प्रथमोऽध्यायः (अध्याय १)

श्रीगणेशाय नमः ।। श्रीसद्गुरुभगवतः चरणकमलेभ्यो नमः ।। श्रीस्वस्थानीदेव्यै नमः ।। श्रीशिवाय नमः ।। श्रीअधिष्ठातृधार्यिनाधिसयनीदेव्यै नमः ।।

पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका महर्षि अगस्त्य आफ्नो आश्रममा तपस्यामा लीन भई बस्नु भएको थियो। एक दिन आकासमार्ग हुँदै मयूरवाहनमा आरूढ भइ कुमार स्कन्द त्यही आश्रममा आइपुग्नुभयो। तेजस्वी कुमारलाई देखेर अगस्त्य मुनिले सत्कारपूर्वक स्वागत गर्नुभयो।
आसनमा विराजमान गराइसकेपछि अगस्त्य मुनिले विनम्रतापूर्वक भन्नुभयो, हे कुमार कार्तिकेय! तपाईँ सर्वज्ञ र देवताहरूका सेनापति हुनुहुन्छ। आज तपाईँ यहाँ मेरो आश्रममा पाल्नु भयो, यो मेरो महान सौभाग्य हो। मेरो मनमा एउटा गम्भीर जिज्ञासा उत्पन्न भएको छ। ब्रम्हादि त्रिदेवहरूको उत्पत्ति कसरी भयो? यो सृष्टिको उत्पत्ति कहिले र कसरी भयो? ब्रह्माण्डमा कतिवटा लोकहरू छन् र ती कुन-कुन हुन्? ब्रम्हाण्डीय समय चक्र कस्तो छ? विस्तार गरि वर्णन गर्नुहोस्।

अगस्त्य मुनिको प्रश्न सुनेर प्रसन्न चित्त गर्दै कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! सृष्टिको आदिमा यहाँ केही पनि थिएन र कोहि पनि थिएन। न सत्य थियो न असत्य थियो। न अस्तित्व थियो न अनस्तित्व नै थियो। न कुनै पदार्थ थियो न खाली ठाउँ नै थियो। यहाँ मात्र र एक मात्र अव्यक्त परब्रह्म परमात्मा (विर्षम्यधिका) थिए। अघि समय पनि नभएको कुनै समयमा अव्यक्त परब्रह्म परमात्मा व्यक्त भए। तर यो प्रथम पटक व्यक्त भएको पनि होइन। व्यक्त हुनु र अव्यक्त हुनुको यो अनन्त चक्र कति पटक घुम्यो भनेर कोही पनि जान्दैनन्। यदि कोहि जान्दछ भने त्यो केवल एक परब्रह्म परमात्मा नै हो।

परब्रह्म परमात्माद्वारा श्री शङ्कर्षणको (षिण) उत्पत्ति भयो जो शून्य भावका मालिक हुन्। अव्यक्त परब्रह्म कहिले व्यक्त भए, र उहाँबाट श्री शङ्कर्षणको उत्पत्ति कहिले भयो, यो कुरा कसैले पनि भन्न सक्दैन। परब्रम्ह परमात्माबाट नै सम्पूर्ण अध्यात्मिक तथा भौतिक ब्रम्हाण्डहरूको उत्पत्ति हुन्छ। उही परब्रम्ह परमात्मा, श्री नारायण रूपमा व्युत्पत्ति भइ वैकुण्ठ धाममा निवास गर्नुहुन्छ। नारायणबाट सृष्टिकर्मका लागि क्रमशः विभिन्न विष्णुतत्त्वहरू प्रकट हुन्छन्। सबैभन्दा पहिले महाविष्णु (कारणोदकशायी विष्णु) उत्पन्न भई कारणसागरमा शयन गर्नुहुन्छ, जसको श्वास–प्रश्वासबाट असङ्ख्य ब्रह्माण्डहरू उत्पन्न हुन्छन्। प्रत्येक ब्रह्माण्ड भित्र महाविष्णुको अंशरूप गर्भोदकशायी विष्णु प्रवेश गर्नुहुन्छ र उहाँको नाभिबाट उत्पन्न कमलबाट श्रीब्रह्माजी प्रकट भइ त्यस ब्रह्माण्डको सृष्टि व्यवस्था सञ्चालन गर्नुहुन्छ। गर्भोदकशायी विष्णुको अर्को विस्तारका रूपमा क्षीरसागरमा निवास गर्ने क्षीरोदकशायी विष्णु प्रकट हुनुहुन्छ, जो प्रत्येक जीव भित्र साक्षी भावमा रहने अन्तर्यामी परमात्मा हुन्। श्रीब्रह्माजीद्वारा सृष्टिका अनेक व्यवस्था र विविध शक्तिहरू उत्पन्न गर्ने क्रममा रुद्रवर्ग पनि प्रकट हुन्छ।

