अष्टमोऽध्यायः (अध्याय ८)

श्रीगणेशाय नमः ।। श्रीसद्गुरुभगवतः चरणकमलेभ्यो नमः ।। श्रीस्वस्थानीदेव्यै नमः ।। श्रीशिवाय नमः ।। श्रीअधिष्ठातृधार्यिनाधिसयनीदेव्यै नमः ।।

अथ अष्टमोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! महादेवले सतीदेवीलाई बोकी बौलाहा जस्तै भई भ्रमण गर्दा तारकासुर दानवले यही मौका हो भनी सम्पूर्ण मन्त्रिगण र दैत्यहरूलाई डाकी अमरावतीमा आक्रमण गर्न गयो। त्यसरी आउन लागेको दैत्यहरूलाई देखी देवराज इन्द्रले स्वयं सृष्टिकर्ताबाट अवध्य वर पाएको यस तारकासुरलाई युद्धमा कसै गरे पनि जित्न सकिन्न भनी देवताहरूलाई लिई ब्रम्हाजीको शरणमा गई बिन्ती गरे - हे ब्रह्माजी! हजुरको कृपाबाट वर प्राप्त गरेर तारक दैत्यले तीनै लोकलाई जिती हामीहरूलाई विभिन्न दिशामा लखेटेर स्वर्गमा राज्य गरिरहेको छ। अब जुन उपायबाट त्यस दुष्टको संहार होला त्यो बताउनुहोस्। तब ब्रम्हाजीले भन्नुभयो हे देवताहरू हो! जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ। तारकासुरद्वारा तपस्याको फल भोग गरी सकिएपछि श्री महादेवका पुत्रबाट उसको वध हुनेछ। त्यतिबेला सम्म तिमीहरूले धैर्य गर्नु भनी सम्झाउनु भयो। उता महादेव भनी सतीदेवीको वियोगमा सारा जगत् भुलेर पृथ्वी भ्रमण गर्दै हुनुहुन्थ्यो। अब कसो गर्ने भनी चिन्तित देवताहरू नेपालमण्डलमा स्थित् मृगस्थलीमा आएर बसिरहे। एकदिन महादेव पनि सतीदेवीको वियोगमा घुम्दै मृगस्थलीमा आइपुग्नुभयो। महादेवलाई देखी देवताहरूले प्रणाम गरी ताराकासुरले अमरावती खोसीलिनाले मृगस्थलीमा आई लुकेको वृतान्त सुनाउँदै हाम्रो रक्षा गर्नुहोस् भन्दा महादेवले देवताहरूलाई हेरेर केही पनि नबोली हा सती! भन्दै फेरि अघि बढ्नुभयो।

यस्तो प्रकारले शोक गर्दै १०० वर्ष सम्म महादेवले पृथ्वी भ्रमण गर्नुभयो। एकदिन चित्त दृढ गरी हेर्दा सतीदेवीको शरीर छैन भन्ने थाहा पाएर अब के गरूँ, कता जाऊँ भन्दै दक्षिणको कर्णाटक प्रदेश पुग्नुभयो। त्यहाँ नदीतटमा स्नान गर्न आएका केही ऋषिपत्नीहरू महादेवको सुन्दर र बलिष्ठ शरीर देखी मोहित भएर पछि लागे। ऋषिहरूले थाहा पाएपछि हाम्रा पत्नी हरण गरी लैजाने यही हो भनी महादेवलाई अनेक वचन लगाउँदै भने - हे महादेव तिम्रा यो दिव्य तेज देखेर नै मोहित भई हाम्रा पत्नीहरू पछि लागेका हुन् अतः तिम्रो तेजयुक्त शरीर पतन भई जावोस्। ऋषिहरूको यस्तो श्रापले महादेवको तेज युक्त शरीर पतन भई ज्योतिर्लिङ्गको रूपमा प्रकट भई सम्पूर्ण ब्रम्हाण्ड ढाक्न लाग्यो। ज्योतिर्लिङ्गको दिव्यतेजले सम्पूर्ण ब्रम्हाण्ड नै ढाकेर सबै अस्तव्यस्त हुन लागेको देखी भगवान् विष्णुले तत्काल त्यहाँ पुगी ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्नुभयो। तब त्यो ज्योतिर्लिङ्ग साम्य भयो। अनि त्यही ज्योतिर्लिङ्गबाट महादेव सशरीर प्रकट हुनुभई भन्नुभयो - हे ऋषिहरू हो! तिमीहरूका ब्राम्हणीहरू मैले हरेर ल्याएको हैन, मलाई व्यर्थमा श्राप दियौ, अतः तिमीहरूको पनि वाक्य शुद्ध नहोस् , यो श्राप भयो। यति भनि उत्तरापन्थमा गई काम-क्रोध मोह त्यागी परब्रम्हमा ध्यान लगाई तपस्या गर्न लाग्नुभयो।

