Devighat Dham
देवीघाट नेपालको नुवाकोट जिल्लामा अवस्थित एक महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो। काठमाडौंबाट करिब ६० किलोमिटर उत्तरतर्फ पर्ने यो स्थान दुई प्रमुख नदी, त्रिशुली र तादीको संगमस्थलमा अवस्थित छ। यस भूभागको प्राकृतिक सुन्दरता, हरियाली र नदीहरूको सङ्गमले यसलाई पर्यटक र साधकहरूका लागि मनमोहक स्थल बनाएको छ।
धार्मिक दृष्टिले, देवीघाट धाममा प्रसिद्ध जालपा देवी मन्दिर र भैरवेश्वर महादेव मन्दिर अवस्थित छन्। भैरवेश्वर महादेव मन्दिरमा स्थित शिवलिङ्ग, नेपालका ६४ दिव्य शिवलिङ्गमध्ये एकको रूपमा परिचित छ। श्रद्धालुहरू चैत्र शुक्ल पूर्णिमाको दिन ठूलो सङ्ख्यामा देवीघाट पुगेर पूजा अर्चना गर्दछन्। यहाँको तीर्थस्थलहरू केवल धार्मिक मात्र नभई आध्यात्मिक साधनाको केन्द्र पनि मानिन्छ।
देवीघाट नेपालको एक प्रमुख ऐतिहासिक स्थल पनि हो। यही स्थानमा महान् राजा पृथ्वीनारायण शाहले आफ्नो अन्तिम श्वास लिएका थिए र दाहसंस्कार पनि यहीँ सम्पन्न भएको थियो।
पाँच नदीहरूको सङ्गम स्थल देवीघाट धाम
दुई प्रमुख नदीहरूको सङ्गमस्थलको रूपमा प्रख्यात भएतापनि, देवीघाट क्षेत्र वस्तुतः पाँच भिन्न भिन्न नदीहरूको सङ्गम स्थल हो। यस क्षेत्रमा त्रिशुली सङ्ग तादी नदी, त्रिशुली सङ्ग घर्घरा नदी, त्रिशुली सङ्ग शिप्रा नदी, र त्रिशुली सङ्ग तप्तवति नदीको सङ्गम हुन्छ।
देवीघाट धाममा स्थित भैरवेश्वर शिवलिङ्ग
अभूत-संवर्त नामक महाप्रलयको समयमा भगवान् शिव भैरवरूप धारण गरी सम्पूर्ण चल-अचल प्राणीहरूलाई संहार गर्छन्, जसका फलस्वरूप पृथ्वी पूर्णतः निःसत्त्व, जीवविहीन र शून्यजस्तै अवस्थामा परिवर्तित हुन्छ। सृष्टि पूर्णतया रिक्त बनेपछि शिव स्वयं हिमालय क्षेत्रमा गएर बस्छन्। यही क्रममा भैरवरूप शिवले हिमालयको काखमा रहेको एक अत्यन्त पवित्र तीर्थस्थल देख्दछन्। उनले यो स्थान अन्य सबै पुण्यस्थलभन्दा सर्वोच्च पवित्र छ भनि बुझि त्यही स्थानमा दिव्यलिङ्गको रूपमा प्रकट भइ निवास गर्छन्। यही स्थान नै पछि भैरवेश्वर महादेवको रूपमा परिचित हुन्छ, जुन आज देविघाट धाममा दर्शन गर्न सकिन्छ।

