महर्षि वेदव्यास
महर्षि वेदव्यासको परिचय
सनातन परम्पराका महान ऋषिमध्ये एक महर्षि वेदव्यासको जन्म, वर्तमान नेपालको तनहुँ जिल्लाको दमौलीमा, सेती गण्डकी र माद्री गण्डकीको संगमबाट बनेको टापुमा भएको हो। उहाँको पूर्ण नाम श्रीकृष्ण द्वैपायन व्यास हो।
महर्षि वेदव्यासको मूल नाम कृष्ण हो। दुई नदीको बीचमा रहेको द्वीपमा जन्मनुभएकोले उहाँलाई "द्वैपायन" भनियो। वेदलाई चार भागमा—ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद—विभाजन गर्नुभएकोले उहाँलाई वेदव्यास भनियो। विश्वकै सबैभन्दा लामो महाकाव्यहरूमध्ये एक जयकाव्यका (महाभारत) रचयिता श्री वेदव्यासजी हुनुहुन्छ। यसै जयकाव्यमा आध्यात्मिक दृष्टिले अति महत्वपूर्ण ग्रन्थ "श्रीमद्भगवद्गीता" पनि समावेश छ।
महर्षि वेदव्यासलाई शास्त्रहरूमा भगवान् विष्णुको आंशिक अवतार (अंशावतार) भनिएको छ। उहाँले वेदलाई चार भागमा संकलन गर्नुभयो र अठार पुराण, जयकाव्य (महाभारत), तथा ब्रह्मसूत्रको रचना गर्नुभयो।
महर्षि वेदव्यासको जन्म
सन्दर्भ: स्कन्द पुराण, हिमवत् खण्ड, परिशिष्टाङ्क, पारकोट महिमा
माद्रिका शुक्लगण्डक्यो:संगमे शंकराभिदम् ।।54
तपश्चकार तत्रैव परासरमहामुनि ।
परासर गुह्यतत्र तपसिद्विप्रदायिनी।।55
जज्ञे मत्स्योदरिपुत्रस्तत्रद्विपे पराशरात्।
पुराणसंहिताकर्ता वेदशास्त्रप्रवर्तक: ।।56
महर्षि वेदव्यास गण्डकी नदीका सात शाखामध्ये पर्ने मादी र सेती नदीहरूको संगममा बनेको टापुमा जन्मनुभएको थियो। उहाँका पिता ऋषि पराशर थिए।
एकपटक ऋषि पराशर गण्डकी नदी पार गर्न चाहनुहुन्थ्यो। मत्स्यगन्धा नामकी एक माझी कन्याले उहाँलाई डुंगामा बसाली नदि तर्न सहायता गरिन्। नदिको माझधारमा पुगेपछि ऋषिले मत्स्यगन्धासङ्ग सन्तान प्राप्त गर्ने इच्छा व्यक्त गर्नुभयो। मत्स्यगन्धा संकोचमा परिन् र आफ्नो मर्यादाको चिन्ता व्यक्त गरिन्। त्यसपछि ऋषिले नजिकैको टापुमा बाक्लो कुहिरो (धूम्र) फैलाएर एक गोप्य स्थान सिर्जना गर्नुभयो। त्यहाँ मत्स्यगन्धाले गर्भ धारण गरिन् र तुरुन्तै एक पुत्र जन्माइन्।
ऋषि पराशरले बालकको नाम कृष्ण द्वैपायन राख्नुभयो, जसमा "कृष्ण" उहाँको कालो वर्णका कारण र "द्वैपायन" टापुमा जन्म भएकाले राखियो। ऋषि पराशरले मत्स्यगन्धाको कौमार्य पुनःस्थापित गरेर उनलाई दिव्य सुगन्धको वरदान तथा सत्यवती नाम दिनुभयो। बालकले आफ्नी आमालाई भविष्यमा आवश्यक परेको खण्डमा आफु अवश्य आउने वाचा गरि आफ्ना पितासङ्ग तपस्या गर्न गए।
महर्षि वेदव्यासको जन्मस्थान
