नवमोऽध्यायः (अध्याय ९)
अथ नवमोऽध्यायः
स्कन्दकुमारबाट पार्वतीको तपस्या र महादेव-पार्वतीको विवाहको वृतान्त सुनिसकेपछि अगस्त्य मुनिले तारकासुर कसरी शक्तिशाली भई अमरावती समेत जितीलियो, र फेरि कसरी देवताहरूको उद्धार भयो भनी प्रश्न गर्नुहुँदा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! कश्यप त्रषिको तारक नाम गरेको राक्षसजातिको छोरो थियो। एकदिन ऊ नुहाउन भनि पवित्र गण्डकी भेगको सेती नदीमा जाँदा हिउँले ढाकिएको सेती नदीको तीरमा बसेर तपस्या गरिरहेका प्रचेता मुनिलाई देखी उसलाई पनि तपस्या गर्ने इच्छा भयो। मुनिको समक्षमा गई उसले श्रद्धापूर्वक प्रणाम गरी आफ्नो इच्छा प्रकट गरेपछि प्रचेता मुनिले श्री ब्रम्हाजीको ध्यान गर्नु भनी सम्पूर्ण विधि आज्ञा गर्नुभयो। तारकले पनि मुनिको आज्ञा अनुसार सेतीनदीमा स्नान गरेर शरीर, मन र वचनले भक्तिपूर्वक स्तुति गर्दै धेरै वर्ष सम्म श्रीब्रम्हाजी तपस्या गर्यो।
तारकको तपस्याबाट प्रसन्न भई श्रीब्रम्हाजी प्रकट हुनुभयो र भन्नुभयो हे बाबु! तिमीले यस निर्जन हिमालयमा कठोर तपस्या गर्यौ, इच्छाएको वर माग। ब्रह्माको यस्तो वचन सुनेर तारकले अमरत्वको वरदान माग्दा ब्रम्हाजीले अमरत्वको वरदान दिन नसकिने भएकोले अरु कुनै वर माग भन्दा तारकले मलाई देवता, राक्षस र मानिस एवं चौधै लोकमा तपाईँले सृष्टि गरेका ७ वर्ष नाघेका कुनै पनि प्राणीहरूले मलाई मार्न नसकुन् भनी वर माग्यो र ब्रम्हाजीले तथास्तु भनी ब्रम्हास्त्र समेत प्रदान गरी ब्रम्हलोक जानुभयो।
ब्रम्हाजीबाट यस्तो अवध्य वर पाएको तारकले सम्पूर्ण दैत्य र राक्षसहरूलाई भेला गरेर स्वर्गमा आक्रमण गरी देवताहरूलाई जित्यो र उनिहरूलाई लखेटेर अमरावतीमा राज्य गर्यो। दैत्यहरूबाट परास्त भएर लखेटिएपछि अब के गर्ने भनी देवताहरू श्री ब्रम्हाजी को शरणमा गई बिन्ती गरे - हे ब्रह्माजी! हजुरको कृपाबाट वर प्राप्त गरेर तारक दैत्यले तीनै लोकलाई जिती हामीहरूलाई विभिन्न दिशामा लखेटेर स्वर्गमा राज्य गरिरहेको छ। अब जुन उपायबाट त्यस दुष्टको संहार होला त्यो बताउनुहोस्। तब ब्रम्हाजीले भन्नुभयो हे देवताहरू हो! जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ। तारकासुरद्वारा तपस्याको फल भोग गरी सकिएपछि श्री महादेवका पुत्रबाट उसको वध हुनेछ। त्यतिबेला सम्म तिमीहरूले धैर्य गर्नु भनी सम्झाउनु भयो। तब देवताहरू मर्त्यलोकमा नेपालखण्डको मृगस्थलीमा आई लुकी बसिरहे। तारकासुरले आफ्ना हितैषी असुर र बन्धुबान्धवहरूलाई साथमा लिई धेरै वर्ष सम्म तिनै लोकमा निष्कण्टक राज गर्यो।
समय बित्दै जाँदा उत्तरापन्थमा तपस्या गरी बस्नुभएका महादेवले एकदिन सतीदेवीलाई सम्झी ध्यानदृष्टिले हेर्दा हिमालय पर्वतराजकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको थाहा पाई सप्तर्षिहरूलाई डाकी पार्वतीसङ्ग आफ्नो विवाहको लागि कुरो छिनी आउनु भनी पठाउनुभयो। सप्तर्षिहरूले पनि गिरिराजको घर पुगेर महादेवसङ्ग पार्वतीको विवाहको कुरो छिनी फर्केपछि अक्षय तृतीयाका दिन पर्वतराजले कन्यादान गर्नुभयो। समय आएपछि शिव–शक्तिको संयोगबाट कुमार कार्त्तिकेयको जन्म भयो। शुक्ल पक्षको चन्द्रमा बढ्दै गए झैं उनी पनि बढ्दै गए। बाल्यकालमै कुमार अत्यन्त तेजस्वी, पराक्रमी र युद्धकलामा निपुण हुनुभयो। गण्डकी नदी, सितप्रभा र प्रभानदी आदिको जल ल्याएर सम्पूर्ण देवता एवं ऋषिहरूको उपस्थितिमा ब्रम्हाजीले अभिषेक गरी देवताहरूको सेनापति बनाउनु भयो। तेजस्वी कार्तिक स्वामी सेनापतिको पदलाई प्राप्त गरेर देवताहरूका साथ बलेका अर्का ज्वालायुक्त अग्नि हुन् कि भनेझैँ गरी सुशोभित हुनुभयो।
