सप्तमोऽध्यायः (अध्याय ७)
अथ सप्तमोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! इन्द्रादि समस्त देवताहरूले महादेवले सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरी हिंडेको देखी वैकुण्ठ गएर विष्णु भगवान् समक्ष बिन्ती गरे, हे भगवन्! श्री महादेवले शोक गरी सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेककाले सारा ब्रम्हाण्ड नै शुन्य भएको छ। जबसम्म सतीदेवीको मृत देह रहला, तबसम्म महादेव यसरी नै भ्रमण गरिरहनेछन्। महादेव बिना यो संसारको रक्षा कसरी होला, तसर्थ केही उपाय गर्नुहोस्। तब भगवान् विष्णुले आफ्नो मायाले झींगा सृष्टि गरी औंसा पारी सतीदेवीको अङ्ग गलाएर पतन गराउनु भयो।
जहाँ-जहाँ सतीदेवीको अङ्ग पतन भयो, त्यहाँ-त्यहाँ एक शक्तिपीठको उत्पत्ति भयो। सबैभन्दा पहिले नेपालमा
गुह्य पतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भए, शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य-भूमिमा इन्द्रादि देवता आई तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्य, त्रेता, द्वापर र कलि यी चारै युगमा देवताकै नामले प्रख्यात भए भनी वरदान दिइन्। फेरि कामरूप पुग्दा छाती पतन भयो। कामरूप पीठ, कामाक्षा देवी, कीर्तियोगिनी, चक्रधरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा यक्षगण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर स्वर्ग-मर्त्य-पातालमा सदा यक्षगणका नामले विख्यात हुनेछौ भनी वरदान दिइन्। फेरि कश्मीरमा गई जिभ्रो पतन भयो। कश्मीर पीठ, शारदा देवी, घोरघण्टा योगिनी, श्रमधारेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति
स्वरूपले रहे। त्यस पुण्य-भूमिमा किन्नरगण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर इच्छासिद्धि
हवस् भनी वरदान दिइन् । फेरि कन्नौजमा पुगी अङ्गको छाला पतन भयो। कान्यकुब्ज पीठ,
सफला देवी, झंकेश्वरी योगिनी र दुग्धेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस
सिद्ध-भूमिमा रावणले आई तपस्या गरे। ईश्वरी प्रसन्न भई देवलोक जित्न सकेस् भनी वरदान दिइन्।
फेरि पूर्णगिरिमा गई बायाँ कान पतन भयो। पूर्णगिरि पीठ, पूर्णा देवी, कपालकुण्डला योगिनी र चन्द्रेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्ष भूमिमा गन्धर्वहरू आएर नाच-गान गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई इन्द्रका सभामा नाच-गानमा कहिल्यै नचुके भनी वरदान दिइन्। फेरि चामुण्डाचलमा गई बाहु पतन भयो । चामुण्डा-चल पीठ, पुकम्बी योगिनी, चामुण्डा देवी र इच्छावीरुकेश्वर महादेव उत्पन्न भए । शिव-
शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा नारद मुनि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई तिम्रो वाक्यसिद्धि हवस् भनी वरदान दिइन्। फेरि एकावीरमा पुग्दा बायाँ हात पतन भयो। एकावीर पीठ, सिद्धेश्वरी देवी, सिद्धा योगिनी, दुग्धेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य-भूमिमा कर्णवीर आदि श्मशान
आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिइन्। फेरि कामरोष्ठमा पुग्दा घाँटी पतन भयो कामरोष्ठ पीठ, कामिनी देवी, महाकालेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा लक्ष्मी आएर तपस्या गरिन्। ईश्वरी प्रसन्न भई सृष्टि-स्थान हुन सके भनी वरदान दिइन्। फेरि त्रिश्वेतमा पुगेर मलद्वार पतन भयो। त्रिश्वेत पीठ, महाकालेश्वरी देवी, विकटदन्ता योगिनी, त्रिपुरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा यमराज आएर नाना उपचारले पूजा-सहित तपस्या गरे। ईश्वरी प्रसन्न भई ब्रह्माजीको सृष्टि संहार गर्न सके भनी वरदान दिइन्।
फेरि कैलास पर्वतमा पुगेपछि दाहिने पाउ पतन भयो। कैलास पीठ, पार्वती देवी, अग्बिका योगिनी, विश्वम्भरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा ब्रह्मा आएर अनेक स्तुति सहित तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माँग भनिन् र ब्रह्माले तीनै लोकमा सृष्टिकर्ता हुन पाऊँ भनी वरदान माँगे। ईश्वरी प्रसन्न भई 'तथास्तु' भनी वरदान दिइन्। फेरि भृगुक्षेत्रमा पुगी उपल्लो दाँत पतन भयो। भृगु पीठ, शरदा देवी, ब्रह्मदाहा योगिनी, सत्येश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा धर्मदत्त राजा आएर योग-मार्गले तपस्या गरे। ईश्वरी-प्रसन्न भई तिमीलाई कसैले जित्न नसकून् भनी वरदान दिइन्। फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो। चन्द्रपुर पीठ, चन्द्रा देवी, सिद्धा योगिनी, प्रकाशेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा दश
