तृतीयोऽध्यायः (अध्याय ३)
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! पुराणहरूमा वर्णित पृथ्वीको स्वरूप अत्यन्त क्रमबद्ध र रहस्यमय छ। अत्यन्त विशिष्ट र सुव्यवस्थित सप्तद्वीप–सप्तसमुन्द्र व्यवस्था अन्तर्गत भूर्लोकको केन्द्रमा रहेको पृथ्वी सात द्वीप र सात समुन्द्रहरूले क्रमशः घेरिएको छ। भूर्लोकको केन्द्रभागमा जम्बूद्वीप अवस्थित छ जसको विस्तार एक लाख योजन छ। जम्बूद्वीपलाई चारैतिरबाट लवण समुद्रले घेरेको छ र त्यो समुद्रको विस्तार पनि १ लाख योजन नै छ। जम्बूद्विपको केन्द्रमा मेरु पर्वत अवस्थित छ।
हे मुनि! जम्बूद्वीपपछि बाहिरतर्फ क्रमशः अन्य छःवटा द्वीपहरू छन्। लवण समुद्र पार गरेपछि प्लक्षद्वीप आउँछ, जसलाई इक्षु अर्थात् ऊखुको रसको समुन्द्रले घेरेको छ। त्यसपछि शाल्मलीद्वीप आउँछ, जसलाई सुरा समुन्द्रले घेरेको छ। त्यसपछि कुशद्वीप आउँछ, जसलाई घृत समुन्द्रले घेरेको छ। त्यसपछि क्रौञ्चद्वीप आउँछ, जसलाई दधि समुन्द्रले घेरेको छ। त्यसपछि शाकद्वीप आउँछ, जसलाई क्षीर समुन्द्रले घेरेको छ। अन्त्यमा पुष्करद्वीप आउँछ, जसलाई मिठो जलको समुन्द्रले घेरेको छ। प्रत्येक द्वीप र त्यसलाई घेर्ने समुन्द्र अघिल्लो भन्दा ठिक दुई गुणा अधिक विस्तारका छन्। पुष्करद्वीपको बाहिरी सीमामा पुगेपछि लोकालोक पर्वत अवस्थित छ। यही पर्वतलाई प्रकाश र अन्धकारको सीमारेखा भनिन्छ। यो भन्दा पारि सूर्य र चन्द्रको प्रकाश पुग्दैन।
भुर्लोक अन्तर्गत पर्ने सप्तद्वीप–सप्तसमुन्द्र व्यवस्थालाई बुझिसकेपछि मूनिश्रेष्ठले जम्बुद्विपमा कहाँ-कहाँ कुन-कुन वर्षहरू छन् भनेर स्कन्दकुमार सङ्ग प्रश्न गर्नुभए पछि, कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! जम्बूद्वीपलाई नौ भौगोलिक खण्डहरूमा विभाजन गरिएको छ। जम्बूद्वीपको मध्यभागमा, मेरु पर्वतको वरिपरि इलावृतवर्ष फैलिएको छ, जसलाई भगवान् शिवको अधिष्ठान क्षेत्र मानिन्छ।
मेरुको पूर्व दिशातर्फ भद्राश्ववर्ष पर्दछ भने फेरि पश्चिम दिशामा केतुमालवर्ष अवस्थित छ। दक्षिण–पश्चिम क्षेत्रमा हरिवर्ष फैलिएको छ, भने हरिवर्षकै दक्षिणतर्फ किम्पुरुषवर्ष अवस्थित छ। मेरुको उत्तर भागमा हिरण्मयवर्ष अवस्थित छ, भने उत्तरत्तम भागमा उत्तरकुरुवर्ष पर्दछ। त्यसैगरि मेरुको उत्तर–पश्चिम दिशामा रम्यकवर्ष रहेको छ।
मेरुको दक्षिण भागमा भारतवर्ष अवस्थित छ, जसलाई सबै वर्षहरूमध्ये विशेष रूपमा कर्मभूमि मानिएको छ। अवतारहरूको अवतरण, तपस्या, साधना र मोक्षप्राप्तिको सम्भावना यही वर्षमा सम्भव हुने कुरा पुराणहरूले स्पष्ट गरेका छन्।