परब्रह्म परमात्माको शक्ति र इच्छाद्वारा नै सम्पूर्ण ब्रह्माण्डहरू र श्री ब्रम्हाजीको पनि उत्पत्ति हुन्छ। विश्वब्रह्माण्डमा एउटा ब्रह्माण्ड छ जुन उत्पत्ति र स्थान दुवै भावमा, न पहिलो न अन्तिम हो। यो ब्रह्माण्ड कहिले उत्पत्ति भयो भनेर यस संसारमा, स्वयं परब्रह्म बाहेक अरू कोही पनि जान्दैनन्। यही ब्रह्माण्ड नै त हाम्रो ब्रह्माण्ड हो, जहाँ अनन्त कोटी तारा र ग्रहहरू ब्रम्हाण्डीय गङ्गामा बगिरहेका छन्। तिनै अनन्त कोटी ग्रहहरू मध्य एउटा यो हाम्रो पृथ्वी हो, जहाँ बसेर आज हामी यो वार्तालाप गरिरहेका छौं। हाम्रो ब्रम्हाण्ड जस्तै अरु पनि अनन्त कोटी ब्रम्हाण्डहरू छन्। कोही ब्रम्हाण्ड हाम्रै ब्रम्हाण्डकै आकारका छन् भने कोही ब्रम्हाण्ड ठुला छन् र फेरि कोही ब्रम्हाण्ड साना पनि छन्। प्रत्येक ब्रम्हाण्डमा एउटा सृष्टिकर्ता ब्रम्हा, एउटा पालनकर्ता विष्णु र एउटा संहारकर्ता महेश्वर छन्। सबै ब्रम्हाण्डलाई समग्रमा विश्वब्रम्हाण्ड भनिन्छ र विश्वब्रम्हाण्डको स्वामी स्वयं परब्रम्ह परमात्मा नै हुन्। हाम्रो यस ब्रम्हाण्डमा १४ वटा प्रमुख लोकहरू छन्। भूर्लोक, भुवर्लोक , स्वर्लोक , महर्लोक , जनलोक , तपोलोक, र सत्यलोक (ब्रह्मलोक), यी सात लोकहरूलाई ऊर्ध्व लोक भनिन्छ। त्यसैगरी अतल, वितल, सुतल, तलातल, महातल, रसातल, र पाताल, यी सात लोकहरूलाई अधोलोक भनिन्छ।

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि! सृष्टिकर्ता ब्रह्माजीको एक दिनको अवधि एक कल्प बराबरको हुन्छ। त्यस्तै ब्रम्हाजीको एक रात पनि एक कल्प बराबरकै हुन्छ। एक कल्प अर्थात् ब्रम्हाजी को एक दिनमा १००० वटा चतुर्युग (महायुग) हुन्छन्। एउटा चतुर्युगको कुल अवधि दिव्य १२००० वर्षको हुन्छ। यही दिव्य १२००० वर्षमा सत्य युग ४८०० वर्षको हुन्छ , त्रेता युग ३६०० वर्षको हुन्छ , द्वापर युग २४०० वर्षको हुन्छ , र कलि युग १२०० वर्षको हुन्छ। एक कल्पमा जम्मा १४ वटा मनुहरूले यो ब्रम्हाण्डमा शासन गर्छन्। यस अनुसार एउटा मनुले ७१ चतुर्युग भन्दा अलि अधिक समय सम्म ब्रम्हाण्डमा शासन तथा भोग गर्छन्। १४ वटै मनुहरूको अवधि सकिएपछि (अर्थात् १ कल्प सकिएपछि) अर्को एक कल्पसम्म सृष्टिकर्ता ब्रम्हाजीको रात हुन्छ जुन अवधि भरि उहाँ सुत्नुहुन्छ।