दिक्पाल आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई तिमीहरू आ-आफ्ना दिशास्थितिमा रहन सके भनी वरदान दिइन्। फेरि केदारमा गएर देब्रे हात पतन भयो। केदार पीठ, केदारेश्वरी देवी, चामुण्डा योगिनी, कोटेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा एकादश रुद्र आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन् र एकादश रुद्रले हामीहरूको तेज समान रहोस् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि श्रीपीठमा पुग्दा तालु पतन भयो। श्रीपीठ, कमला देवी, भद्रा योगिनी, कमलेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा अष्टवसु आएर षोडशोपचारले पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन् । अष्टवसुले हामीहरू को वाक्य-सिद्धि हवस् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्।
फेरि एकावीरमा गएर नाभि पतन भयो। एकावीर पीठ, एकवीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य-भूमिमा नागहरू आएर नाना रत्न मणिमाणिक्य चढाई पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन्। नागहरूले सप्त पातालको अधिपतित्व प्राप्त होस् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि जालन्धरमा पुगेर तल्लो ओठ पतन भयो। जालन्धर पीठ, जालपा देवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध-भूमिमा कामधेनु गाई आएर नित्य दूध अर्पण गरी तपस्या गरिन्। ईश्वरी प्रसन्न भई वरदान माग भनिन्। कामधेनुले मेरो दूध, दही, घिउ,
मल-मूत्र सधै पवित्र मानियोस् भनी माँगिन्। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि कुशलान्तमा पुगेर कपालका केश पतन भए। कुशलान्तक पीठ, भूतघण्टा योगिनी, क्षीरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा अश्विन्यादि सत्ताईस नक्षत्र आएर भक्तिसाथ तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेओ भनिन्। नक्षत्रहरूले ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि मल्लवीमा पुगेर बायाँ पैताला पतन भयो। मल्लवी पीठ, महाकाली देवी, कराला योगिनी, भूपालेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यहाँ द्वादशादित्य आएर तपस्या गरे।
ईश्वरी प्रसन्न भई वरदान माँग भनिन्। द्वादशादित्यले हामी बाह्र महीनाका अधिपति रहौं भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि देवकोटमा पुगेर बायाँ घुँड़ा पतन भयो। देवकोट पीठ, भद्राक्षी देवी, ललिता योगिनी र मातेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा मेषादि बाह्र राशि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माँग भनिन्। राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहून् भनी माँगे । ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि गोकर्णमा पुगेर बायाँ कान पतन भयो। गोकर्ण पीठ, भैरवी देवी, एकजंघा योगिनी, योगेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध-भूमिमा विष्कुम्भादि योगहरूले ठूलो कष्ट सहेर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेओ भनिन्। ती योगहरूले ज्योतिष शास्त्र हाम्रा अधीनमा रहून् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्।
फेरि अट्टहासमा पुगेर तल्ला दाँतहरू पतन भए। अट्टहास पीठ, भ्रामरी देवी, शंखधरा योगिनी, शतभूतेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध-भूमिमा वाग्मती आदि नदीहरू आएर जल चढाई भक्तिपूर्वक तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माँग भनिन् र वाग्मती आदि नदीहरूले हामीमा भुक्ति-मुक्ति दिने अधिकार होस् भनी माँगे।
ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि मातुलेश्वरमा पुगेर दाहिने स्तन पतन भयो। मातुलेश्वर पीठ, योगेश्वरी देवी, पिंगला योगिनी, बुधराधेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा आई कश्यपादि ऋषिहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन्। ती ऋषिहरूले चारै वेद हाम्रा अधीनमा रहून् भनी माँगे। ईश्वरीले तथास्तु भनिन्। फेरि विश्वमा पुगी बायाँ स्तन पतन भयो। विश्वपीठ, भुवनेश्वरी देवी, भुवना योगिनी, कृष्णवर्णेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा श्रीकृष्ण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माँग भनिन्। श्रीकृष्णले तीनै लोकका स्त्रीहरू मलाई देखेर मोहित होऊन् भनी माँगे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्।
फेरि छायाछत्रमा पुगेर शेष रहेका सबै अंग पतन भए। छायाछत्र पीठ, छत्रेश्वरी देवी, सुसुकोदरा योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अष्टभैरव आएर नाना उपचारले पूजा एवं तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माँग भनिन्। अष्टभैरवले मातृकागणको अधिपति
होऔं भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन्। हे अगस्त्य मुनि! यस्तै किसिमले जुन-जुन स्थानमा सतीदेवीको अंग पतन भयो, त्यहाँ-त्यहाँ एक-एक पीठ र स्वयम्भू लिंग उत्पन्न हुँदै गयो । समस्त पीठको संख्या साढे सात करोड़ छ (७,५०,००,०००)। त्यसमध्ये पचास पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ । मनुष्य-जन्म पाएर ती पचास पीठमा एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसले जन्म
लिएको व्यर्थ हुन्छ भनी स्वयं ब्रह्माजीले आज्ञा भएको छ।


Comments
Post a Comment