महादेवले सतीदेवीलाई बोकी पृथ्वी भ्रमण गरेको, अनि शक्ति पीठहरूको उत्पत्ति र देवताहरूको अमरावतीबाट निर्वासनको वर्णन सुनिसकेपछि अगस्त्य मुनिले, हिमालय पर्वतकी छोरी पार्वती को हुन् र उनको विवाह महादेव सङ्ग कसरी भयो भनी जिज्ञासा गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! दक्षको यज्ञकुण्डमा प्रवेश गरी सतीदेवीले प्राण त्याग गर्नुभए पछि हिमालय पर्वतराजकी पत्नी मेनकाको गर्भमा वास गर्न पुग्नुभयो। पर्वतराजले आफ्नी पत्नी गर्भिणी अत्यन्त हर्षपुर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए। दश महिना पुरा भएपछि मेनकाको गर्भबाट सुर्यको जस्तो तेज भएकी, पद्मपत्र समान नेत्र र बत्तीस लक्षणले युक्त कन्या जन्मिइन्। पर्वतराजले ज्योतिषीहरूलाई डाकी कन्याको न्वारान गराए। ज्योतिषीहरूले यी कन्याले महादेव स्वामी पाई चौधै लोककी स्वामिनी हुनेछिन् भनी पार्वती नाम राखिदिए।

हे अगस्त्य मुनि! शुक्लपक्षको चन्द्रमा बढे झैं दिन प्रतिदिन पार्वतीदेवी बढ्दै जानुभयो। बाल्यकालदेखि नै उहाँको चित्त स्वभावतः शिवभक्तिमा लीन रहन्थ्यो। बालुवाबाट शिवलिङ्ग निर्माण गरी, फल-फूल र जल अर्पण गर्दै बालभावमै उहाँ भगवान् शङ्करको निरन्तर आराधनामा तल्लीन रहनुहुन्थ्यो।
एकदिन पर्वतको शिखरमा अवस्थित एक सुन्दर मन्दिरको समीपमा पार्वतीदेवी आफ्ना सखीहरूसँग खेलिरहनु भएको बेला, आकाशमार्ग हुँदै भ्रमण गरिरहेका देवर्षि नारदको दृष्टि ती परम सुन्दरी कन्यामाथि पर्‍यो। पार्वतीको दिव्य रूप, शील र तेज अवलोकन गरी नारदले यस्ती अनुपम कन्याका लागि भगवान् विष्णु बाहेक अन्य कोही पनि सुयोग्य वर हुन सक्दैन भनी विचार गरेर बदरिकाश्रमतिर प्रस्थान गर्नुभयो।
बदरिकाश्रममा पुगेर नारदले भगवान् विष्णुलाई विधिपूर्वक प्रणाम गरी हिमालयराजकी कन्याको सम्पूर्ण वृत्तान्त निवेदन गर्नुभयो। देवर्षिको वचन सुनी प्रसन्न हुँदै भगवान् विष्णुले - हे नारद! तिमीले उचित कुरा भन्यौ - भनी पर्वतराजको घर कन्यामाग्न पठाउनुभयो। नारद मुनि पनि विष्णुलाई प्रणाम गरी पर्वतराजको घर जानुभयो।

