उत्तरगया धाम, वेत्रावती ।। Uttargaya Dham, Betrawati

Kushesvar Mahadev Temple

उत्तरगया नेपालको नुवाकोट र रसुवा जिल्लाको सिमानामा अवस्थित एक प्रसिद्ध तथा पवित्र, पौराणिक तिर्थस्थल हो। यो पवित्र तिर्थस्थल नुवाकोट जिल्लाको वेत्रावती बजारकै छेउमा पर्दछ।

उत्तरगया धामको पौराणिक पृष्ठभूमि

सत्ययुगमा
धेरै पहिले सत्ययुगमा गयासुर नामका एक दानव थिए। उनले कठोर तपस्या गरी ब्रह्माबाट यस्तो वरदान प्राप्त गरे कि जसले उनलाई देख्छ, उसले मोक्ष प्राप्त गरोस्। तर मोक्ष त धर्मपूर्वक जीवन यापन गरेर प्राप्त गर्नुपर्ने भएकाले, आचरण र सदाचार बिना नै मानिसहरू सजिलै मोक्ष प्राप्त गर्न थाले। यस अवस्थाले धर्मव्यवस्थामा असन्तुलन ल्याएपछि भगवान् विष्णुले गयासुरलाई पृथ्वीभित्र अवतरण गर्न आग्रह गर्नुभयो र आफ्नो दाहिने चरण गयासुरको शिरमा राख्नुभयो। गयासुर पृथ्वीभित्र प्रविष्ट गरेको स्थान नै पछि गयाधामका रूपमा प्रसिद्ध भयो।

त्रेतायुगमा
त्रेतायुगमा भगवान् राम, माता सीता तथा भ्राता लक्ष्मण सहित गयाधाममा पधार्नुभयो। त्यहाँ उहाँहरूले दिवंगत राजा दशरथका निम्ति श्राद्ध–कर्मअन्तर्गत पिण्डदान गर्नुभयो। यस पवित्र कृत्यपछि गयाधाम पितृहरूका लागि पिण्डदान गर्ने अत्यन्त पुण्यस्थलका रूपमा प्रसिद्ध भयो।

वर्तमान कालमा:
आजको समयमा बेत्रावतीस्थित गयालाई उत्तरगया भनेर चिनिन्छ। यहाँ जीवित छोरा–छोरीहरूले आफ्ना पितृहरूको निम्ति श्राद्ध विधिअन्तर्गत पिण्डदान गर्ने परम्परा प्रचलित छ। गया श्राद्धलाई पितृलोकमा वास गर्ने पूर्वजहरूप्रति प्रत्येक पुस्ताले निर्वाह गर्नुपर्ने कर्तव्य मानिन्छ। परम्पराअनुसार, प्रत्येक सन्तानले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गया श्राद्ध गर्नुपर्ने विश्वास रहेको छ। नेपाली हिन्दू समाजमा पटनानजिकको गया जानु अघि बेत्रावतीको उत्तर गयामा श्राद्ध सम्पन्न गर्नु आवश्यक भन्ने दृढ मान्यता व्यापक रूपमा पाइन्छ।

उत्तरगया धाममा अवस्थित त्रिवेणी सङ्गम

अघि सत्ययुगमा देवता र दानवहरूले समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिले हलाहल विष निस्कियो। संसारको रक्षा हेतु भगवान् महादेवले उक्त विष पान गर्नुभयो। संसारको रक्षा त भयो तर विषको प्रभावले महादेवलाई असह्य पीडा भयो। पीडाको आवेशमा उहाँले हातमा समातिराखेको वेत (वेत्र) भुईँमा फाल्नुभयो। वेत बजारिएको स्थानबाट तातो पानीको भुल्को निस्कियो जसले एउटा नदीको रूप लियो। वेतको प्रहारबाट उत्पन्न भएकी यो नदी आज वेत्रावती गङ्गाको नामले चिनिन्छ।

भगवान् महादेवले वेत्रावतीको तातो पानी पिउनु भयो तथापि उहाँको पीडा र विषको ताप कम भएन। त्यसपछि उहाँले पीडाकै आवेशमा आफुले धारण गरिराखेको रुद्राक्ष माथि डाँडामा बजार्नुभयो। रुद्राक्ष बजारिएको स्थानबाट रुद्रवती नामकी नदी प्रकट भइन् जुन वर्तमान समयमा फलाँखु नदीको नामले चिनिन्छ। भगवान् महादेवले रुद्रवती नदीको पानी पिउनु भयो र एक रात त्यहीँ विश्राम गर्नुभयो।

तर उहाँको पीडा अझै पूर्णतः जाती नभए पछि उहाँ अहिलेको गोसाई कुण्ड भएको स्थान तिर जानुभयो र पीडाकै आवेगमा आफ्नो त्रिशुल भुईँमा गाड्नुभयो जहाँबाट त्रिशुली नदीको उत्पत्ति भयो। भगवान् महादेवले त्रिशुली नदीको पानी पिउनु भयो र अन्ततः उहाँको पीडा शान्त भयो।

यी तिनवटै नदीहरूको सङ्गम नुवाकोट र रसुवाको सिमानामा स्थित उत्तरगया धाममा रहेको छ। फलाँखु नदी अलिक माथि नै वेत्रावती नदी सङ्ग मिल्छ भने, फलाँखु सहितको वेत्रावती नदी उत्तरगया धाममा आएर त्रिशुली नदी सङ्ग मिल्छ।

उत्तरगया धाममा अवस्थित मन्दिरहरू

  • निलकण्ठ महादेव मन्दिर
  • राम मन्दिर
  • ६४ शिवलिङ्ग परिक्रमा स्थल
  • सुगतमुनि विहार

Litterateur

Page article "उत्तरगया धाम, वेत्रावती ।। Uttargaya Dham, Betrawati" - by Dr. Kalinkaar Dipendra

References

  • योगी नरहरिनाथ सङ्कलित स्कन्दपुराण अन्तर्गतको हिमवत्खण्ड, प्रकरण ३, अध्याय ४५ । पृष्ठ सङ्ख्या ४२० । प्रा. डा. वेणीमाधव ढकाल । विद्यार्थी पुस्तक भण्डार, २०७५
  • Himavatkhanda - Skanda Purana | Internet Archive | Page 420 | Click here to see online archive

First published on: December 20, 2025
Last updated on: December 20, 2025

Do you want to add, change or edit parts of this article? Do you want to comment on this article?Click here to send your suggestions / corrections / comments


For editors