मुकुन्देश्वर महादेव
नेपालको ७७ जिल्लामध्ये एक पाल्पा हो। प्राचीन कालमा यही पाल्पामा मुकुन्दसेन नामका राजा राज्य गर्थे। एक समय उनले सम्पूर्ण राजसी सुविधा त्यागेर त्रिशूली र कालीगण्डकी नदीको संधिस्थल देवघाट धाम प्रस्थान गरे। त्यहाँ पुगेर उनले कठोर तपस्या आरम्भ गरे।
एक रात राजाले भगवान श्री महादेव द्वारा भएको आकाशवाणी सुने, "हे राजन्! उठ र मैले अर्पण गरेको यो तरवार लिउ। मेरो कृपाद्वारा यस
तरवारद्वारा शत्रु जितेर तिमी चाँडै नै चक्रवर्ती राजा होउला।"
आकासवाणी सुनेर विस्मित भएका वीर राजाले उठेर हेर्दा आफ्ना अगाडि भूमिमा रहेको उत्तम खड्ग देखे। राजाले आकासवाणीको सम्पूर्ण वृत्तान्त
ब्राह्मणहरूलाई सुनाए। त्यही बेला राजाले आफ्नो समक्षमा पुरानो र पवित्र शिवलिङ्ग देखे। उनले ब्राह्मणहरू सङ्ग यो उत्तम लिङ्ग के हो भनि प्रश्न गरे।
ब्राह्मणहरूले भने, हे राजन्! तपाईँले आकाशवाणी सुन्नुभयो र उठेर हेर्दा यहाँ दिव्य शिव लिङ्ग प्राप्त पनि भयो। यो भगवान श्री महादेवको आशिर्वाद हो। यस शिवलिङ्गलाई भगवान श्री महादेवको दिव्यलिङ्गकोरूपमा स्थापना गरी मन्दिर निर्माण गर्नुहोस्।
राजाले मन्दिरको निर्माण गरि दिव्यलिङ्गको स्थापना गरे। उनले सोधे, यस लिङ्गलाई कुन नामले सम्बोधन गरुँ? ब्राह्मणहरूले उत्तर दिए, यो दिव्यलिङ्ग तपाईँले नै प्रथमतः प्राप्त गर्नुभयो, अतः यसलाई ‘मुकुन्देश्वर महादेव’ भनेर नै पूजन गरियोस्।
यसरी राजा मुकुन्दसेनले त्यहाँ मुकुन्देश्वर महादेवको मन्दिर स्थापना गरे। आज पनि त्यो मन्दिर नेपालकै तनहुँ जिल्लास्थित देवघाट धाममा अवस्थित छ।
श्लोक
तानुवाच नृपो विप्रान् नाम्ना केन प्रपूज्यते। ऊचुस्ते नृपति राजन्।
द्रष्टाष्स्य प्रथमो भवाम् ॥
तथापि शिवभक्तोसि नृपत्वादच्युतांशकः ।
अतस्त्वन्नामधेयेन लिङ्गनामा भिधीयते ॥
पूज्यतां परया भक्त्या मुकुन्देश्वरसंज्ञया ।
दद्याद् भुक्तिञ्च मुक्तिञ्च स्वयम्भूः शम्भुरेष वै ॥
हिमवत्खण्डको परिशिष्टाङ्कबाट उद्धृत गरिएको यस अंशमा ब्राम्हणहरूले राजालाई यो शिवलिङ्ग सर्वप्रथम तपाईँले नै दर्शन गर्नु भएकोले यस शिवलिङ्गलाई मुकुन्देश्वर महादेव भनि सम्बोधन गरेर विधिपूर्वक पुजा गर्नुहोस् भन्दैछन्।


