ऋषि शौनक

Sage Saunak ऋषि शौनक

ऋषि शौनक

ऋषि शौनक वैदिक ग्रन्थहरू, महाकाव्यहरू, र पुराणहरूमा उल्लेखित एक प्रसिद्ध ऋषि हुन्। उहाँ विशेष रूपमा शौनक संहिता (अथर्ववेदको एक संस्करण) का प्रमुख सम्पादकको रूपमा परिचित हुनुहुन्छ। साथै, बृहद्देवता र शतपथ ब्राह्मण जस्ता ग्रन्थहरूमा उहाँ मुख्य प्रश्नकर्ता हुनुहुन्छ। महाभारत र पुराणहरूमा उहाँलाई नैमिषारण्य वनमा ऋषिहरूको सभाको अध्यक्षको रूपमा चित्रित गरिएको छ।

वंश र परिचय
पुराणहरूको अनुसार, ऋषि शौनक एक वैदिक आचार्य हुन्, जो भृगुवंशी शुनक ऋषिको पुत्र हुन्। उहाँको पूर्ण नाम इन्द्रोतदैवाय शौनक हो। ऋष्यानुक्रमणी ग्रन्थहरूअनुसार, वास्तवमा शौन ऋषि अंगिरस्गोत्रीय शनुहोत ऋषिको पुत्र थिए, तर पछि भृगु-गोत्रीय शनुकले उनीहरूलाई आफ्ना पुत्रको रूपमा स्वीकार गरेका थिए। यस कारण उनीहरूलाई शौनक पितृक नाम प्राप्त भएको थियो। उहाँको सही कालखण्ड निश्चित छैन, तर उहाँलाई प्रायः उत्तरवैदिक वा प्रारम्भिक पुराणकालीन समयको व्यक्तित्व मानिन्छ।
ऋषि शौनकलाई प्रायः कुलपति (वैदिक विद्यालय वा गुरुकुल का प्रमुख) भनिन्छ। ऋषि शौनकले १०,००० विद्यार्थीहरूको लागि गुरुकुल सञ्चालन गरेर कुलपतिको विशेष सम्मान प्राप्त गरेका थिए। यसो भनिन्छ कि उहाँभन्दा अघि कुनै पनि अन्य ऋषिलाई यति ठूलो सम्मान प्राप्त भएको थिएन।

वैदिक साहित्यमा योगदान
ऋषि शौनकले वैदिक तथा अन्य धार्मिक ग्रन्थहरूको संरचनामा महत्वपूर्ण भूमिका निभाउनुभएको छ:
1. अथर्ववेद संहिता – अथर्ववेदको 'शौनक संहिता' परम्परागत रूपमा उहाँको नामसँग सम्बन्धित छ। यो अथर्ववेदका दुई मुख्य शाखाहरूमध्ये एक हो, अर्को 'पैप्पलाद संहिता' हो।

2. ऋग्वेदीय अनुक्रमणी – ऋषि शौनकले 'बृहद्देवता' नामक ग्रन्थको संकलन गर्नुभएको थियो, जसमा ऋग्वेदका ऋषिहरू, देवताहरू, र छन्दहरूको सूची तथा व्याख्या गरिएको छ।

3. जय काव्य (महाभारत) र पुराणहरूमा भूमिका – जय काव्यमा ऋषि शौनक नैमिषारण्य वनमा आयोजित यज्ञमा सूत उग्रश्रवालाई इतिहास र पुराणहरूको वर्णन गर्न आग्रह गर्नुहुन्छ।

4.वैदिक अनुष्ठान र तत्त्वज्ञान – शौनक गृह्यसूत्र ऋषि शौनकसँग सम्बन्धित छ, जसमा धार्मिक अनुष्ठान र घरेलु कर्महरू वर्णन गरिएका छन्। उहाँले वैदिक ज्ञानको मौखिक परम्परा सुरक्षित राख्न विशेष योगदान गर्नुभएको छ।

नैमिषारण्यको महत्त्व
ऋषि शौनकको प्रमुख कार्यहरूमध्ये एक नैमिषारण्यमा ऋषिहरूको सभाको नेतृत्व गर्नु हो। पुराणहरूमा उहाँलाई प्रमुख जिज्ञासुका रूपमा चित्रित गरिएको छ, जसले गम्भीर दार्शनिक प्रश्नहरू सोध्नुहुन्छ, जसको उत्तरमा सूत उग्रश्रवण जस्ता विद्वानहरूले विस्तृत व्याख्या दिन्छन्।