कुमारजी भन्नुहुन्छ हे अगस्त्य मुनि! ब्रह्माजी सुत्नुभए पछि महाकालद्वारा सृष्टिमा समयको सक्रिय प्रवाह रोकिन्छ। यस अवधिमा सम्पूर्ण ब्रह्माण्डीय गतिविधि अस्थायी रूपमा स्थगित हुन्छन्। त्रिलोक (१) अन्धकारमा विलीन हुन्छन् र सबै जीवात्माहरू अव्यक्त, मौन अवस्थामा लीन रहन्छन्। सूर्य र चन्द्रमाको प्रकाश पनि हराउँछ। त्यसपछि शङ्कर्षणको मुखबाट उत्पन्न अग्निले त्रिलोक दग्ध हुन्छ, समुन्द्रहरू उर्लन्छन् र प्रचण्ड हावाहुरी चल्छ। यस महाप्रलयको तापले महर्लोकका भृगु आदि ऋषिहरू समेत पीडित हुन्छन् र उनीहरू जनलोकतर्फ सर्दछन्। यसले जनाउँछ कि महर्लोक पनि पूर्ण रूपमा सुरक्षित छैन, केवल ब्रह्मज्ञानमा स्थित उच्च लोकहरू मात्र प्रलयबाट अप्रभावित रहन्छन्। अर्को कल्पमा ब्रम्हाजी जाग्नु भए पछि फेरि पहिले जसरी नै विभीन्न लोकहरूको सृष्टि कार्य आरम्भ हुन्छ।

स्कन्दकुमारबाट यस प्रकारले ब्रम्हाण्डीय समय चक्रको ज्ञान पाएपछि अगस्त्य मुनि प्रश्न गर्नुहुन्छ, हे कुमार स्कन्द! ब्रम्हाजीको एक दिनको एक कल्प हुन्छ भन्नुभयो। यस्ता प्रकारले ब्रम्हाजीको आयु कति व्यतित भयो ? अघि कुन-कुन कल्पहरू भए, र वर्तमानमा चलिरहेको कल्पको के नाम हो ?

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! सृष्टिकर्ता ब्रह्माजीको आयु १०० वर्षको हुन्छ। ब्रह्माजीको जीवनको पहिलो परार्ध (५० वर्ष) समाप्त भइसकेको छ र अहिले हामी दोस्रो परार्धको आरम्भिक चरणमा छौं। अघि अनेक कल्पहरू भए जसमध्यमा सबैलाई सम्झिन निकै कठिन छ। पहिलो परार्धको आरम्भ ब्राह्म कल्पबाट भएको मानिन्छ। यस कल्पमा ब्रह्माको प्राकट्य भयो र उनि वेदध्वनिको स्रोतका रूपमा प्रकट भए। त्यसपछि अत्यन्त दीर्घ कालपश्चात् पाद्मकल्प आरम्भ भयो जहाँ भगवान्को नाभिबाट उत्पन्न कमलबाट ब्रह्माण्डको प्रस्फुटन भयो। वर्तमान समयमा श्वेतवाराह कल्प चलिरहेको छ। यस कल्पमा भगवान् स्वयं वराह अवतारका रूपमा प्रकट भई पृथ्वीको उद्धार गर्नुभयो।