देवर्षि नारद आएको देखी प्रसन्न भई अत्यन्त प्रसन्न भएका हिमालय पर्वतराजले आदरपूर्वक स्वागत–सत्कार गरी मुनिलाई यथोचित आसनमा विराजमान गराउनुभयो। तब नारद मुनिले भन्नुभयो हे हिमालयराज! म तपाईँकी छोरी पार्वती भगवान् विष्णुको लागि माग्न आएको हुँ। तपाईँको सहमति भए म सुदिन ठहराई भगवान् विष्णुलाई लिएर कन्यादान लिनको लागि आउने थिएँ। नारद मुनिका यस्ता वचन सुनी पर्वतराजले - हे मुनि तपाईँ स्वयं श्री ब्रम्हाजीको मानस पुत्र हुनुहुन्छ, तपाईँले नजानेको र नबुझेको के छ? फेरि स्वयं भगवान् विष्णुले मेरी छोरीलाई माग्नुहुँदा मैले हुन्न कसरी भनुँ। मेरी छोरी विष्णुलाई दिनेछु, सुदिन ठहराई कन्यादान लिन आउनुहोला - भनी देवर्षिलाई विदा गरी पठाए।

हे अगस्त्य मुनि! उता पार्वतीदेवीको हृदय भने बाल्यकालदेखि नै केवल महादेवप्रति अनुरक्त थियो। आफूलाई नसोधिकन बुबाले विष्णुलाई छोरी दिन्छु भनी वचन दिएको थाहा पाई, अत्यन्तै दुःखी हुनुभई, पार्वतीले आँखाबाट अश्रुका धारा बगाउनु भयो। पार्वतीको पिडालाई बुझेर धर्मशीला नामकी सङ्गिनीले कसैले थाहा नपाउने गरी उनलाई गौरी पर्वतमा लिई गएर लुकाई राखिन्। त्यहाँ पार्वतीले ब्रम्हनदीमा स्नान गरेर बालुवाको शिवलिङ्ग बनाई महादेवको आरधना गर्दै कठिन तपस्या आरम्भ गर्नुभयो। कहिले फल–फूल मात्र खाएर, कहिले जल मात्र ग्रहण गरेर, फेरि अन्ततः पात र जल पनि त्यागी निराहार तपस्यामा लीन हुनुभयो।

उता हिमालय पर्वतराजले पार्वतीलाई कतै पनि नदेखेर व्याकुल हुँदै सारा वन-जङ्गल, कन्दरा, गुफा, टाकुरा र पर्वत शिखरहरूमा, हे छोरी! तिमी कहाँ छौ, भन्दै खोज्दै हिंडे। मेनका पनि कहिले मुर्छित हुने र कहिले फेरि चेष्टा भएपछि, हे छोरी! कहाँ छौ, भनी पार्वतीलाई रुँदै-रुँदै डाक्दै हिंडिन्। फेरि एकदिन नारद मुनि, कन्यादानको लागि सुदिन निश्चित गरी हिमालयराजलाई सूचित गरुँ भनी आउँदा पार्वती देवी हराएको सूचना पाई मन खिन्न गरी पर्वतराजलाई सान्त्वना दिएर, भगवान् विष्णुकोमा पुगी लाजले केही भन्न नसकी उभिइरहनु भयो। अन्तर्यामी भगवान् विष्णुलाई पहिल्यै सबै थाहा भएकोले उहाँले, हे नारद! तिमी के भन्न आयौ मलाई थाहा छ, जे भइरहेको छ सबै विधिकै विधान अनुसार भइरहेको छ, त्यसैले तिमीले सुर्ता नगर भनी विदा गरी पठाउनुभयो।

यता पार्वतीदेवीको कठोर तपस्याबाट उत्पन्न तेजले क्रमशः तीनै लोक कम्पित हुन थाले। तब इन्द्रादी देवताहरूले ब्रह्माजीले अघि श्री महादेवका पुत्रबाट मात्र तारकासुरको वध सम्भव हुनेछ भनेको सम्झी, अब संसारको रक्षा हेतु देवी पार्वतीको तपस्या सफल हुनुपर्छ तर यतिबेला महादेव उत्तरापन्थमा ध्यानमा लिन छन् , कसो गरी महादेवलाई जगाउने भनि विचार-विमर्श गर्दै जाँदा कामदेवलाई सम्झिए। त्यसपछि इन्द्रादि देवताहरूले कामदेवलाई आह्वान गरी महादेवको तपस्या भङ्ग गर्ने दायित्व सुम्पिए। कामदेवले पनि देवताहरूको आग्रह अस्वीकार गर्न नसकी आफ्नी पत्नी रतिदेवी सहित उत्तरापन्थतर्फ प्रस्थान गरे। त्यहाँ पुगेर उनले विनयपूर्वक महादेवलाई प्रणाम गरे र अवसर पाई आफ्ना पुष्पबाणमध्ये कामवाण प्रहार गरे। महादेवले कामदेवको दुष्प्रयास थाहा पाएर क्रोधित भई त्रिनेत्र उघारेर हेर्दा तिनै नेत्रबाट अग्निज्वाला निस्की कामदेवलाई तत्क्षण भष्म गर्‍यो।

