछि अगस्त्य मुनिले कल्पहरूको बिषयमा अझै जिज्ञासा प्रकट गर्दै भन्नुभयो, हे देवताहरूका सेनापति तेजस्वि कुमार! अघि पाद्मकल्पमा के-के भयो र वर्तमान कल्पमा कसरी भगवान् वराहले पृथ्वीको उद्धार गर्नुभयो? विस्तारमा सुनाउनुहोस्।
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! अघि पाद्मकल्पमा यो संसार जलमय छँदा भगवान् विष्णुका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यसै कमल माथि बसेर श्री ब्रम्हाजीले सृष्टि
गर्ने विचार गरे। त्यहीबेला भगवान् विष्णुको कानेगुजीबाट मधु र कैटभ नामका दुई विर उत्पन्न भए। ती विरहरूले जलमय संसारमा कहाँ के छ भनि घुमि हेर्दा दिव्य सहस्रदल कमल देखि, कमलको डाँठ समातेर माथि गइ हेर्दा ब्रह्माजीलाई देखे र उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले, हे ईश्वरी! विष्णुलाई जागा गराइदिनुहोस् भने। योगमायाले ब्रह्माजीको कष्ट बुझि भगवान् विष्णुलाई जागा गराइदिइन्।
भगवान् जागा भएपछि ती मधु र कैटभलाई देखी तत्काल युद्ध गर्न अघि सरे। दिव्य पाँच हजार वर्षसम्म जलमा युद्ध भयो, तर कसैको पनि हार–जीत हुन सकेन। अनि विष्णुले भने, हे विरहरू हो! तिमीहरू पराक्रमी रहेछौ, म प्रसन्न भएँ, इच्छा भएको वर माग। भगवान् विष्णुको यस्तो कुरा सुनेर अहंकारले मत्त भएका मधु र कैटभले भने, हे विष्णु! यस युद्धमा हामीले जित्यौं, तिम्रो हार भयो। तिमी हार्नेले के दिन सक्दछौ?
बरु तिमीलाई इच्छा लागेको वर हामीसङ्ग माग।
मधु र कैटभको यस्तो अभिमानपूर्ण कुरा सुनी विष्णुले भन्नुभयो, पहिले वाचा गर अनि म वर माग्दछु। तब मधु-कैटभले भने, हे विष्णु! तिमीले जे मागे पनि अवश्य दिन्छौं, यो वाचा भयो। विष्णु भगवान्ले उनिहरूलाई वाचा गराइसकेपछि भन्नुभयो, हे विरहरू हो! अरु त के वर मागौं, तिमी दुवैलाई म मार्न सकुँ, मेरो हातबाट मर।
विष्णुको यस्तो वचन सुनी मधु र कैटभले भने, हे विष्णु! तिमी छलि रहेछौ, कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामीले दिन्न भन्न मिल्दैन। लौ, वर दिन्छौं, तर हामीलाई हे विष्णु! जल नभएको स्थानमा मार।
मधु र कैटभका यस्ता कुरा सुनी, विष्णुले आफ्नो काखमा राखी दुवैजनालाई मारे। तिनै विरहरूको बोसो शीतकालमा तुषारोले पानी जमे झैं समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाड़ले पत्थर भयो । त्यो देखेर ब्रह्माले पृथ्वीमा अनेक प्राणीको सृष्टि आरम्भ गरे।
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! श्री ब्रम्हाजीले जलभित्रबाट प्राणीको सृष्टि आरम्भ गर्नुभयो। एक-कोषीय जीवबाट आरम्भ गरेर क्रमशः बहु-कोषीय जीव, जलचरबाट आरम्भ गरेर क्रमशः उभयचर-थलचर हुँदै खेचर प्राणीहरूको सृष्टि गर्नुभयो। यति गरिसक्दा पनि श्री ब्रम्हाजीलाई चित्त नबुझेपछि अन्त्यमा उहाँले मनुष्यको सृष्टि गर्नु भयो। पाद्मकल्पमा आएर ब्रम्हाण्डमा सम्पूर्ण प्राणीहरूको सृष्टि र स्थिति सबै भन्दा उत्तम र व्यवस्थित हुन गयो। समय चक्र निरन्तर घुमिरहन्छ, यो भौतिक संसारमा कहिल्यै पनि रोकिदैन। पाद्मकल्प पुरा भयो र श्री ब्रम्हाजी योगनिन्द्रामा सुत्नु भयो।
