बालाचतुर्दशी पर्व - नेपाल
बालाचतुर्दशी पर्व - नेपाल
परिचय
मंसिर महिनाको कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउने एक महत्वपूर्ण चाड हो। बालाचतुर्दशी पर्व नेवार समुदाय माझ बाला चःह्रे नामले चिनिन्छ। यो चाड विशेषगरी दिवंगत पितृहरूको उद्धारको निम्ति मनाइन्छ। यस दिन विभिन्न मन्दिर र पवित्र स्थानमा "शतबीज/सतबीज" (सय प्रकारका बीउहरू, यद्यपि प्रचलनमा सात) छर्ने परम्परा रहेको छ। बालाचतुर्दशीलाई शतबीज रोपण पर्व पनि भनिन्छ।
यस पर्वमा पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा दीप प्रज्वलन, शतबीज छर्ने, र जाग्राम बसेर भजनकीर्तन गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस पर्वका कर्मले पितृहरूको मोक्ष प्राप्ति हुने र जीवित सदस्यहरूलाई पुण्य प्राप्त हुने मान्यता छ।
पशुपति मन्दिर क्षेत्रमा बालाचतुर्दशीको अवसरमा प्रायः कपडाबाट बनाइएका अस्थायी शिवलिङ्ग निर्माण गरिन्छ। यी संरचनाहरू विशेष पर्वका लागि बनाइन्छन्, छोटो समयका लागि राखिन्छन् र त्यसपछि हटाइन्छन्।
पौराणिक कथा र किंवदन्ती
बालाचतुर्दशीसँग जोडिएको एक प्रसिद्ध कथा अनुसार, भगवान शिवले मृगको रूप धारण गरी बागमती नदीको किनारमा विहार गर्नुभएको थियो। पार्वतीले भगवान शिवलाई चिन्ने उद्देश्यले विभिन्न प्रकारका बीउहरू छरिन्, जसले हरियो अन्न उमारेर मृगहरूको समूहलाई आकर्षित गर्यो। आकर्षित मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको कथन छ।
अर्को कथा अनुसार, पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामका व्यक्तिले खाजा खान लाग्दा संयोगवश जलिरहेको मुर्दाको टाउको फुटेर गिदी उनको चिउरा मा खसेछ। उक्त गिदीसँगै चिउरा खाँदा स्वाद अझै मीठो लागेकोले उनलाई मुर्दाको गिदी खाने बनि परेछ। उनको यस्तै विचित्र आचरण र लामो दाह्री, जुँगा, तथा कपालका कारण मानिसहरूले डराएर उनलाई "बालासुर राक्षस" भन्न थाले। त्यसै समयमा उनको परिचय थाहा पाएका एक थकाली वृद्धको सुझावमा स्थानीय बासिन्दाले बालासुरलाई रोक्न उनकै मित् वृषसिंहलाई अघि सारे। वृषसिंहले बालासुर को हत्या गरे। तर, आफ्ना मित बालासुरको हत्यापछि दुःखी भएका वृषसिंहलाई भगवान शिवले सपनामा दर्शन दिँदै सतबीज छर्ने आदेश दिनुभयो। मार्गकृष्ण चतुर्दशीका दिन वृषसिंहले श्लेषमान्तक वन वरपर शतबीज छर्दा बालासुरले वैतरणी नदी तरेर मुक्ति पाएको विश्वास गरिन्छ। त्यसै समयदेखि यो दिनलाई बालाचतुर्दशीका रूपमा मनाई दिवंगत आत्माहरूको शान्तिका लागि शतबीज छर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ।
बालाचतुर्दशी पर्व नेपालमा पितृ उद्धारका लागि विशेष मानिन्छ। यससँग जोडिएको एक विश्वास छ: "सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते," जसको अर्थ हो, "मृगस्थली वरपर एक गेडा धान छर्दा त्यो सुवर्णको बराबर मूल्यवान् हुन्छ, र पुनर्जन्मबाट मुक्ति मिल्छ।" भक्तजनले पितृहरूको सम्झनामा सतबीज छर्ने, दीप प्रज्वलन गर्ने र प्रार्थनाद्वारा आत्माहरूको शान्तिका लागि प्रार्थना गर्छन्।
मुख्य परम्परा र अनुष्ठान
- शतबीज छर्ने: नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यसप्रकार मिश्रण गरी मन्दिर र पवित्र स्थानमा छर्ने प्रचलन छ। यसले दिवंगत पितृहरूको उद्धार हुने विश्वास छ। यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।
- दीप प्रज्वलन: चतुर्दशीको अघिल्लो दिन साँझ दीप प्रज्वलन गरी रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने चलन छ।
- पवित्र स्नान: बागमती लगायत पवित्र नदीमा स्नान गरी शुद्ध भई पूजा गर्ने परम्परा छ।
- पशुपतिनाथ दर्शन: हजारौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा र सतबीज छरिन्छ।
- चतुर्दशीको यात्रा: भक्तजनले कैलाश, मृगस्थली, विश्वरूप मन्दिर, आर्यघाट, र अन्य शिवालयहरूमा सतबीज छर्छन्।
- दान: यस दिन गरिब र असहायलाई दान दिने परम्परा पनि रहेको छ।
- बाग्लुङ्ग गल्कोट हरिचौर: बाग्लुङ्ग गल्कोट हरिचौर मा यस दिन दरम खोला मा तोरन तार्ने प्रचलन छ। २०० मिटर भन्दा अधिक लामो बाटिएको तोरन वारी खोला किनारमा स्थित मन्दिरबाट पारी डाँडामा पुर्याई बाँधिन्छ। यस कार्यमा स्थानीय युवा तथा नेपाल प्रहरी समेतले सहयोग गर्छन।
सन्देश र महत्व
बालाचतुर्दशी पर्वले समाजमा दिवंगत आत्माहरूप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने प्रेरणा दिन्छ। यस पर्वले पितृहरूको उद्धार मात्र नभई परिवारमा सुख, शान्ति, र समृद्धिको लागि आशीर्वाद प्राप्त गर्न पनि महत्त्वपूर्ण मानिन्छ। धार्मिक मान्यता अनुसार, तीन वर्षसम्म सतबीज छरिएमा पितृहरूले मोक्ष प्राप्त गर्दछन्।
निष्कर्ष
बालाचतुर्दशी नेपाली समाजको धार्मिक, सांस्कृतिक, र आध्यात्मिक पद्धतिमा गहिरो रूपमा जरो गाडेको पर्व हो। यसले पितृ सम्मान, समुदायमा एकता, र वातावरणप्रतिको जिम्मेवारीको पाठ दिन्छ।