कामदेवकी स्त्री रतिले आफ्ना स्वामी भष्म भएको देखी रोई-कराई महादेव समक्ष बिन्ती गर्न लागिन् - हे प्रभु! मेरो स्वामीको केही अपराध छैन, देवराजको आज्ञाले कामवाण प्रहार गर्नुभएको हो। हे ईश्वर! म देखि प्रसन्न भई स्वामी दान दिनुहोस्। रतिले त्यसरी स्तुति गरेको देखी महादेवलाई दया लाग्यो। हे रति! यो जन्ममा अब तिमीले पति पाउन सक्दिनौ। द्वापर युगको अन्त्यमा भगवान् विष्णुको श्री कृष्ण अवतार हुनेछ। तिनकै पुत्र प्रद्युम्नको रूपमा तिम्रो पतिको जन्म हुनेछ। तब तिमी दुवैको भेट होला, अहिले लाई दुःख नमान भनी यस्ता प्रकारले सम्झाई-बुझाई पठाउनुभयो।

त्यसपछि महादेवले सतीदेवीलाई सम्झी अहिले उनि कहाँ होलिन् भनी ध्यानदृस्टीले हेर्दा हिमालयकी पुत्रीको रूपमा अहिले निर्जन वनमा निराहार ब्रत गरी नित्य शिवलिङ्गको पुजा गर्दै ठूलो कष्टमा तपस्या गरी बसेको देख्नुभयो। तब पार्वतीको तपस्याबाट प्रसन्न महादेव बालुवाको शिवलिङ्गबाट प्रकट हुनुभई भन्नुभयो, हे कन्या! यस्ती कलिली कन्याले यस्तो कठोर तप गरेको, आज सम्म यो त्रिलोकमा मैले कतै देखेको छैन। तिमी जे चाहन्छ्यौ, त्यो वर माग। महादेवको यस्तो वचन सुनी पार्वतीले हे ईश्वर! भनी प्रणाम गरेर, म देखि प्रसन्न हुनुहुन्छ भनी तपाईँकी पत्नी हुन पाउँ भनी वर मागिन्। तब महादेवले हे कल्याणी! तिमीले भनेको अवश्य हुन्छ, यस्तो कष्ट सही यहाँ नबस, जाउँ हिंड कैलास भनी भन्दा, पार्वतीले भनिन् हे प्रभु! यसरी जाँदा समाजले नराम्रो सोंच्छन् र फेरि बुबालाई पीर पर्छ त्यसैले तपाईँले मेरा बुबासङ्ग कुरा गरेर सम्पूर्ण कर्म पुरा गरी मलाई लिएर जानुहोस्। महादेवले पनि प्रसन्न भएर त्यसै गर्नेछु भनी पार्वतीलाई आशिर्वाद दिएर कैलास जानुभयो।

