अष्टमोऽध्यायः (अध्याय ८)
अथ अष्टमोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! महादेवले सतीदेवीलाई बोकी बौलाहा जस्तै भई भ्रमण गर्दा तारकासुर दानवले यही मौका हो भनी सम्पूर्ण मन्त्रिगण र दैत्यहरूलाई डाकी अमरावतीमा आक्रमण गर्न गयो। त्यसरी आउन लागेको दैत्यहरूलाई देखी देवराज इन्द्रले श्री ब्रम्हाजीबाट अवध्य वर पाएको यस तारकासुरलाई युद्धमा कसै गरे पनि जित्न सकिन्न भनी देवताहरूलाई लिई मृगस्थलीमा आएर बसिरहे। त्यहीबेला महादेव पनि सतीदेवीको वियोगमा घुम्दै मृगस्थलीमा आइपुग्नुभयो। महादेवलाई देखी देवताहरूले प्रणाम गरी ताराकासुरले अमरावती खोसीलिनाले मृगस्थलीमा आई लुकेको वृतान्त सुनाउँदै हाम्रो रक्षा गर्नुहोस् भन्दा महादेवले देवताहरूलाई हेरेर केही पनि नबोली हा सती! भन्दै फेरि अघि बढ्नुभयो।
यस्तो प्रकारले शोक गर्दै १०० वर्ष सम्म महादेवले पृथ्वी भ्रमण गर्नुभयो। एकदिन चित्त दृढ गरी हेर्दा सतीदेवीको शरीर छैन भन्ने थाहा पाएर अब के गरूँ, कता जाऊँ भन्दै दक्षिणको कर्णाटक प्रदेश पुग्नुभयो। त्यहाँ नदीतटमा स्नान गर्न आएका केही ऋषिपत्नीहरू महादेवको सुन्दर र बलिष्ठ शरीर देखी मोहित भएर पछि लागे। ऋषिहरूले थाहा पाएपछि हाम्रा पत्नी हरण गरी लैजाने यही हो भनी महादेवलाई अनेक वचन लगाउँदै भने - हे महादेव तिम्रा यो दिव्य तेज देखेर नै मोहित भई हाम्रा पत्नीहरू पछि लागेका हुन् अतः तिम्रो तेजयुक्त शरीर पतन भई जावोस्। ऋषिहरूको यस्तो श्रापले महादेवको तेज युक्त शरीर पतन भई ज्योतिर्लिङ्गको रूपमा प्रकट भई सम्पूर्ण ब्रम्हाण्ड ढाक्न लाग्यो। ज्योतिर्लिङ्गको दिव्यतेजले सम्पूर्ण ब्रम्हाण्ड नै ढाकेर सबै अस्तव्यस्त हुन लागेको देखी भगवान् विष्णुले तत्काल त्यहाँ पुगी ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्नुभयो। तब त्यो ज्योतिर्लिङ्ग साम्य भयो। अनि त्यही ज्योतिर्लिङ्गबाट महादेव सशरीर प्रकट हुनुभई भन्नुभयो - हे ऋषिहरू हो! तिमीहरूका ब्राम्हणीहरू मैले हरेर ल्याएको हैन, मलाई व्यर्थमा श्राप दियौ, अतः तिमीहरूको पनि वाक्य शुद्ध नहोस् , यो श्राप भयो। यति भनि उत्तरापन्थमा गई काम-क्रोध मोह त्यागी परब्रम्हमा ध्यान लगाई तपस्या गर्न लाग्नुभयो।


Comments
Post a Comment