उत्तराधिकार र प्रभाव
ऋषि शौनकको योगदान आजसम्म पनि महत्त्वपूर्ण मानिन्छ। उहाँको ग्रन्थले वैदिक ज्ञानको संरचनालाई व्यवस्थित बनाउन मद्दत गरेको छ। पुराणहरूमा गरिएको उहाँका प्रश्नहरूले नै भावी पुस्तालाई धर्म र तत्त्वज्ञान बुझ्न मार्गदर्शन प्रदान गरेको छ।

सम्पूर्ण रूपमा, ऋषि शौनक केवल ग्रन्थकार मात्र नभई वैदिक ज्ञानको संरक्षणकर्ता पनि हुनुहुन्थ्यो। अथर्ववेद, ऋग्वेद अनुक्रमणी, र पुराणीय संवादमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँको विद्वत्ता र आध्यात्मिक ज्ञानले अनन्तकालसम्म जिज्ञासुहरूको मार्गदर्शन गर्नेछ।

गुरुकुलहरूका कुलपतिको रुपमा ऋषि शौनक
ऋषि शौनकलाई प्रायः वैदिक विद्यालय वा गुरुकुलका प्रमुख को रुपमा चिनिन्छ। जय काव्यका यी आरम्भिक श्लोकहरूले ऋषि शौनकलाई वैदिक विद्यालयका कुलपतिको रुपमा स्थापित गर्छ।
लोमहर्षणपुत्र उग्रश्नवाः सूतः पौराणिको । नैमिसारण्ये शौनकस्य कुलपते द्वादशवार्षिके सत्रे ।।१।।
समासीनानभ्यगच्छत् ब्रम्हर्षीन् संशितव्रतान् । विनयावनतो भूत्वा कदाचित्‌ सूतनन्दनः ।।२।।

अनुवाद: "एक समय लोमहर्षणका पुत्र उग्रश्रवा नैमिषारण्यमा कुलपति शौनकजीको द्वादश-वर्षीय यज्ञमा दीक्षित भई, परम सुखपूर्वक बसेका तथा ब्रतले तपस्यारत भएका महान् ऋषिहरूका समीप विनम्र भएर पुगे।"
यहाँ कथावाचक सूत उग्रश्रवा (लोमहर्षणका पुत्र) को आगमनको वर्णन गरिएको छ। नैमिषारण्य एक पवित्र वनक्षेत्र हो, जहाँ ऋषिहरू यज्ञ, तपस्या, र वैदिक अध्ययनका लागि भेला हुन्थे। ऋषि शौनक यहाँ एक वैदिक विद्यालय (गुरुकुल) का प्रमुख (कुलपति) को रूपमा प्रस्तुत छन्। उनी द्वादश-वर्षीय यज्ञ (१२ वर्षसम्म चल्ने यज्ञ) का आयोजक थिए। सूत उग्रश्रवा लोमहर्षणका पुत्र तथा सूत वर्णका विद्वान् कथावाचक हुन्। पुराण तथा महाभारत जस्ता कथा वाचन गर्ने परम्परा सूतहरूले सम्हाल्थे। यो प्रसंग जय काव्यको (महाभारत) कथा आरम्भ हुने प्रमुख स्थल हो। यहीँ नै ऋषिहरू उग्रश्रवा सूतलाई जय काव्यको कथा वाचन गर्न आग्रह गर्छन्।

शौनको ह वै महाशालो अङ्गिरसम् विधिवदुपसन्नः पप्रच्छ। कस्मिन्नु भगवो विज्ञाते सर्वमिदं विज्ञातं भवतीति।। {मुण्डकोपनिषद् १.३}
अनुवाद: "महाविद्यालयका प्रसिद्ध कुलपति ऋषि शौनकले, विधिवत् रुपमा महर्षि अङ्गिरस समक्ष गएर सोधे, 'हे भगवन्, कसलाई जाने पछि सबै जानिन्छ, यो मेरो प्रश्न छ।"
मुण्डकोपनीषद्को यस श्लोकमा पनि ऋषि शौनकलाई गुरुकुलको कुलपतिको रुपमा हेरिएको छ।


Litterateur

Page article "ऋषि शौनक" -by Dr. Kalinkaar Dipendra

References

  • महाभारत आदिपर्व, प्रथम आवृति, डॉ. पं. श्रीपाद दामोदर सातवलेकर, बसन्त श्रीपाद सातवलेकर-भारत-समुद्रणालय-स्वाध्याय मण्डल, वि.सं. २०२५. For Online archive Click here
  • ईशादि नौ उपनिषद्,मुण्डकोपनीषद्, गीताप्रेस, गोरखपुर, वि.सं.२०७९
  • पंजाब केसरी (इंटरनेट अनलाइन पत्र) Click here
First published on: March 21, 2025
Last updated on: March 21, 2025
For Editors

Comments

Popular Posts