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! श्वेत–वराह कल्पको प्रारम्भमा नाभि नामक एक महान् पुरुष सर्वप्रथम मानव सभ्यताको नेतृत्व गर्न भनि अघि सरे। छरिएर रहेका अनेक प्रारम्भिक समाज र समुदायहरूलाई संगठित गर्दै उहाँले एकताबद्ध गर्नुभयो। नाभिका पुत्र ऋषभले पिताको कार्यलाई अझ विस्तार गर्दै विशाल भूभागलाई एकै नेतृत्व अन्तर्गत ल्याउन सफल हुनुभयो। ऋषभका पुत्र भरत भए र भरतका पुत्र शतशृङ्ग जन्मिए। शतशृङ्गका आठ पुत्र र कुमारी नामकी एक पुत्री थिइन्। शतशृङ्गका आठै पुत्रका नौ–नौ पुत्र भए। यसप्रकार शतशृङ्गका ७२ जना नातिहरू भए।
एकदिन ७२ दाजुभाइले आफ्नी फुपू कुमारीकहाँ पुगेर आदरपूर्वक भने, हे आदरणीय फुपू! तपाईँ हाम्री कुलदेवी हुनुहुन्छ। हाम्रा पूर्वजहरूले एकताबद्ध र विस्तार गरेको भूमिमा हामी अझ व्यवस्थित रूपमा शासन गर्न चाहन्छौँ। त्यसैले कृपा गरेर यस भूमिलाई हामीमध्य न्यायपूर्वक विभाजन गरिदिनुहोस्।
कुमारीले भन्नुभयो, हे मेरा प्रिय ७२ भाइभदाहरू हो! हाम्रा पूर्वज राजा नाभिले सर्वप्रथम नेतृत्व सम्हाली मानव सभ्यताको विकास आरम्भ गर्नुभयो। त्यसपछि अन्य राजाहरूले यस कार्यलाई निरन्तरता दिँदै मानव सभ्यतालाई क्रमशः अझ व्यवस्थित बनाउँदै लगे। सबै शासकहरूको अन्तिम उद्देश्य मानव समाजमा शान्ति र समृद्धि स्थापना गर्नु नै थियो। हे प्रिय भदाहरू हो! तिमीहरूले पनि यही आदर्शलाई आत्मसात् गर्दै शासन गर्नेछौ भन्ने मैले आशा गरेकी छु। राजा भरतको कालमा आइपुगेर हाम्रो भूमिले आजको यो विस्तृत सीमा प्राप्त गरेकोले यस भूमिलाई भारतवर्ष भनिनेछ। मैले मेरो बुवा राजा शतशृङ्गबाट पाएको निजी भूभाग समेत समेटी सम्पूर्ण भारतवर्षलाई ७२ देशमा विभाजन गरी तिमीहरूलाई प्रदान गर्नेछु।
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! यसरी कुमारीले भारतवर्षलाई ७२ देशमा विभाजन गरी आफ्ना ७२ भाइभदाहरूलाई प्रदान गर्नुभयो। यही नै हाम्रो पृथ्वीमा भएको पहिलो औपचारिक भौगोलिक राष्ट्र निर्माण मानिन्छ। ती ७२ देशहरूमध्य एक नेपाल पनि थियो, जसमा त्यस समय एक लाख गाउँहरू समावेश गरिएका थिए।
हे मुनिश्रेष्ठ! अति प्राचीन कालमा, वाग्मती नदीको प्रादुर्भाव हुनुअघि नै, मरिची ऋषिका पुत्र चिरञ्जीवी नेमुनिले हिमालय पर्वतको पशुपति क्षेत्रमा कठोर तपस्या गर्नुभएको थियो। उहाँकै नामबाट उक्त क्षेत्र क्रमशः “नेपाल” भनी प्रख्यात हुन गयो। यसरी पूर्वकालदेखि प्रचलित रहेको उक्त नामलाई नै कुमारीले राष्ट्रको नामका रूपमा स्थापित गर्नुभएको हो।


Comments
Post a Comment