उत्तरगया धाम वेत्रावती

Kushesvar Mahadev Temple

अघि सत्ययुगमा देवता र दानवहरूले समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिले हलाहल विष निस्कियो। संसारको रक्षा हेतु भगवान् महादेवले उक्त विष पान गर्नुभयो। संसारको रक्षा त भयो तर विषको प्रभावले महादेवलाई असह्य पीडा भयो। पीडाको आवेशमा उहाँले हातमा समातिराखेको वेत (वेत्र) भुईँमा फाल्नुभयो। वेत बजारिएको स्थानबाट तातो पानीको भुल्को निस्कियो जसले एउटा नदीको रूप लियो। वेतको प्रहारबाट उत्पन्न भएकी यो नदी आज वेत्रावती गङ्गाको नामले चिनिन्छ।

भगवान् महादेवले वेत्रावतीको तातो पानी पिउनु भयो तथापि उहाँको पीडा र विषको ताप कम भएन। त्यसपछि उहाँले पीडाकै आवेशमा आफुले धारण गरिराखेको रुद्राक्ष माथि डाँडामा बजार्नुभयो। रुद्राक्ष बजारिएको स्थानबाट रुद्रवती नामकी नदी प्रकट भइन् जुन वर्तमान समयमा फलाँखु नदीको नामले चिनिन्छ। भगवान् महादेवले रुद्रवती नदीको पानी पिउनु भयो र एक रात त्यहीँ विश्राम गर्नुभयो।

तर उहाँको पीडा अझै पूर्णतः जाती नभए पछि उहाँ अहिलेको गोसाई कुण्ड भएको स्थान तिर जानुभयो र पीडाकै आवेगमा आफ्नो त्रिशुल भुईँमा गाड्नुभयो जहाँबाट त्रिशुली नदीको उत्पत्ति भयो। भगवान् महादेवले त्रिशुली नदीको पानी पिउनु भयो र अन्ततः उहाँको पीडा शान्त भयो।

यी तिनवटै नदीहरूको सङ्गम नुवाकोट र रसुवाको सिमानामा स्थित उत्तरगया धाममा रहेको छ। फलाँखु नदी अलिक माथि नै वेत्रावती नदी सङ्ग मिल्छ भने, फलाँखु सहितको वेत्रावती नदी उत्तरगया धाममा आएर त्रिशुली नदी सङ्ग मिल्छ।

Comments