हे अगस्त्य मुनि! सेनापति भएपछि तारकासुरसङ्ग युद्ध गर्नु पुर्व कुमार कार्त्तिकेयले चन्द्रदिप्ती नदीको तीरमा स्कन्देश्वर शिवलिङ्गको स्थापना गरी महादेवको तपस्या गर्नुभयो। त्यसै लिङ्गबाट भगवान् महादेव प्रादुर्भाव हुनुभई रुद्रकै अंश लिएर जन्मिनुभएका कार्तिक स्वामीलाई सम्पूर्ण शत्रुलाई नाश गरेर तीनै लोक विजय गर्न सक्ने वर दिनुभयो। महादेवबाट वर पाएपछि देवताहरूलाई आनन्दित गराउँदै दैत्यहरूको विनाशका लागि आफ्ना पार्षद र मातृकाहरूसहित सम्पूर्ण सेनाहरूलाई साथमा लिई कुमार स्कन्द युद्धको लागि प्रस्थान गर्नुभयो। कुमार स्कन्दको त्यो डरलाग्दो सेना फहराइएका ध्वजा-पताका, अनेक आकारका घण्टा, कर्नाल, शङ्ख, मादल शस्त्र-अस्त्र आदिले सुसज्जित थियो। देवता र भूतगणहरूका समूहले कर्नाल, शङ्ख, दमाहा, झाँझरी, गोमुखे, आडम्बर, डिबडिबे आदि ठूला शब्द गर्ने बाजाहरू बजाए। कसैले काँसका बाजाहरू बजाए भने कसैले तामाका बाजाहरू बजाए। कसैले पञ्चै बाजा बजाए भने कसैले मेघजस्तो आवाज निकाल्ने बाजा लगातार बजाए। त्यसपछि इन्द्र आदि देवताहरूले कार्तिक स्वामीको स्तुति गरे, गन्धर्वहरूले गीत गाए, अप्सराहरू नाचे। यस्ताप्रकारले कार्तिक स्वामी सेनाहरूलाई साथमा लिएर चैत्र महिनाको षष्ठीतिथिका दिन तारकासुरसङ्ग युद्ध गर्न भनी गर्जना गर्दै यानमा चढेर जानुभयो।
देवताहरूले आक्रमण गर्न लागेको थाहा पाई तारकासुरले आफ्ना सम्पूर्ण मन्त्री, दैत्य र राक्षसहरूलाई एकत्र गरी अनेक प्रकारका शस्त्र र अस्त्रहरूद्वारा सुसज्जित भई रथमा बसी युद्ध गर्न अगाडि बढे। देवसेना र दानवसेनाको मुखामुख भयो। तब तारकासुरले देवताका सेनापति कुमारलाई देखेर हे बाबु! तिमी त सानो रहेछौ, जाउ गएर भकुन्डो खेल भनी भन्दा कुमारले म यहाँ खेल्न होइन, युद्ध गर्न आएको हुँ भनी युद्धारम्भको शङ्खनाद गर्नुभयो। शङ्खनादको चर्को ध्वनि र देवसेनाको कोहोलो सुनेर तारकासुरले क्रुद्ध भई सिंहनाद गर्दै देवताहरूका सेनामाथि जाइलाग्यो। विभिन्न किसिमका हतियारहरू हातमा लिएका ती देवताहरूले पनि दैत्यहरूको सेनामाथि आक्रमण गरे।
शक्तिशाली र तेजस्वी कार्तिक स्वामीले दैत्यसेनाहरू माथि बारम्बार विभिन्न भीषण शस्त्र-अस्त्रहरूको वर्षा गर्नुभएको देखि सबै दैत्यहरू डराउँदै दिशा-विदिशामा भागे। तारक दैत्यले पनि अत्यन्त रिसाएर डराएका दैत्यहरूलाई विभिन्न दिशाबाट बोलाएर कार्तिक स्वामीमाथि अनेक शस्त्र-अस्त्रहरूले बारम्बार प्रहार गर्यो। परस्परमा प्रहार गरिएका शस्त्रहरूको तण्ड-वितण्डले डरलाग्दा शब्दहरू उत्पन्न भए, डरलाग्दा उल्का र ज्वाला अनि अनेक वज्रहरू कड्कँदै पृथ्वीमा झर्न लागे।
तारकासुरले रीसले हातमा ब्रम्हास्त्र उठाएर इन्द्रमाथि जाइलाग्दा इन्द्र लडाइँ छोडेर भागे। त्यसपछि आफ्ना सेनालाई भगाउन लागेको तारकासुरलाई देखेर कार्तिक स्वामीले त्यस दैत्यमाथि र दैत्य सेनाहरू माथि अनेक प्रकारको घातक शक्ति प्रहार गर्नुभयो। कुमारको शक्ति र तारकासुरको ब्रम्हास्त्र मध्य धेरै समयसम्म परस्पर सङ्घर्ष हुँदा तपस्याको प्रभाव क्षीण हुँदै जानाले ब्रम्हास्त्र निष्फल भई ब्रह्मलोकमा फर्कियो। तब कुमारले चन्द्रवाणास्त्र प्रहार गरी तारकासुरको वध गर्नुभयो। सम्पूर्ण देवताहरूले कुमारस्कन्दको जय-जयकार गरे।

Comments
Post a Comment