त्यसैरातमा छोरीलाई खोज्दै पर्वतराज त्यहाँ पुग्नुभयो र दुई कन्याहरूलाई विकट स्थानमा सुतिरहेको देखी पार्वती हुन् भनी चिनेर हे छोरी! भन्दै रुँदै-रुँदै समीपै जानुभयो। बुबाको क्रन्दन सुनेर पार्वती जाग्नुभयो र पितालाई देखी प्रणाम गर्नुभयो। तब गिरिराजले हे छोरी! अनेक हिंसक जीव-जन्तुहरू भएको यस्तो निर्जन वनमा किन तिमीहरू यसरी आई बसेका छौ। तिमीलाई नदेख्दा हामीलाई कति पीर पर्‍यो। तिमीलाई कसैले केही भन्यो कि हामीसङ्ग केहीकुरा चित्त बुझेन? अब यहाँ यसरी नबस, चाँडो घर हिंड भनी अनेक प्रकारले माया गरी दुवैलाई लिई घर जानुभयो। छोरी आएको देखी मेनकाले अँगालो हाली हर्षका आँसु झारी डाँको छोडेर रोइन्। अनि किन यसरी यतिका दिनसम्म घर छाडी निर्जन स्थानमा गएर कष्ट सही बस्यौ भनि बुबा-आमाले सोध्दा, आफूले सानै देखि महादेव पति पाउँ भनि अनेक ब्रत र तप गर्दै आएको र बुबाले विष्णुसङ्ग विवाह गरिदिन्छु भनी नारद मुनिलाई वचन दिएको थाहा पाई सहन नसकी निर्जन वनमा गई तपस्या गरी बसेको सुम्पर्ण वृतान्त सुनाउनुभयो। तब हिमालय पर्वतराजले न्वारानका बेला ज्योतिषीहरूले भनेको वचन सम्झी, हे छोरी! तिमी जो सङ्ग भन्छौ उसैसङ्ग तिम्रो विवाह गरिदिनेछौं, कति पनि सुर्ता नगर भनी सम्झाए।

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! त्यसपछि महादेवले सप्तर्षिहरूलाई डाकी हिमालय पर्वतराजको घर गएर पार्वतीसङ्ग आफ्नो विवाहको लागि कुरो मिलाई आउनुहोस् भनी भन्नुभयो। महादेवको यस्तो वचन सुनी सप्तर्षिहरूले हामी कुरो छिनेर नै आउनेछौं भनी गिरिराजको घरतिर प्रस्थान गरे। आकास मार्ग बाट आउँदै गरेका सप्तर्षिहरूलाई देखी गिरिराजले सभाबाट उठेर आदरपूर्वक सत्कार गरी आसनमा बसालेर मिष्ठान्न-पान गराउनुभयो र आज कति कामले मेरो आँगन पवित्र पार्नुभयो भनी भन्नुहुँदा ऋषिहरूले हे पर्वतराज! हामी महादेवका लागि तपाईँकी पुत्री पार्वती माग्न आएका हौं भने। अनि गिरिराजले पनि प्रसन्न चित्त गर्दै भन्नुभयो, हे सप्तर्षिहरू हो! म भाग्यमानी रहेछु, मेरी पुत्रीले महादेव पति पाउने भइन्। स्वयं महादेवले माग्न पठाउनुभए पछि मैले दिन्न कसरी भन्नु अतः मेरी छोरी महादेवलाई दिन्छु। हे ऋषिगण! महादेवको गोत्र के होला?

पर्वतराजको यस्तो प्रश्न सुनेर पुलत्स्य ऋषिले भन्नुभयो हे गिरिराज! महादेव अजन्मा शास्वत शिव स्वरूप हुन्। सम्पूर्ण प्राणीहरूलाई गोत्र दिनुहुने उहाँ स्वयं गोत्रस्वरूप हुनुहुन्छ। सम्पूर्ण संसारलाई सृजना गर्ने यस्ता महादेवलाई कोटी-कोटी नमस्कार छ।

ऋषिको यस्तो वचन सुनी, अत्यन्त प्रसन्न हुँदै पर्वतराजले कन्यादानको लागि सुदिन ठहराई सप्तर्षिहरूलाई विदा गर्नुभयो। सप्तर्षिहरूले फर्किएर सम्पूर्ण वृतान्त महादेवलाई सुनाए। अनि बैशाख शुक्ल तृतियाको दिन सप्तर्षि, प्रमथगण, देवता, गन्धर्व, योगिनी, अप्सरा आदि लाई जन्ती लिई अनेक बाजा बजाई नाचगान गर्दै महादेव आउनुभयो। हिमालय पर्वतले पनि शुभ लग्न पारी पार्वतीको कन्यादान गरे। अनि महादेव सम्पूर्ण जन्तीहरू सहित पार्वतीलाई लिएर कैलास पर्वतमा जानुभयो।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां ब्रतकथायां इन्द्रादिदेवतामृगस्थलीगमनंमहादेवपार्वतीविवाहवर्णनं नाम अष्टमोऽध्यायः ।।८।।

Comments