हे मुनि! एक कल्प (ब्रह्माको एक दिन) भित्र १४ मनु हुन्छन्, र प्रत्येक मनुको शासनकाललाई मन्वन्तर भनिन्छ। वर्तमान समयको श्वेतवाराह कल्पका १४ मनुहरू यस प्रकार छन्— १. स्वायम्भुव मनु, २. स्वारोचिष मनु, ३. उत्तम मनु, ४. तामस मनु, ५. रैवत मनु, ६. चाक्षुष मनु, ७. वैवस्वत मनु, ८. सावर्णि (सूर्यसावर्णि) मनु, ९. दक्षसावर्णि मनु, १०. ब्रह्मसावर्णि मनु, ११. धर्मसावर्णि मनु, १२. रुद्रसावर्णि मनु, १३. देवसावर्णि मनु, र १४. इन्द्रसावर्णि मनु।

यी मध्य प्रथम छः मनुहरू व्यतीत भइसकेका छन्। वर्तमान मन्वन्तरका अधिष्ठाता वैवस्वत मनु हुन् जो सूर्यदेव विवस्वानका पुत्र हुन् र अहिले चलिरहेको मन्वन्तर वैवस्वत मन्वन्तर हो। यसै मन्वन्तरमा सत्य-त्रेता-द्वापर-कलि, यी चतुर्युगहरू २७ पटक पूर्णतः व्यतीत भइसकेको छ। २८ औं चक्रमा पनि सत्य, त्रेता र द्वापर युग बितिसकेर अहिले कलियुग चलिरहेको छ।

यस मन्वन्तरमा देवताहरूका राजाका रूपमा पुरन्दर शक्र इन्द्र कार्यरत छन्। वेद, धर्म र ऋतको संरक्षणका लागि यस कालमा कश्यप, अत्रि, वसिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भरद्वाज, यी सात जना महर्षिहरू सप्तऋषिका रूपमा स्थापित छन्। साथै आदित्य, वसु, रुद्र, अश्विनीकुमार र मरुतजस्ता देवगणहरूले ब्रह्माण्डीय व्यवस्था सञ्चालनमा सहयोग गरिरहेका छन्।

वैवस्वत मन्वन्तरपछि भविष्यमा सावर्णि मन्वन्तर आरम्भ हुनेछ। त्यस मन्वन्तरका अधिष्ठाता सावर्णि मनु हुनेछन्। भगवान् विष्णुको विशेष अनुग्रहले हालका महाभक्त बली महाराज त्यस मन्वन्तरमा इन्द्र पद प्राप्त गर्नेछन्। त्यतिबेला ब्रह्माण्डीय धर्म–संरक्षणको दायित्व दीप्तिमान, गलव, राम, कृपाचार्य, द्रोणपुत्र अश्वत्थामा, व्यास र ऋष्यशृङ्ग, यी सात महर्षिहरूले सप्तऋषिका रूपमा वहन गर्नेछन्। सुतपाः, अमिताभाः, मुख्याः र सत्याः नामक देवगणहरू त्यस मन्वन्तरका प्रमुख सहायक देवताहरू हुनेछन्।

॥ इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानीपरमेश्वर्यां ब्रतकथायां सृष्टिक्रमवर्णनं नाम प्रथमोऽध्यायः ॥ १ ॥


(१) त्रिलोक : त्रिलोक भन्नाले स्वर्ग , मर्त्य, र पातल लोक भनि बुझिन्छ। स्वर्गलोक भन्नाले भुवर्लोक र स्वर्लोकलाई बुझ्नुपर्छ। मर्त्यलोक भन्नाले भूर्लोकलाई बुझ्नुपर्छ। पातललोक भन्नाले अतल, वितल आदि सात अधोलोकहरूलाई बुझ्नुपर्छ। ब्रम्हाजी सुत्नुभए पछि हुने त्रिलोकको प्रलय भन्नाले स्वर्ग , मर्त्य, र पातल लोक अन्तर्गत पर्ने कम्तिमा एक लोक वा अधिकमा सबै लोकहरूको प्रलयलाई बुझ्नुपर्छ।

Comments