हे अगस्त्य मुनि! एक महाकल्पको दीर्घ रात्रि पश्चात् जब सृष्टिकर्ता श्री ब्रह्माजी आफ्नो योगनिद्राबाट उठ्नुभयो तब उहाँले चारैतिर दृष्टि घुमाउँदा सम्पूर्ण दिशामा केवल जलराशि मात्र देख्नुभयो। सम्पूर्ण त्रिलोक प्रलयपश्चात् जलमय भएको थियो। ब्रह्माजीले पूर्वसृष्टिको स्थूल आधार कहाँ गयो भनेर चिन्तन गर्दै ध्यानदृष्टिले अवलोकन गर्दा प्राणीहरूको आश्रय स्थल पृथ्वी रसातलको समुन्द्रमा डुबेको थाहा पाउनुभयो। पृथ्वीको यस्तो अवस्था देखेर ब्रह्माजी अत्यन्त व्याकुल हुनुभयो।
तत्क्षण उहाँ भगवान् नारायणको शरणमा पुग्नुभयो र मन, वचन तथा कर्मद्वारा स्तुति गर्न थाल्नुभयो। ब्रह्माजीको स्तुतिसङ्गै सम्पूर्ण दिशाहरू कम्पित भए र त्यही क्षण ब्रह्माजीको नासिकाबाट भगवान् विष्णु एक अद्भुत सूक्ष्म वराहरूपमा प्रकट हुनुभयो। त्यो श्वेतवर्णको वराह क्षणभरमै विशाल र तेजस्वी स्वरूपमा परिवर्तित भयो। भगवान् वराह गर्जना गर्दै प्रचण्ड वेगका साथ रसातलको जल समुन्द्रमा प्रवेश गर्नुभयो। उहाँको गर्जनले सम्पूर्ण दिशाहरू कम्पायमान भए, समुद्रहरू उर्लिए, र लोक–लोकान्तरसम्म ध्वनि गुञ्जियो। विशाल हात्तीले हिलोबाट कमलको फुल उठाए सरि रसातलको जलसागरमा डुबिरहेकी पृथ्वीलाई भगवान् वराहले आफ्नो तीक्ष्ण दारामा जुरुक्क उठाएर पूर्ववत् स्थानमा ल्याइ राखिदिनुभयो। पर्वत, नदी, समुन्द्र र दिशाहरू पुनः व्यवस्थित भए। देवता, ऋषि र सिद्धहरूले भगवान् वराहको स्तुति गरे। वेदध्वनि पुनः ब्रह्माण्डमा गुन्जायमान भयो। भगवान् विष्णुले श्वेत-वराहको रूपमा प्रकट भइ पृथ्वीको उद्धार गर्नु भएकोले यो वर्तमान कल्पको नाम श्वेतवाराह कल्प रहन गयो।
स्कन्दकुमारका यस्ता वचन सुनि अगस्त्य मुनि सोध्नुहुन्छ, हे कुमार! पाद्मकल्पमा आएर प्रथम पटक ब्रम्हाण्डमा सम्पूर्ण प्राणीहरूको सृष्टि र स्थिति सबै भन्दा उत्तम र व्यवस्थित भएको भन्नुभयो। फेरि श्वेतवाराहकल्पमा मानवआदि प्राणीहरूको सृष्टि कसरी भयो, कृपा गरेर विस्तारपुर्वक सुनाउनुहोस्। अगस्त्य मुनिका यस्ता वचन सुनि, कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! यसै कल्पको आरम्भमा सृष्टि–विस्तारका लागि ब्रम्हाजीबाट अनेक मानसपुत्रहरू उत्पन्न भए। यी पुत्रहरूलाई सामान्यतः प्रजापति वा महर्षिका रूपमा चिनिन्छ। ब्रह्माजीका प्रमुख मानसपुत्रहरूमध्य सनक, सनन्दन, सनातन र सनत्कुमार, यी चार कुमार अत्यन्त प्रसिद्ध छन्। उनीहरू ब्रह्मचर्यमा स्थिर रही ज्ञान र वैराग्यको प्रतीक बने। त्यसैगरी नारद ब्रह्माजीका अर्को अत्यन्त महत्त्वपूर्ण पुत्र हुन् जो देवर्षिका रूपमा लोक–लोकान्तरमा विष्णुभक्ति र नारायण–तत्त्वको प्रचार गर्दै हिंड्छन्।
सृष्टि–विस्तारकै क्रममा ब्रम्हाजीबाट - मरिचि, अत्रि, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, वसिष्ठ र दक्ष - यी प्रमुख पुत्रहरूको उत्पत्ति भयो। यी सबै महर्षिहरू प्रजापतिको रूपमा विभिन्न प्राणी, देवता, दानव, मानव तथा अन्य जीवसमूहका वंशप्रवर्तक बने। ब्रह्माजीका यी प्रमुख मानसपुत्र मध्य मरिचि ऋषिका पुत्र कश्यप ऋषि भए। कश्यप ऋषिका १. अदिति, २. दिति, ३. दनु, ४. कद्रू, ५. विनता, ६. प्राधा (मुन्यायनि), ७. बलिष्ठा (ताम्रा), ८. मनु, ९. कपिला, १०. कारा, ११. घोरा, १२. सिंहिका, १३. क्रोधा - आदि स्त्रीहरू छन्।
