Bhairaveswar Mahadev Temple (26/64)
नेपालको नुवाकोट जिल्लामा देवीघाट नामले प्रसिद्ध एक ऐतिहासिक तथा पवित्र धार्मिक स्थल छ। यो पवित्र धाम त्रिशुली नदी र तादी नदीको सङ्गमस्थलमा छ। यसै देवीघाट धाममा भैरवेश्वर महादेवको मन्दीर छ। यस मन्दीरमा रहेको शिवलिङ्ग नेपालमा स्थित ६४ दिव्यलिङ्गहरू मध्यको एक हो।
भैरवेश्वर शिवलिङ्गको पौराणिक इतिहास
अभूत्संवर्त्तको विप्र ! कालाग्निरुद्रशङ्करः। पूर्वं भैरवरूपेण जघास सर्वजङ्गमान् ॥७॥निःसत्त्वां मेदिनीं कृत्वा शून्याञ्च सर्वजन्तुभिः। स्वयं हिमालये स्थातुमत्रैव प्राप्तवान् विभुः॥८॥
ददर्श भैरवोऽसौ हि चैत्त्तीर्यं शिवात्मकम्। पुण्यात् पुण्यतमं ज्ञात्वा चाऽवात्सीदत्र जीवने॥९॥
हिमवत्खण्डमा वर्णित यी श्लोकहरू देविघाट क्षेत्रस्थित भैरवेश्वर महादेवको उत्पत्तिसम्बन्धी अत्यन्त प्राचीन आख्यानका अंश हुन्। अभूत-संवर्त नामक महाप्रलयको समयमा भगवान् शिव कालाग्निरुद्र तथा भैरवरूप धारण गरी सम्पूर्ण चल-अचल प्राणीहरूलाई संहार गर्छन्, जसका फलस्वरूप पृथ्वी पूर्णतः निःसत्त्व, जीवविहीन र शून्यजस्तै अवस्थामा परिवर्तित हुन्छ। सृष्टि पूर्णतया रिक्त बनेपछि शिव स्वयं हिमालय क्षेत्रमा गएर बस्छन्। यही क्रममा भैरवरूप शिवले हिमालयको काखमा रहेको एक अत्यन्त पवित्र तीर्थस्थल देख्दछन्। उनले यो स्थान अन्य सबै पुण्यस्थलभन्दा सर्वोच्च पवित्र छ भनि बुझि त्यही स्थानमा दिव्यलिङ्गको रूपमा प्रकट भइ निवास गर्छन्। यही स्थान नै पछि भैरवेश्वर महादेवको रूपमा परिचित हुन्छ, जुन आज देविघाट धाममा दर्शन गर्न सकिन्छ। यस प्रकार, हिमवत्खण्डले भैरवेश्वर महादेव मन्दिरको उत्पत्तिलाई प्रलयकालीन शिव–भैरवको आविर्भाव र उनको नित्यबाससङ्ग जोडेर अत्यन्त रहस्यमयी, पौराणिक र आध्यात्मिक महिमा प्रदान गरेको छ।
भैरवेश्वर लिङ्ग सङ्ग सम्बन्धित पौराणिक कथाहरू
ब्रम्हाजी को तपस्याअघि प्रलयकाल समाप्त भएको हजारौँ वर्षपछि ब्रह्माजी त्यहाँ आउनुभयो र जलमा स्नान गरेर भैरवको स्तुति गर्नुभयो। भैरवबाट वर प्राप्त गरी ब्रह्माजीले पुनः प्राणीहरूको सृष्टि गर्नुभयो।
एकाक्ष नामका वैश्यको तपस्या
एकाक्ष नामका वैश्यले अघिल्लो जन्ममा मानिसहरूले देवतालाई चढाएको बत्तीको आधा भाग चोरेका थिए। त्यसै पापको फलस्वरूप उनि अर्को जन्ममा एउटामात्र आँखा देख्ने कानो भए र संसारका निन्दाका कारण अत्यन्त दुःखी जीवन बिताइरहे। एक दिन उनले धर्मशर्मा नामका विद्वानलाई आफ्ना दुःखको कारण सोधे। धर्मशर्माले कर्मको फल अवश्य भोग्नुपर्ने बताउँदै नेपालका पवित्र तीर्थहरू दर्शन गर्न र उत्तरतर्फ रहेको भैरव तीर्थमा स्नान तथा दीपदान गरि भैरवेश्वर लिङ्गको दर्शन गर्न सुझाए।
विद्वानको सल्लाह मानेर वैश्य तीर्थयात्रामा निस्किए। विभिन्न तीर्थ घुम्दै अन्ततः भैरवतीर्थ (देवीघाट) आइपुगे। उनले त्यहाँ स्नान गरे, शिवलिङ्गको पूजा गरे, र साँझ तामाको दीपमा घिउको बत्ती बालेर शिवलाई अर्पण गरे।
त्यसबेला पानीबाट एउटा गोही आएर वैश्यलाई समातेर पानीभित्र तान्यो। तत्कालै शिवदूतहरू फूलवर्षा र बाजागाजासहित प्रकट भए र वैश्यलाई पुष्पक विमानमा चढाएर शिवलोकतिर लगे। भैरव अवतारको कृपाले त्यो एकाक्ष वैश्य प्रमथगणहरूमा प्रमुख भई शिवजीकै समीप रहन पाए।
चर्मरोगले पीडित भएर भौतारिइरहेका विरूपाक्ष नामका एक ब्राह्मण थिए। एक दिन उनी ने मुनिको आश्रयमा पुगे। नेमुनिको सल्लाह मान्दै उनले पवित्र कोशी नदीमा स्नान गरे, आदिलिङ्गको पूजा गरे र कठोर तपस्या आरम्भ गरे। यसै साधनाको प्रभावले उनको चर्मरोग पूर्णतः निको भयो। त्यसपछि नेमुनिसङ्गै उनले नेपालको विभिन्न तीर्थस्थल तथा चौंसठी लिङ्गहरूको दर्शन यात्रा गरे। यही क्रममा भैरवेश्वर महादेवको क्षेत्रमा आइपुगि माघ शुक्ल चतुर्दशीका दिन भक्तिभावले लिङ्गको पूजा गरेर त्यहीँ जाग्राम बसे।
महत्वपूर्ण सूचनायस आलेखमा समावेश गरिएका सम्पूर्ण जानकारीहरू, हालसम्म विभिन्न ग्रन्थहरूको अध्ययन, स्थलगत भ्रमण र स्थानियहरू सङ्गको वार्तामा आधारीत छ। तथापि 'भैरवेश्वर लिङ्ग'को वास्तविक स्थानको निर्क्योलमा अझै केही संशय भएकोहुनाले लेखकद्वारा यस आलेखलाई निष्पत्ति गरिएको छैन।