महर्षि वेदव्यास जन्मनुभएको, मादी गण्डकी र सेती गण्डकी नदीको संगमस्थल, हाल नेपालको तनहुँ जिल्लाको दमौली शहरमा पर्छ।
"दमौली" शब्दको उत्पत्ति मूलशब्द "धूम्र" (घना कुहिरो) बाट भएको हो। जहाँ ऋषि पराशरले बाक्लो कुहिरो सिर्जना गर्नुभएको थियो, त्यस स्थानमा निरन्तर कुहिरोले ढाकिरहन्थ्यो। समयक्रममा "धूम्र" शब्द रूपान्तर भई धुम्मौली हुँदै "दमौली" बनेको हो। आज पनि यस शहरमा जाडो महिनामा बाक्लो कुहिरो देख्न सकिन्छ, जसको कारण दिउँसो केही घण्टामात्र सुर्यको दर्शन हुन्छ।
सेती र मादी नदिको संगम नजिकै व्यास गुफा र महर्षि पराशरलाई समर्पित मन्दिरहरू अवस्थित छन्। दमौली शहर "व्यास नगरपालिका" भित्र पर्दछ, जसको नाम महान ऋषि महर्षि वेदव्यासको सम्मानमा राखिएको हो।
The confluence of Seti Gandaki and Madi Gandaki in Damauli
महाभारतमा महर्षि वेदव्यासको जन्मको वर्णन
महर्षि वेदव्याशको जन्मको वृत्तान्त महाभारतको आदिपर्वमै मिल्दछ। महर्षि पराशर तीर्थयात्रा गर्दै गर्दा यमुना नदीको किनारमा पुगे। त्यहाँ त्यस समयमा माझीहरूको राजा दाशराजकी छोरी सत्यवती डुंगा चलाइरहेकी थिइन्। महर्षि पराशर उनको डुंगामा बसे। सत्यवतीको सुन्दरता देखेर महर्षिको मन मोहित भयो, र उनले उनलाई पत्नी बनाउन चाहे।
सत्यवती एक माझीकन्या भएकोले उनको शरीरबाट सधैँ माछाको गन्ध आउँथ्यो, जसकारण उनलाई "मत्स्यगन्धा" पनि भनिन्थ्यो। महर्षिको इच्छा थाहा पाएर सत्यवती संकोचमा परिन्। उनले भनिन्, "नदीका दुवै किनारमा महर्षिहरू स्नान आदि गरिरहेका छन्, यस्तो अवस्थामा यो कसरी सम्भव हुन्छ?"
त्यसपछि पराशरले आफ्नो तपस्याको प्रभावले चारैतिर बाक्लो कुहिरो उत्पन्न गरे, जसले गर्दा चारैतिर अन्धकार छायो। त्यसपछि महर्षिले सत्यवतीलाई वरदान दिए कि पुत्र जन्मिएपछि उनी पुनः कन्या हुनेछिन्, र उनको शरीरबाट आउने दुर्गन्ध हटेर सुगन्ध निस्कनेछ। यो सुगन्ध एक योजन (झन्डै ८ किलोमिटर) टाढासम्म महशुस गर्न सकिन्थ्यो। त्यसैले सत्यवतीलाई "योजनगन्धा" भनेर पनि चिनिन्थ्यो।
यसरी सत्यवतीबाट पराशरले यमुनाको एक टापुमा एक पुत्रलाई जन्म दिए। घना अन्धकार भएको अवस्थामा जन्मिएका कारण ती बालकको वर्ण कृष्ण (कालो) रह्यो, त्यसैले उनको नाम "कृष्ण" रह्यो। र, द्वीपमा जन्म भएका कारण उनलाई "द्वैपायन" भनेर पनि चिनियो। पछि, उनले वेदहरूको व्यवस्थापन गरेर तिनीहरूलाई विषयअनुसार अलग-अलग विभाजन गरे, जसकारण उनलाई "व्यास" भन्ने नाम प्राप्त भयो।


Comments
Post a Comment