कश्यप ऋषिकी सबैभन्दा जेठी पत्नी अदितिबाट उत्पन्न सन्तानहरूलाई आदित्य भनिन्छ। यी नै देवताहरू हुन्। अदितिबाट १२ आदित्य उत्पन्न भए, जसमा प्रमुख रूपमा इन्द्र, वरुण, मित्र, अर्यमन्, पूषा, भग, विवस्वान (सूर्य) आदि पर्छन्। वर्तमान मन्वन्तरका देवताहरू अदितिपुत्र नै हुन्।
दिति कश्यपकी अर्की प्रमुख पत्नी हुन्। दितिबाट उत्पन्न सन्तानहरू दैत्य कहलाए। दितिका पुत्रहरूमा हिरण्यकशिपु र हिरण्याक्ष प्रमुख छन्। हिरण्यकशिपुबाट प्रह्लाद, विरोचन आदि वंश चले, जसले दैत्य परम्परालाई विस्तार गरे।
दनु बाट उत्पन्न सन्तानहरू दानव कहलाए। दनुपुत्रहरूमा विप्रचित्ति, शम्बर, मय दानव आदि प्रसिद्ध छन्।
सिंहिकाबाट सिंहवंशीय राक्षसहरूको जन्म भयो र क्रोधाबाट क्रोधी स्वभावका विभिन्न प्राणीहरूको जन्म भयो।
कद्रू बाट नागहरूको उत्पत्ति भयो। कद्रूपुत्रहरूमा वासुकि, शेष (अनन्त), तक्षक, कर्कोटक आदि प्रमुख नागराजहरू पर्दछन्।
विनताबाट गरुड र अरुण जन्मिए। गरुड विष्णुको वाहन बने भने अरुण सूर्यदेवका सारथी भए।
बलिष्ठाबाट सम्पाती, मयुर, कोकील, राजहंस जस्ता पक्षीहरू उत्पन्न भए।
प्राधाबाट उर्वशी आदि अप्सराहरूको उत्पत्ति भयो। कपिलाबाट कामधेनु, सिंह, बाघ, हात्ती, घोडा, मृग जस्ता प्राणीहरूको जन्म भयो।
कारा-घोराको गर्भबाट गन्धर्वहरूको उत्पत्ति भयो। मनुको गर्भबाट मानवहरूको जन्म भयो।
हे अगस्त्य मुनि! अब दिक्पालहरूको विषयमा भन्छु। दिक्पाल भन्नाले दिशाका पालक देवता हुन् जसलाई ब्रह्माण्डीय व्यवस्था, लोकको संरक्षण र दिशागत सन्तुलन कायम राख्न नियुक्त गरिएको हुन्छ। अघि कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गइ धेरै कालसम्म महादेवको तपस्या गरे। महादेव प्रसन्न भइ इन्द्रलाई अमरावतीको अधिपती र पुर्वदिशाको दिक्पाल बनाइ पठाए। फेरि वरुणले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ श्रद्धावतीको अधिपति र पश्चिम दिशाको दिक्पाल बनाइ पठाए। फेरि कुबेरले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ अलकापुरीको अधिपति र उत्तर दिशाको दिक्पाल बनाइ पठाए। फेरि यमले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ यमपुरीको अधिपति र दक्षिण दिशाको दिक्पाल बनाइ पठाए।
फेरि अग्निले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ शुद्धावतीको अधिपति र आग्नेय कोणको दिक्पाल बनाइ पठाए।
फेरि निर्ऋतिले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ कृष्णावतीको अधिपति र नैर्ऋत्य कोणको दिक्पाल बनाइ पठाए।
फेरि उनञ्चास वायुले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ उनञ्चासै जना एक हुन सकौ भनि वायव्य कोणको दिक्पाल बनाइ पठाए।
फेरि विश्वकर्माले हिमालयमा गइ, उसैगरी तपस्या गरे। महादेव प्रसन्न भइ यशोवतीको अधिपति र इशान कोणको दिक्पाल बनाइ पठाए।
॥ इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां ब्रतकथायां कल्पवर्णनं नाम द्वितीयोऽध्यायः ॥ २ ॥


Comments
Post a Comment